पुनर्निर्माणपछि सञ्चालनमा आएको धरहराबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा साढे चार करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्ममा धरहरा प्रवेश शुल्कबापत उक्त राजस्व संकलन भएको हो ।
अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइका प्रमुख महेश राईका अनुसार चालु आवको छ महिनामा धरहराबाट चार करोड ४२ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस अवधिमा दुई लाख ४२ हजार आठ सय ६३ जना पर्यटकले धरहराको अवलोकन गरेकोमा दुई हजार पाँच जना विदेशी पर्यटक रहेको प्रमुख राई बताउँछन् । यस अवधिमा एक सय ४७ दिन धरहरा खुला रहेको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ को असोज ३ गते संविधान दिवसका दिनदेखि धरहरा सञ्चालनमा आएको भए पनि मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको व्यवस्थापन एकाइले जनाएको छ ।
जेनजी आन्दोलन अघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन भइरहेको छ ।
गत आवको मंसिर ९ गतेदेखि असार मसान्तसम्म पाँच करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस अवधिका दुई लाख ७० हजार पर्यटकले धरहराको अवलोकन गरेका व्यवस्थापन एकाइले जनाएको छ ।
एकाइका प्रमुख राई शनिबार र सार्वजनिक बिदाका दिन धरहरा अवलोकन गर्न आउनेहरूको संख्या अत्यधिक भएकाले भिडभाड हुने गरेको बताउँछन् ।
प्रमुख राईले भने, ‘एकदमै धेरै आन्तरिक पर्यटक । त्यसमध्येमा पनि काठमाडौंभन्दा बाहिरका धेरै नै पर्यटक आउँछन् । विदेशी पर्यटक त फाटफुट आउँछन् । दिनमा १२ देखि १५ जनासम्म आउँछन् होला ।’
अहिले धरहरा अन्तरिम रूपमा खुला भएकाले पूर्ण रूपमा सञ्चालनमा धरहरा आएपछि धरहराभित्र कला र संस्कृति झल्काउने मौलिक परम्परागत सामाग्रीहरूको व्यवस्थापनसँगै विभिन्न खेलकुदलगायत मनोरञ्जनका सामग्रीसमेत राखेर व्यवस्थित गर्ने योजनामा रहेको व्यवस्थापन एकाइले जनाएको छ ।
धरहरा अहिले अन्तरिम रूपमा सञ्चालन भएकाले यसको प्रचारप्रसार कम भएको हुँदा विदेशी पर्यटकको आगमनमा कमी आएको प्रमुख राईले बताए । राइका अनुसार धरहरा पूर्ण रूपमा सञ्चालनमा आएपछि आफ्नै प्रचारप्रसार हुने र विदेशी पर्यटकको आगमन अझै बढाउन विभिन्न योजनाअन्तर्गत अगाडि बढे तयारीमा रहेको बताए ।
राज्यले पर्यटकीय संघ संस्थालगायत पर्यटन बोर्डसँगको सहकार्यमा धरहराका केन्द्रित केही कार्यक्रम गरेमा धरहरा अवलोकनका लागि विदेशी पर्यटकको आगमन बढ्नुको साथै राजस्वमा पनि वृद्धि हुने प्रमुख राई बताउँछन् ।
धरहरा सञ्चालनको सुरुमा दैनिक १२/१५ सय जति धरहरा अवलोकनका लागि आउने गरेको भए पनि अहिले दैनिक २२/२३ सय जना आउने गरेको प्रमुख राईले बताए ।
बिदाका दिनमा २७/२८ सय जना जति धरहरा अवलोकनका लागि आउनेहरूको संख्या पुग्ने गरेको प्रमुख राईको भनाइ छ ।
धराहरालाई अझै व्यवस्थित गरेर लैजान सके अवलोकनकर्ताको आगमन संख्या अझै बढेर जाने व्यवस्थापन एकाइले जनाएको छ ।
धरहरा अहिले पनि कन्ट्रक्सनमै छ र राज्यको पूर्ण स्वामित्वमासमेत नभएकाले धरहराभित्र अन्य सेवा सुविधा थप गर्न नसकिएको प्रमुख राई बताउँछन् । कानुनी रूपले समस्या भएकाले धरहरालाई व्यवस्थित गरेर लैजान नसकिएको प्रमुख राईको भनाइ छ ।
राज्यको पूर्ण स्वामित्वमा धरहरा आएपछि यसलाई व्यवस्थित गरेर लैजाने प्रमुख राईले बताए । वैशाखमा राज्यको स्वामित्वमा आएपछि जेठबाट धरहराको ठेक्का लगाएर सञ्चालन गर्ने तयारीमा रहेको प्रमुख राईको भनाइ छ ।
अन्तरिम हिसाबले धरहरा सञ्चालनमा आएसँगै कर्मचारीसमेत न्यून मात्रामा छन् । अहिले १३ जना कर्मचारी मात्रै रहेको र पूर्ण रूपमा धरहरा सञ्चालनमा आए ८० जना जति कर्मचारी आवश्यक पर्ने व्यवस्थापन एकाइले जनाएको छ ।
ऐतिहासिक धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने छन् ।
१० वर्ष मुनीका बालबालिका र ८० वर्षदेखि माथिका वृद्धवृद्धाहरूलाई टिकट निःशुल्क रहेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको थियो । अघिल्लो मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धरहरामा पार्किङ गर्दा चार पांग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरियो ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रकाशित: ३ माघ २०८२ १९:५१ शनिबार





