७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते

नौं वर्षअघि १२ जना सुरुङ खनेर कैदीबन्दी भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले गर्दा पूर्णरुपमा शान्त प्रदेश नं. १ कै ठूलो कारागार झुम्कामा बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनालाई बढी क्षती पुगेको छ। झुम्का कारागारबाट दुई जना चौकीदारसहित १२ जनालाई स्थानान्तरण गरिएपछि ब्लक ‘ए’ मा नयाँ चौकीदार बन्ने विषयलाई लिएर कैदीबन्दीबीच नै झडप भएको हो। कारागारका जेलर उपसचिव प्रदिप साहका अनुसार आन्तरिक प्रशासनका कैदीबन्दीसँग अन्यले असहमति जनाएर सामान्य विवाद भएपछि झडप भएको हो।

झडप भएर घाइते भएका २५ जनालाई नै अहिले अलगै कोठामा राखिएको छ। ‘थप घटना नियन्त्रण बाहिर जान नदिनका लागि घाइते भएकालाई एक ठाउँमा राखिएको छ,’ उनले भने, ‘अन्यलाई सम्झाएपछि अहिले शान्त भएको छ।’

घाइतेको उपचारका लागि कारागारमा नियमित खटिदै आएका स्वास्थ्यकर्मी र जिल्ला अस्पतालबाट आएको टोलीले उपचार गरेको छ। कारागार सञ्चालनका लागि कैदीबन्दीमध्येबाट तोकिएका ब्लक ‘ए’ का चौकीदार जोन लिम्बु र ब्लक ‘बी’ का खडगबहादुर राईसहित १२ जनलाई स्थानान्तरण गर्ने गरिएपछि मंगलबारदेखि केही असहज हुन थालेको थियो।

गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई स्थानान्तरण गर्न निर्देशन दिएपछि राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई मकवानपुरको भिमफेदी कारागार स्थानान्तरण गरिएको हो। झुम्का कारागारका जेलर साहका अनुसार राईसहित सात जनालाई मंगलबार अपरान्ह पठाई सकिएको छ।

राई लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरि रहेका छन्। राईसँगै स्थानान्तरण भएका लागूऔषध मूद्दामै कैद सजाय भोगीरहका प्रवणी राई, सागर श्रेष्ठ, रुपनारायण श्रेष्ठ र विक्रम साहीलाई पठाइएको छ।

यस्तै, कर्तव्य ज्यान मुद्दाका दिपक खवासलाई पनि स्थानान्तरण गरि सकिएको छ। ब्लक ‘ए’ का चौकीदार लिम्बुसहित सुवास राई, विक्रम लिम्बू, सुरज लिम्बू, महेन्द्र सामेखाम लिम्बू र राजेश राईलाई भने दुई दिनभित्रमा स्थानान्तरण गरिने छ।

क्षेत्रीय कारागारमा ०६९ कात्तिक २३ गते तत्कालिन चौकीदार अली असरफ अनसारीसहित १२ जना कैदीबन्दी भागेपछि नेपाली नागरिकलाई त्यसमा पनि स्थानीयलाई प्राथमिकता दिएरु चौकीदार बनाउन थालिएको थियो। त्यो घटनायता चौकीदारले आन्तरिक व्यवस्थापन चुस्त रुपमा मिलाउने गरेका थिए।

आन्तरिकसँगै जेल प्रशासनले उच्च सर्तकता अपनाउँदै आएको थियो। १२ जना कैदीबन्दी भागेको घटनामा अदालतले तत्कालीन प्रहरीका सई जितबहादुर केसी क्षेत्रीलाई दोषी ठहर गरेर कैद सजाय तोकेपछि अहिले सजाय भोगीरहेका छन्।

०६६ साल साउन–५ गतेदेखि सञ्चालनमा आएको कारागारमा सोही बर्षको असोज–२९ गते कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भएको थियो। त्यो घटनापछि तत्कालिन जेलर सन्जिव निरौला र सुरक्षाका लागि खटिएका सई बिमल निरौलालाई निलम्बन गरिएको थियो।

त्यसपछि केही समय कारागारमा कैदीबन्दीबीच झडप भएर उग्र रुप लिएपछि आतंक सृजना गर्नेलाई अन्यत्र स्थानान्तरण गरेपछि शान्त थियो। क्षेत्रीय कारागारमा झन्डै ८० फिट लामो सुरुङ खनेर ११ कैदी र एक बन्दी कात्तिक–२३ गते भागेपछि भने कारागार प्रशासन र चौकीदारको तालमेलले शान्त रहदै आएको थियो। क्षेत्रीय कारागारमा दुवै ब्लकमा गरी मंगलबार एक हजार सात सय ५६ जना कैदीबन्दी छन्। 

प्रकाशित: ३० चैत्र २०७८ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App