गुरु(शिक्षक)लाई हरेक विद्यार्थीहरूले आदर गर्दछन्। ओमकार संस्कृतिमा त गुरुको स्थान निकै माथि छ। जहाँ गुरुलाई भगवानसरह पुज्यनीय मानिन्छ। यो संस्कृति मान्ने समुदायका हरकोही विद्यार्थीको मुखमा संस्कृत श्लोक नै झुण्डिएको हुन्छ, ‘गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः!’
यसरी पुजिँदै आएको गुरु पछिल्ला केही समययता कतिपय अवस्थामा देवता नभई दानवको रूपमा देखापरेका छन्। जहाँ प्रदर्शित गरेको रूपले गुरुकै आस्थामाथि नराम्ररी आघात पुर्याइदिएको छ। यस्तै रूप दुई साताको समयभित्र राजधानीका दुई प्रतिष्ठित शैक्षिक संस्थाका शिक्षकहरूले दर्शाएको आरोप सार्वजनिक भएका छन्।
जहाँ आफ्नै विद्यार्थी छात्रामाथि शिक्षकबाटै भइरहेका यौनजन्य हिंसाको आरोप लागेको छ। दुवै घटना फरक छन्। तर प्रकृतिमा झण्डै समीप्यता छ। दुवैमा शिक्षकमाथि यौनहिंसाको आरोप छ। ती शिक्षकहरूले महिनौंसम्मको दुर्व्यवहार गरेका छन्। छात्राहरू हिंसा सहँदासहँदा सहनको पनि हद नाघेपछि घटना सार्वजनिक गर्न बाध्य भएका छन्।
हिंसा लुकाउन आरोपित शिक्षकले पीडित छात्रामाथि मानसिक तनावदेखि धम्कीसम्म दिएका छन्। त्यसपछि पीडितहरूले पहिला विद्यालय प्रशासनमा गुहार लगाएका छन्। नारी संवदनशीलता बुझ्ने आशामा महिला शिक्षिकासँग सहयोग मागेका छन्। यति गर्दा प्रशासनले सुन्दैन, तर महिला शिक्षिकाले समेत घटना ढाकछोप गर्न प्रयत्न गरेका छन्।
पहिलो घटना जेठ १० गते सार्वजनिक भएको थियो। काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्राले दुर्व्यवहारको आरोप लगाएकी थिइन्। शिक्षक अधिकारीले आफूमाथि सामाजिक सञ्जाल र भौतिक रूपमै यौन दुर्व्यवहार गर्ने गरेको आरोप उनको थियो।
महिनौसम्म दुर्व्यवहार हुँदै जाँदा विस्तारै तनाव बढ्दै गएपछि पहिला अभिभावक र कलेजका साथीहरूलाई जानकारी दिएकी थिइन्। अभिभावकहरू सो कुरा बोकेर कलेज प्रशासन पुगेका थिए। महिला शिक्षकलाई समेत राखे। उनीहरूबाट राम्रो प्रतिक्रिया नआएपछि अभिभावक र विद्यार्थीले कलेज परिसरमा आन्दोलन गरेका थिए।
त्यसपछि घटनामा प्रहरी प्रवेश गरेर मुद्दा अदालतसम्म पुगेको छ। त्यो आरोप सार्वजनिक भएसँगै दुई जना अन्य थप छात्राले पनि आफूसँग दुर्व्यवहार भएको खुलासा गरे। जसमा अर्का शिक्षक राजनकुमार पौडेल पनि थपिए। आरोपित शिक्षकहरूले शारीरिक दुर्व्यवहार गर्ने गरेको र रोक्न खोज्दा ‘तँलाई निस्कासन गर्दिन्छु,’ भन्दै धम्की दिने गरेको पीडितहरूको आरोप छ।
यस्तै ‘तिमीलाई बेञ्चमै सेक्स गर्दिन्छु’, ‘विल यु बि माई बेड पार्टनर?,’ ‘तिम्रो घर टाढा छ, मेरै घरमा बस, भाडा पनि लिन्न। कलेज फि पनि तिर्दिन्छु। बस् तिम्ले मेरो बेडको सेटिस्फिकेसन पूरा गर्नुपर्यो’, ‘तिम्ले मिनिस्कट लगाएको सेक्सी देखिन्छ’ लगायतका वाक्य प्रयोग गरेर आफूमाथि यौनजन्य दुर्व्यवहार गर्ने गरेको उनीहरूको आरोप थियो।
दुवै जनालाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखेर अनुसन्धान जारी छ। जिल्ला अदालत काठमाडौंबाट तीनपटक म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ। पछिल्लो पटक सोमबार मात्रै चार दिनको समय थपिएको छ। यस्तै दोस्रो घटना गत शनिबार मात्रै सार्वजनिक भएको छ। घटना काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयको हो।
जहाँ होस्टेल (छात्रावास)मा बस्ने छात्राहरू शिक्षक समेत रहेका वार्डेन रामजी बस्नेतबाट यौन दुर्व्यवहारमा पर्ने गरेको आरोप बाहिरिएको छ। छात्राबासमा बस्ने ८ जना छात्राहरूमाथि विगत ६/७ महिनादेखि यौन दुर्व्यवहार गर्ने गरेको आरोप पीडित छात्राहरूले लगाएका छन्। तीमध्ये तीनजनाले किटानी जाहेरी नै दिएका छन्।
पीडित पक्षका अनुसार पीडित छात्राहरू ३ देखि १० कक्षासम्म पढ्ने ९ देखि १४ वर्ष समूहका छन्। पीडित छात्राहरूले एक्लै भेटाए संवेदनशील अंगमा छुने, काखमा बस भन्ने, बलजफ्ती काखमा राखेर जथाभावी छुने लगायतका दुर्व्यवहार गर्ने गरेको आरोप वार्डेन बस्नेतमाथि लगाएका छन्। यस्तो घटना महिनौंसम्म निरन्तर हुन थालेपछि पहिलो साथीहरू र त्यसपछि प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र शिक्षिकालाई भेटेर जानकारी गराउँदा पनि कुनै पहलकदमी भएन्।
उल्टै ‘यो कुरा अभिभावकलाई भने वा बाहिर कसैलाई भने तिमिहरूलाई बदनाम गर्दिन्छु, रेस्टिकेट गर्दिन्छु’ भनेर राती कोठामा आई धम्क्याउने फलामको पाइपले कुटपिट गर्न थालेपछि मात्रै अभिभावकलाई बताएको छात्राहरूले जनाएका छन्। त्यसपछि त्यहाँ पनि अभिभावक आएर नाराबाजी गरेका थिए। अनि घटनामा प्रहरी प्रवेश गरेको हो।
हाल वार्डेन बस्नेतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौंबाट चार दिनको समय लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बौद्धले अनुसन्धान गरिरहेको छ। यी दुई घटनाले शैक्षिक संस्थाभित्र नै छात्राहरू असुरक्षित रहेको देखाउछ। जसमा शिक्षक नै दोषी देखिएका छन्। जसले शिक्षा क्षेत्रलाई नराम्ररी झस्काइदिएको छ।
‘जुन घटना सार्वजनिक भएका छन्। आफैमा निकै गम्भिर छन्,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्,‘यी घटनाहरूले नेपाली शिक्षकहरू आफ्नो नैतिक धरातलबाट कति टाढा जाँदैछन् भन्ने दृष्टान्त देखाएको पनि हुनसक्छ। सरकार र समाज समयमै सजग बन्नुपर्ने देखिन्छ। यी घटना अहिले सार्वजनिक भएकाले मात्रै सतहमा देखिएका हुन्।
शिक्षकहरू नै छात्राहरूसँग यौनजन्य क्रियाकलाप र हिंसामा सहभागि भएका अन्य तमाम उदाहरण तथ्यांकले देखाउँछ। नेपाल प्रहरीसँग रहेको पछिल्ला केही वर्षको तथ्यांक हेर्दा पनि अवस्था सोचनीय नै बनाएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार ४ वर्षमा १३६ जना शिक्षकमाथि यौनहिंसाको आरोप लागेको छ।
प्रहरीले सार्वजनिक गरेका तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि ०७६/७७ सम्मका तीन वटा आर्थिक वर्षमा १०६ जना शिक्षकहरूमाथि आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसाको आरोप लागेको छ। यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३० जना शिक्षकमाथि यस्तो आरोप लागेको छ।
राष्ट्रिय मानक बनाउँ: कोइराला
शिक्षाविद् कोइरालाका अनुसार नेपाली शिक्षा क्षेत्रमा विद्यार्थी र शिक्षकको सम्बन्धका विषयमा एउटा राष्ट्रिय मानक नहुँदा भविष्यमा व्यापक समस्या उत्पन्न हुनसक्ने खतरा छ। ‘हिजो के भए? विद्यार्थी र शिक्षकको सम्बन्ध कस्तो रह्यो? नैतिक धरातल शिक्षकले कति जोगाए, कति जोगाएनन्? त्यसविरुद्ध छात्रा आफै कति बोले एक विषय होला,’ उनले भने, ‘आज विद्यार्थी नै जागरुक छन्। हिंसाविरुद्ध हरकोही बोल्ने परिस्थिति निर्माण भएको छ। यही बेला हो, एउटा राष्ट्रिय मानक बनाउने।’
शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्। ‘नेपालमा पनि शिक्षक र विद्यार्थी बिचमा यस्तै राष्ट्रिय मानक बनाउनुपर्छ। साथै त्यसबारे शिक्षक विद्यार्थी सबैलाई अभिमुखीकरण गर्नुपर्छ,’ उनले भने। नभए शिक्षक र विद्यार्थीको सम्बन्धमा टकराव सिर्जना हुने, शिक्षकप्रतिको सम्मानमा कमी आउने लगायतका समस्या देखिन सक्ने शिक्षाविद् कोइरालाले बताए।
प्रकाशित: २६ जेष्ठ २०७९ ०१:४३ बिहीबार