१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिस्का जात्राको ल्योसिंद्यो आज दिनभर उभ्याउने प्रयास

हिजो उठाउन नसकेपछि अलपत्र अवस्थामा परेको ल्योसिंद्य।

रातभरको निरन्तरको प्रयासपछि पनि बुधबार भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य (लिङ्गो) उभ्याउने प्रयास विफल भएको छ। भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य साझदेखि रातभर प्रयास हुँंदा पनि उभ्याउने प्रयास विफल भएको हो।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ। तर ल्योसिंद्य उठाउने नसकेको इतिहास नै भने छैन। निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख १ गते जसरी पनि उठाइन्छ।

यसलाई उठाउन आज पनि दिनभर पनि प्रयास हुनेछ। आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ। आज रातिसम्ममा जसरी पनि उठाइ ढालिन्छ। युवाहरुले डोरीको सहायताले तानेर ल्योसिंद्यो उठाउने भरमग्दुर प्रयास गरेका थिए।

तर, घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएन। प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ल्यसिंद्यो उभ्याउने प्रयास भएको थियो। चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ। उठाइएको ल्योसिंद्योलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ।

आठ रात नौ दिन लामो बिस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो। जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन्।

यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो। प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए।

तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक लगायतबाट सयौं मानिसहरु आउने गर्दछन्।

किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन्। राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए। तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे। राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए। ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए। अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ।

यसबाहेक पनि जात्रा सम्बन्धि अनेक किम्बदन्ती छन्। भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ। यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ। यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ।

प्रकाशित: १ वैशाख २०७९ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App