६ वैशाख २०८१ बिहीबार
समाज

कालिका नगरपालिका जगतबहादुर तामाङको परिवार १२ दिनदेखि घरबिहिन

चितवनको कालिका नगरपालिका–८ न्यूरेनिस्थित आपडाँडाका जगतबहादुर तामाङको परिवार १२ दिनदेखि घरबिहिन छन्।

बैशाख १९ गते साँझ आएको पानीसहितको हावाहुरीले घर भत्काईदिएपछि उनीहरु घरबिहिन बनेका हुन् । ४ जनाको परिवार रहेको कान्छिमायाँको घर वरिपरी बासले बारेर माथि टिन लगाएको थियो । सोही घरपनि बनाउन नसकेर छिमेकीको आश्रय लिन बाध्य छन्।

‘सानो छाप्रो भएपनि थियो। हावाहुरीले लगिदियो बनाउन सकिएको छैन।’ जगतबहादुरले भने, ‘अहिलेसम्म छिमेकीकोमा बास बस्नुपरेको छ।’ भोट माग्न छिरेका नेताहरुले घर बनाईदिने आश्वासन दिएपनि अहिलेसम्म पहल गरेका छैनन्। ‘चुनावमा बाहिरका मान्छे ल्याएर फोटो खिचेर जानुभएको थियो। अहिलेसम्म घर बनाइदिन्छु कसैले भनेका छैनन्,’ उनले भने, सडक छेऊमै घरभएपनि सहयोग प्राप्त भएको छैन।’  

जगतबहादुर घर बनाउने काम गर्दछ । दैनीक काम गरेर कमाएको पैसाले ६७ बर्षकी आमा, छोरा छोरीको जिविका चलाउँदै आएका थिए। भएको खाद्यन्न, लत्ताकपडा हावाहुरीले लगिदिएपछि छिमेकीको सहयोगमा बस्दै आएका छन्। जगतबहादुर घर कसरी बनाउने अन्योल छ।  ‘कमाई छैन्। कसैले सहयोग गरे राम्रै घर बनाउनु पर्ला,’ उनले भने, ‘नभएर केहीले बारेर बस्नुपर्ला।’ उनी ११ बर्षअघि काठमाण्डौँबाट चितवन झरेका हुन्।

न्यूरेनीकै भवानी अर्यालको पनि घरको छाना नै छैनन्। शारीरिक रुपमा असक्त्त रहेकी अर्याललाई घर कसरी बनाउने भन्ने थाहै छैनन्। ८ कक्षामा पढ्ने छोरासंगै उनी घरमा थिईन्। पानी पर्दासाथ घरभित्र पानी पस्छ। तर, घर कसरी बनाउने भन्ने विषयमा मुस्किल छ। छिमेकीकोमा बस्दै आएकी अर्यालले राहतको आश गरेकी छन्।  

न्यूरेनीमा पहिलोपटक यति ठुला हावाहुरी आएको हो । यहाँका १६ घरधुरीमा क्षती पुगेको छ। तीन मिनेटको बिचमा नै घर गोठ गरेर ५० लाखभन्दा बढीको क्षती पुगेको पुरुपोत्तम भट्टराइले बताए। ‘हावाहुरी सहित ठुलो पानी आयो। बाहिर अडिन सक्ने अवस्था थिएन। हामीलाई नै उडाएर लैजाने अवस्था थियो,’ उनले भने ‘दुई तीन मिनेटपछि बाहिर निस्कँदा अधिकांश तहस नहस बनाएको थियो।’  

अहिलेसम्म हावाहुरी पिडितलाई रेडक्रसले त्रिपाल दिएको छ। तर,  ठुलो पानी पर्दा उनीहरु मस्यामा पर्दै आएका छन्। ‘हावाहुरीले छानो नै उडाइदियो। पानी पर्दासाथ घरभित्र पस्छ,’ खुमराज भट्टले भने, ‘लत्तापकडा, किताव कापी, धान सहित भएभरको सामान झिज्यो।’ हावाहुरीले ५ लाखको क्षती पुगेको बताए।  

कालिका नगरपालिकाको तथ्याङ्कमा बैशाख १९ र २२ गते आएको हावाहुरीले १६ वटा घरमा मात्रै क्षती पुगेको छ। त्यसमध्ये २ वटा घर पूर्ण रुपमा नै क्षति भएको कालिका नगरपालिकाका विपत शाखा प्रमुख प्रकाश पौडेल बताए। 

उनीहरुलाई तत्काल राहत दिनुपर्ने अवस्था रहेको उनको भनाई छ। नगरपालिकाले राहत दिने विषयमा निर्णय नगर्दा वितरण गर्न नसकिएको उनले बताए। ‘विपत व्यवस्थापन समितिको बैठक बसेको छ। प्रारम्भिक तथ्याङ्क संकलन पनि गरेका छौँ, उनले भने, ‘राहत कति उपलब्ध गराउने भन्ने बिषयमा पालिकाको निर्णय आएको छैन।’ घरको क्षतीलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। चुनावका कारण पनि राहत वितरणमा ढिलाई हुन पुगेको उनले बताए।  

कालिका नगरपालिका वडानम्बर ८का वडाध्यक्ष खिमप्रसाद अधिकारी राहत विभिन्न संघसंस्थाहरुको सहयोगमा राहत उपलब्ध गराउने काम भएको बताए। ‘रेडक्रस जस्ता संस्थासंग समन्वय गरेर अगाडी बढेका छौँ, उनले भने, ‘पालिकाको बोर्ड मिटिङबाट नै पास गराएर उचित राहत दिन्छौँ।’  

राहत उपलब्ध गराउने बिषयमा कालिका नगरपालिकाको विपत व्यवस्थापन समिति र पालिका स्तरिय बैठक समेत बसेको थियो। तर, उनीहरुलाई राहत दिने विषयमा मापदण्ड नहुँदा राहत वितरणमा ढिलाई भएको कालिका  नगरपालिकाका प्रशासकीय अधिकृत निशान राज गौतमले बताए।  ‘हामीले राहत उपलब्ध गराउनका लागि मुजुल्का पनि उठाएका हौँ। हामीसंग कोषमा बजेट पनि छैनन्। कोषमा भएको पैसा वितरण गर्न मापदण्ड पनि रैनछ,’ उनले भने, ‘त्यसले हामीलाई समस्या भयो।’  मानविय क्षती, आभास र पशुचौपायको छुट्छुट्टै राहतको  व्यवस्था गरिन्छ । गोठको  क्षती भएमा पूर्ननिर्माणमा सम्बोधन गर्न सकिने उनले बताए। कोषमा २० लाख  रुपैयाँ मात्र भएकाले उनीहरुलाई राहत दिन नसकिएको उनको भनाई छ। तर, पछि पैसा दिएर उनीहरुलाई सम्बोधन  गर्न सकिने उनले बताए। 

प्रकाशित: ३१ वैशाख २०७९ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App