१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेमा रोकिएन मातृ मृत्युदर

बाँकेको राप्ती सोनारी अस्पतालमा स्वास्थ्य सेवा लिन पुगेका सुत्केरी आमाहरु। तस्बिर: नागरिक

सरकारले आमा सुरक्षा कार्यक्रम लागु गरेर अर्बौ रुपैयाँ खर्च गरिरहँदा पनि मातृ मृत्युदर घट्न सकेको छैन। बाँकेमा मातृ मृत्युदर झन् बढ्दो क्रममा रहेको पाइएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाभित्रमा १४ जना महिलाले ज्यान गुमाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यसअघि गत आर्थिक वर्ष २०७७/७८ र २०७६/७७ भरी ३५/३५ जनाको मृत्यु भएको थियो।  

जिल्लामा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका भित्रका ६ जना महिलाले ज्यान गुमाएका छन्। यस्तै जानकी गाउँपालिकामा ३, राप्ती सोनारी र नरैनापुरमा २/२ र कोहलपुरमा एक जना महिलाले ज्यान गुमाएको कार्यालयका ‘आमा सुरक्षा कार्यक्रम’ फोकल पर्सन एवम् पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिइन्। ‘नेपालगन्ज जस्तो सुगम ठाउँमा पनि मातृमृत्युदरको अवस्था डरलाग्दो देखिएको छ,’ उनले भनिन्, ‘६ महिनामै यति धेरैको मृत्यु भइसकेको छ।’ मातृ मृत्युदुर बढी हुनेमा मधेसी तथा मुस्लिम समुदायका बढी रहेको देखिएको छ।  

कार्यालयका अनुसार मधेसी तथा मुस्लिम समुदायमा ३६ प्रतिशत मातृमृत्युदर रहेको छ। अधिकांस महिलाको सुत्केरी पश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ। अस्पतालमा ४३ प्रतिशत महिलाको मृत्यु भएको कार्यालयको तथ्यांक छ। यस्तै २९ प्रतिशतको बाटोमा र १४ प्रतिशतको घर र १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको छ।  

यसैगरी २९ प्रतिशत महिलाको अत्यधिक रक्तस्राव र २१ प्रतिशत महिलाको रगत कमी भएर मृत्यु भएको पब्लिक हेल्थ नर्स श्रेष्ठले सुनाइन। मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समुहका रहेको उनले बताइन्। ‘यि मध्ये ५० प्रतिशत महिलाले त पहिलो सन्तानको अनुभव बटुल्न नपाएरै ज्यान गुमाएका छन्, पहिलो सन्तानको अनुभव बटुलेका ३६ जनाको मृत्यु भएको देखिएको छ,’ उनले भनिन्। १५ प्रतिशत महिलाले पेटमै बच्चा रहँदा, ४० प्रतिशत महिलाले बच्चा जन्मिसकेपछि र ३४ प्रतिशतले बच्चा जन्मेको ४८ घण्टाको अवधीमा ज्यान गुमाएका छन्।  

भेरी अस्पताल नेपालगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा गम्भिर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांस महिलाको अकालमा मृत्यु हुने गरेको बताउँछिन्। ‘नियमित रुपमा गर्नुपर्ने चेकजाँच गरेका हुँदैनन्, ब्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्छन्, त्यसपछि डाक्रटले उनीहरुलाई बचाउने अवस्था अवस्था नै हुदैन,’ उनले भनिन्। कतिपयमा रक्तचाप, मधुमेह, थाइराइट जस्ता दिर्घरोग सम्बन्धी समस्या देखिने गरेको डा. थापा बताउँछिन्। ‘भेरी अस्पतालमा जनशक्ति छ, तर आवश्यक उपकरण छैन,’ उनले भनिन्, ‘मातृमृत्युदुर कम गर्न अस्पतालले मात्र सबै थोक गर्न सक्दैन, ग्रासरुटबाटै लागु गर्नुपर्छ।’

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह मातृ मृत्युदर कम गर्न कार्यालयले विभिन्न प्रयास गर्दै आएको बताए। ‘अस्पतालमै बढी मृत्यु किन भइरहेको छ भनेर हाम्रो ध्यान त्यतातिर पनि केन्द्रित भइरहेको छ, तर हाम्रो एक्लो प्रयासले मात्र यो अवस्थालाई कम गर्न सकिदैन,’ उनले भने। मातृमृत्युदुर बढ्नुमाा बाल विवाह, उमेर नपुग्दै गर्भवती हुने, पोषणको कमी जस्ता कारण पनि रहेको बताए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App