१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते

गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।

राति साढे ११ बजे खाना खाएर आँगनमा बसिरहेका बेला १५, २० जनाको समूहमा आएका नेपाली कांग्रेसका युवाले खुकुरी प्रहार गरेको घाइतेहरुले बताएका छन्। खुकुरी प्रहारबाट वडा अध्यक्षका उम्मेदवारका भाइ बिन्तिराम चौधरी गम्भीर घाइते भएका छन्।

उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भैरहेको छ। उनकी पत्नी बसन्ती चौधरी पनि घाइते भएकी छन्। यसैगरी वडाध्यक्ष उम्मेदवारको छोरी लक्ष्मी चौधरी, भतिजा रबिन चौधरी खुकुरी प्रहारबाट घाइते भएका छन्। उनीहरुको अवस्था समान्य छ। प्रकाश वलीले खुकुरी प्रहार गरेको घाइते लक्ष्मीले बताइन्।

नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार पनि खुकुरी प्रहार गर्ने समूहसंगै रहेको उनले बताइन्। गम्भीर घाइते भएका बिन्तिरामले सुरुमा लठ्ठिले हिर्काएको र लठ्ठी खोस्ने क्रममा भुँइमा लडेको बेला खुकुरी प्रहार गरेको उनले बताए। उनको बायाँ हातमा खुकुरी प्रहारले गहिरो चोट लागेको छ। वडा अध्यक्षका उम्मेदवार जग्गुरामले घरभित्र अध्याँरोमा लुकेर ज्यान जोगाएको बताए।

प्रहरीलाई खबर गर्दा १ घण्टापछि मात्र प्रहरी पुगेको उनले बताए। खुकुरी प्रहार गर्नेमाथी किटानी उजुरी हाल्ने तयारी भएको उनले बताए। नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी रानासहितका नेताहरु घरमा र अस्पतालमा पुगेर घाइतेलाई भेटेका थिए।

सचिव भट्टले योजनबद्ध तरिकाले आक्रमण गरिएको र आक्रमण भएको एक घण्टापछि मात्र प्रहरी पुग्नुले प्रहरिले खुकुरी प्रहार गर्ने समूहको पक्ष लिएको बताए। इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी नायब उपरीक्षक रबिन्द्रराज पाण्डेयले दुईपक्षिय झडप हुँदा खुकुरी प्रहार भएर ४,५ जना समान्य घाइते भएको बताए।

खुकुरी प्रहार गर्नेको खोजी भैरहेको उनले बताए। नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जयराज फुलाराले भोज भतेर भएको सुचना पाएपछी प्रहरीलाई खबर गरेको र प्रहरी पनि नगएपछी कांग्रेसका युवाहरु पुग्दा झडप भएको बताए। झडपमा आफू पनि घाइते भएको उनको दाबी छ।

प्रकाशित: २९ वैशाख २०७९ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App