१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं ‘महानगर’ का प्रवर्तक प्रेमलाल सिंह, सम्मानपछि दु:खद् विदाई

काठमाडौं महानगरपालिकाले ३० औं महानगर दिवसको अवसरमा महानगर घोषणाका प्रवर्तक स्व. प्रेमलाल (पिएल) सिंहलाई मंसिर २९ गते सम्मान प्रदान गरेको थियो।

सिंहको कार्यकालमा काठमाडौं नगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गरिएको थियो। ‘स्थानीय स्वायत्तता’ र ‘स्वशासन’ का प्रवर्धकका रूपमा उनले पदमा रहेर वा नरहेर स्थानीय विकासमा उल्लेखनीय योगदान दिएका थिए।

स्वास्थ्य असहजताका कारण उनी स्वयं सम्मान समारोहमा उपस्थित हुन सकेनन्। तर उनले आफ्नो शुभेच्छा व्यक्त गरेका थिए। सम्मान समारोह भएको दुई दिनमै सिंहको दुःखद निधन भएको छ।

वि.सं. २०५४ मा प्रजातन्त्र पुनःस्थापना पछि आयोजित स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिकाका पहिलो प्रमुखका रूपमा निर्वाचित सिंहको दृष्टि सधैं स्थानीय स्वायत्ततामा केन्द्रित रह्यो।

उनी भन्ने गर्थे, ‘स्थानीय निकायले आफ्ना नागरिकको सेवा र सुविधाका लागि आफैं निर्णय गर्न र ती निर्णय कार्यान्वयन गर्न सक्ने अधिकार पाउनुपर्छ। यही स्वायत्तता हो, र यसबाट मात्र स्थानीय स्वशासन सम्भव हुन्छ।’ सिंहले काठमाडौं उपत्यकालाई एकीकृत गरेर मेट्रो बनाउने परिकल्पना गरेका थिए।

वि.सं. २०५५ मा जारी भएको ‘स्थानीय स्वायत्त शासन ऐन’ निर्माणमा सिंहको महत्त्वपूर्ण भूमिका रह्यो।

सिंहको निधनले महानगरपालिकामा शोकको लहर छाएको छ। सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसहित महानगरका प्रतिनिधिहरू चाक्सीबारी पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रमुख शाह र उपप्रमुख डंगोलले पुष्पगुच्छा अर्पण गर्दै सिंहलाई अन्तिम विदाई गरेका थिए। प्रवक्ता नविन मानन्धर, विषयगत समिति संयोजक, कार्यपालिका सदस्य, नगर सभा सदस्य र कर्मचारीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए।

वि.सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंह पछिल्लो समय पेटको अल्सरको शल्यक्रियापछि ठमेलस्थित आफ्नै निवासमा आराम गरिरहेका थिए। उनले महानगरको स्तरोन्नति र स्थानीय स्वायत्तताका क्षेत्रमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने काठमाडाैं महानगरले जनाएको छ।

प्रकाशित: १ पुस २०८१ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App