२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सहसचिवलाई जिल्ला पठाउनै सकस

माथिल्लो तहका कर्मचारीहरू सकेसम्म काठमाडौंमै बस्ने प्रवृत्तिले अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई काठमाडौंबाहिर पठाउन सकस परेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले १८ सहसचिव अतिरिक्त समूहमा छन्।

तीमध्ये आठ जना पुराना हुन् भने १० जना भर्खरै बढुवा भएर आएका हुन्। संघीय मामिला मन्त्रालयले भने अतिरिक्त समूहका सहसचिवलाई प्रदेशमा पठाउन सकेको छैन। अहिले प्रदेश १ मुख्यमन्त्री कार्यालय र कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा सचिवको दरबन्दी खाली छ। संघका सहसचिव प्रदेशप्रदेशमा गए भने ती कर्मचारीको पद सचिव हुने व्यवस्था छ।

मन्त्रालयका एक सहसचिव भन्छन्, ‘बरु मन्त्रालयमा हाजिरी गरेर बरन्डामा बस्न उहाँहरू रुचाउनुहुन्छ तर काठमाडौंबाहिर जान चाहनु हुन्न।’ यता काठमाडौंबाहिर जान नचाहने सहसचिव सरुवामा धाँधली हुने गरेको बताउने गर्छन्। अहिले कलैया, जितपुर सिमरा, जनकपुर, तुलसीपुर, घोराही गरी पाँच उपमहानगरपालिका निमित्तका भरमा चलेका छन्। जनकपुर उपमहानगरपालिका धेरैजसो समय निमित्तको भरमा चलेको छ।

संघीय मामिला मन्त्रालयका अनुसार अहिले ७३ नगरपालिका निमित्तका भरमा चलेका छन्। उपमहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिवको दरबन्दी राखिएको हुन्छ। संघीयका अनुसार सहसचिवहरू उपमहानगरपालिका जस्तो सुगम ठाउँमा पनि जान चाहन्न। आन्तरिक राजस्व कार्यालयका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेललाई संघीयमा ल्याइएको छ। अहिले उनी त्यहाँ अतिरिक्त समूहमा छन्।

यसैगरी निर्वाचन आयोगबाट सेमन्तराज दाहाललाई संघीयमा ल्याइएको छ। उनी पनि अतिरिक्त समूहमा छन्। कम्पनी रजिस्ट्रार कार्यालयबाट संघीयमा तानिएका प्रदीप अधिकारी तथा झलकराम अधिकारीलाई पनि जिम्मेवारी दिइएको छैन। संघीय मामिला मन्त्रालयका सहसचिव रघुराम विष्टले अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई प्रदेश तथा काठमाडौं बाहिर पठाउन प्रक्रिया सुरु भएको बताए।

‘तर यसमा केही कठिनाइ उत्पन्न भएका छन्। प्रदेश तथा काठमाडौं बाहिर जान नचाहने समस्या पनि देखिएको छ,’ उनले भने। संघीयका अर्का एक कर्मचारी भन्छन्, ‘लामो समयसम्म आकर्षक कार्यालयमा बसेका सहसचिवहरूलाई समेत एकपटक प्रदेशमा जाऔं भन्दा उहाँहरू मान्नहुन्न।’ पोहर साल सरकारले वरिष्ठ सहसचिवहरूलाई प्रदेशबाहिर पठाउने भन्दै एकैपटक ठूलो संख्यामा वरिष्ठ सहसचिवहरूलाई काठमाडौंबाहिर पठाएको थियो। तर त्यो परम्परा पनि अहिले भत्किएको छ।

मन्त्रालयका अनुसार करिब एक दर्जन उपसचिवहरू अतिरिक्त समूहमा राखिएका छन्। मन्त्रालयका अर्का एक कर्मचारी भन्छन्, ‘गृहमा सहसचिव तथा उपसचिव ठुलो संख्यामा खाली छन्। गृहनजिकै रहेको संघीय मन्त्रालयमा ठुलो संख्यामा सहसचिवहरू काम नपाएर बसेका छन्।’

मन्त्रालयका कर्मचारीका अनुसार अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई गृहमा पठाउन खोज्दा गृहले नलगेकोले यस्तो समस्या आएको हो। ती कर्मचारी भन्छन्, ‘गृहले छानेर कर्मचारी माग्ने गर्छ। हामीले पठाउन खोजेको कर्मचारीलाई गृहले लग्दैन। त्यसैले यस्तो अवस्था आएको हो।’ त्यसो त कर्मचारीको सरुवामा गृह र सामान्यबीच बेलाबेलामा विवाद हुने गर्छ।

गृहसँग समन्वय र जानकारी नगराई गृहका कर्मचारीहरूलाई छानीछानी सामान्यले सरुवा गर्ने गरेको गृहको आरोप छ। उता सामान्यले सरुवा गर्न खोज्दा गृहले असहयोग गर्ने गरेको सामान्यका कर्मचारीहरूको भनाइ छ। लोकसेवा आयोगबाट सिफारिस भएका र प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बाट तालिम पूरा गरेका ३ सय ७७ जना प्रशासन समुहका शाखा अधिकृतलाई संघीयले शुक्रबार पदस्थापन गरेको छ। 

प्रकाशित: ६ चैत्र २०७८ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App