सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ।
परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकका रुपमा प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र गोरखा ब्रुअरी लिमिटेडका सहायक प्रबन्धक निर्देशक सुरेन्द्र सिलवालले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्। नागरिक नायकलाई प्रति व्यक्ति एक लाख रूपैयाँ राशिबाट प्रदान गरिएकाे छ।
न्यून आयस्राेत भएका बालबालिकाहरुलाई शिक्षा दिनका लागि गौतमले लक्ष्मी प्रतिष्ठान नामक संस्था स्थापना गरेका छन्।
नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो।
कार्यक्रममा सहजकर्ताको रुपमा कार्यक्रम संचालक दिनेश डिसीले नायक गौतमलाई नागरिकको तर्फबाट आफ्नो जिज्ञासा राखे। उनले गौतमलाई नागरिक नायक हुँदा कसतो लागेको छ? भनी प्रश्न गरेका थिए। उत्तरमा गौतमले भने, ‘पीडाबाट आफूलाई मोडेर यो अवस्थामा आइपुगेको छु। मलाई सम्मान गरिदिनु भएकोमा नेपाल रिपब्लिक मिडिया परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु।’
गौतम बालबालिकाको विकास भनेको एक छाक भात, कपडा र बास मात्र नभएको उल्लेख गर्दै भने, ‘उनीहरुलाई नै सक्षम बनाएर उनीहरुकै हातले समाज रुपान्तरण गर्ने ठूलो इच्छा छ। त्यो पूरा गर्छु।'।҆
पीडाले जन्माएको परिवर्तन
उनको कथा सिनेमा जस्तै लाग्छ। शान्त र सुन्दर परिवारमा अचानक बज्रपात हुन्छ।
२०६५ पौष १२ गते २८ वर्षीय छोरा कुमार गौतमको सवारी दुर्घटनामा काठमाडांैमा मृत्यु हुन्छ।
उनको सर्वश्व गुम्यो, सपना टुट्यो अनि आशाको उज्यालोमा पीडाको बादल लाग्यो।
प्रहार त्यतिमै रोकिएन। २०६६ असोज १७ गते अर्को बज्रपात भयो।
अमेरिकामा बस्दै आएका माइला छोरा बलरामको पनि सडक दुर्घटनामा उतै मृत्यु भयो।
जेठा छोरा कुमार गौतम सफल पर्यटन व्यवसायी थिए। माइला छोरा बलरामले अमेरिकामा आइटी सिस्टम एडमिनस्ट्रिेटरको रूपमा काम गर्थे।
दक्ष छोराहरू ९ महिनाको अन्तरमा गुमाउँदाको असह्य पीडा सुरुमा त उनले सहनै सकेनन्।
उनको मनले भयंकर योजना बनायो। परिवारका बाँकी सदस्यसँगै भोटेकोसीमा हामफालेर सिंगो परिवारकै संहार गर्ने।
उनको नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थे? जीवनसंगिनी लक्ष्मीको एक शब्दले उनलाई पालनकर्ता बनायो।
बिस्तारै अँध्यारो बादल हट्न थाले। शोकमा डगमगाएका पाइलाहरू समाजसेवाको कल्याणकारी बाटामा हिँड्न थाले।
असह्य पीडाले परिवर्तनमा बाटो अँगाल्यो। जेठो छोराको पहिलो वार्षिकीमा कुमार–बलरामको आत्माको रूपमा ‘लक्ष्मी प्रतिष्ठान’ स्थापना गरे।
प्रतिष्ठानले शिक्षा स्वास्थ्य, महिला सशक्तीकरण, स्वावलम्बन र सवारी सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दे छ।
यही क्रममा उनी भूकम्पले पीडित भएकालाई मलहम लगाउन पुगे।
उनकै पहलमा काभ्रेको चौरीदेउराली गाउँमा प्रतिघर २ लाखभन्दा बढी खर्चेर ४१ वटा घर निर्माण भयो।
उनको यात्रा यही रोकिएन। चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्दामा चेपाङ समुदायलाई लक्षित गरेरे ‘कान्दा रूपान्तरण अभियान’ सुरु भयो।
गरिबीले गिजोलिएका बालबालिकालाई एउटै छात्रावासमा राख्न सफल भए।
२०७२ सालबाट यहाँ सञ्चालित छात्रावासमा नियमितरुपमा २ सय बालबालिकाका लागि भान्छा सञ्चालनमा आएको छ।
कान्दामा नअटेकालाई राख्न ३ वर्ष अघिदेखि काभ्रे जिल्लामा समेत अर्को छात्रावासमा विस्तार गरिएको छ।
यहाँ रहेका ४५ बालबालिका उत्कृष्ट शिक्षा हासिल गर्देछन्।
अभावमा हुर्केका नानीहरूले छात्रावासमा बसेर निःशुल्क खान, पढ्न, सीप सिक्न, खेलकुदमा सहभागी हुन पाएका छन्।
नानीहरूको जीवनमा निकै परिवर्तन आइसकेको छ।
जटिल अवस्थामा हात समाएका बालबालिकाहरू अहिले हरेक कुरामा अगाडि छन्।
देवकोटाको कथाका पात्र प्रमिथमस जस्ता बनेका छन्, उनीहरू।
जो चेतनाका आगो लिएर ज्ञान बाँड्न आतुर छन्।
चौरीदेउरालीको विकट गाउँमा जन्मेका विष्णु परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका छन्।
अभावमा पिल्सिँदै गाएका नानीहरूलाई आकाशको उचाइ देखाउँदै छन्।
लक्ष्मी प्रतिष्ठानका विष्णु गौतमलाई नागरिक नायकको रूपमा सम्मानित गर्न पाउँदा हामी हर्षित छौं।
प्रकाशित: ११ वैशाख २०७९ १३:४६ आइतबार