१६ चैत्र २०८० शुक्रबार
समाज

मध्य रौतहटका चार नगरपालिकाको प्रगति औसत

रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका छन्। मध्य रौतहटमा पर्ने चार नगरपालिका गढीमाई, गरुडा, कटहरिया र मौलापुरले नयाँ जनप्रतिनिधि आएपछि पछिल्लो चार वर्षे अवधिको प्रगति औसत रहेको छ। स्थानीय तहको निर्वाचनदेखि हालसम्मको अवस्था हेर्दा चुनावअघि गरेका वाचाहरू पूरा हुन नसकेको नगर प्रमुखहरूले नै बताउने गरेका छन्।

गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले चुनावअघि गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताए। उक्त नगरपालिकामा सडक सञ्जाल निर्माण तथा स्वास्थ्य र शिक्षाको क्षेत्रमा व्यापक सुधार भएको दाबी उनको छ। कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणको क्षेत्रमा अपेक्षाभन्दा बढी सफलता हात परेको बताउँदै उनले प्लास्टिकमुक्त र धुवाँमुक्त नगर बनाउने घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेकोमा आफूलाई दुःख लागेको बताए।

पालिकामा राजनीतिक खिचातानीका कारणले केही प्रतिबद्धता पूरा हुन नसकेको बताउँदै उनले फेरि निर्वाचित भएर आउन सके पालिकालाई जिल्लामै नमुना बनाउने बताए।

नगर प्रमुख यादवका निकटतम प्रतिद्वन्द्वी फूलबाबु प्रदेशसभा सदस्यम चयन भएका थिए। पालिकाको चुनावमा दोस्रो प्रतिद्वन्द्वीका रूपमा हरिनारायण राय यादव थिए। त्यतिबेला एमालेमा रहेका उनी हाल नेकपा एकीकृत समाजवादीमा छन्। ‘नगरपालिकाले राम्रै काम गरेको छ तर जनताको मन भने जित्न सकेको छैन। नगरपालिकाको विकासबाट सर्वसाधारण असन्तुष्ट छन्,’ नाम उल्लेख नगर्ने सर्तमा गढीमाई–२ समनपुरका एक स्थानीय भन्छन्, ‘जिल्लाको सबैभन्दा खत्तम मूल सडक यहीँको छ। भएको पिचलाई बिगारेर नगरपालिकाले दुई वर्षदेखि मूल सडकलाई धुलो र हिलोयुक्त बनाएको छ।’ वाग्मती नदीको जथाभाबी दोहन गरेर नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरपालिकालाई निजी कम्पनीमा परिणत गरेको आरोप पनि लगाउने गरिएको छ।

त्यसैगरी गरुडा नगरपालिकाको प्रगति पनि सन्तोषजनक छैन। पालिकामा जनता समाजवादी पार्टी (जसपा) का केही वडाध्यक्षसहित मेयर र नेपाली कांग्रेसको केही वडा अध्यक्षसहित उपमेयर निर्वाचित भएकोमा पूरा कार्यकाल झगडामा नै बितेको छ। दुई आर्थिक वर्षको बजेटमाथि उच्च अदालतमा मुद्दा नै चलेको छ। यति हुँदाहुँदै पनि पछिल्लो वर्ष पालिकामा सकारात्मक काम भएको मेयर इन्नु राय यादवले बताए।

गरुडामा विगतमा कहिल्यै नभएको विकास पछिल्लो साढे चार वर्षको अवधिमा भएको मेयर यादवका सहयोगी अनिलकुमार यादवले दाबी गरे। गाउँगाउँमा सडक ढलान गरिएको, स्वास्थ्य र शिक्षामा व्यापक सुधार भएको बताउँदै यादवले गरुडामा विकासको अभियान नै सञ्चालन गरिएको बताए। स्थानीय तहको गएको चुनावमा मेयर पदका प्रत्यासी कन्थमुनिप्रसाद जयसवालले साढे चार वर्षमा नगरपालिकामा विकासको ठाउँमा विनाश मात्र भएको दाबी गरे।

त्यसै गरी कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाको कार्यकाल लफडैलफडामा नै बितेको देखिन्छ। पर्साको काशी तिवारी हत्याकाण्डको आरोपमा बिचैमा पक्राउ पर्नु तथा पार्टीमा विभाजन आउनुले नगरपालिकाको कामकाजमा केही अवरोध सिर्जना भएको मेयर कुशवाहाले बताउने गरेका छन् तर नगरका बासिन्दालाई निःशुल्क घरायसी र कृषि बिजुली उपलब्ध गराएको, स्वास्थ्यको क्षेत्रमा अकल्पनीय सुधार गरेको, शिक्षामा पनि अपेक्षित सुधार गरेको, सडक तथा खानेपानीको क्षेत्रमा धेरै राम्रो प्रगति गरेको दाबी गरे।

‘प्रतिबद्धतामा केही अलिकति बाँकी रहेको होला र शिक्षामा प्रतिबद्धताअनुसारको काम हुँदै गर्दा पालिकाको आन्तरिक खिचातानीले अझै नसकिएको होला तर भौतिक पूर्वाधारको क्षेत्रमा नगरका बासिन्दाले कल्पना गरेको भन्दा धेरै विकास गर्न सफल भएका छौं,’ मेयर कुशवाहाले भने। मेयर कुशवाहाको दाबीमा सत्यता भए पनि सर्वसाधारण भने असन्तुष्ट रहेका छन्। कांग्रेसबाट निर्वाचित एक वडाध्यक्ष भन्छन्, ‘विकासको क्षेत्रमा धेरै काम त भएको छ तर मेयरले एकलौटी गर्न खोजेर धेरै काम बिग्रिएको छ।’

मौलापुर नगरपालिकाकी अध्यक्ष रिनाकुमारी साहले चुनावमा गरिएको प्रतिबद्धताभन्दा दोब्बर बढी काम पूरा गरेको दाबी गरिन्। मधेस प्रदेशमा नगरपालिका प्रमुख बन्न सफल एक मात्र महिला हुन्। ‘प्रतिबद्धताभन्दा धेरै बढी काम गरेका छौं,’ मेयर साहले भनिन्, ‘यो कुरा सबैलाई थाहा छ।’

पालिकालाई धुवाँमुक्त बनाउन हरेक परिवारलाई निःशुल्क सिलिन्डर र चुलो सेट वितरण गर्नुका साथै पालिकालाई खरको छानोमुक्त बनाउने काममा पनि करिब सफलता मिलेको उनले बताइन्। पालिकामा सडक सञ्जाल निर्माण गर्नुका साथै देशमा एक मात्र ल्यान्ड पुलिङको काम गर्ने सफलता मिलेको, विद्यालय तथा अन्य कार्यालयको लागि १५ बिघा जमिन किनेको, आधा दर्जनभन्दा बढी सरकारी कार्यालयहरू स्थापना गरेको, व्यवस्थित सामुदायिक दलित बस्तीको निर्माण गरेको, आफ्नै रेडियो स्टेसन सञ्चालनमा ल्याएको, छोरीको बिहे गर्ने विपन्न समुदायका हरेक परिवारलाई २५ हजार रूपैयाँ नगद सहयोग उपलब्ध गराउने गरेको बताउँदै मेयर साहले सबै प्रतिबद्धता पूरा गरेको बताइन्।

नगरपालिकाले  पुरातात्त्विक महत्त्वको महादेव मन्दिरलाई चिनाउने काम गरेको छ। संस्कृतिको क्षेत्रमा पनि नगरपालिकाले उल्लेखनीय कार्य गरेको छ। गत साढे चार वर्षमा मौलापुरले अकल्पनीय परिवर्तन गरेको जिल्लावासीले महसुस गरेका छन् तर पनि व्यापक असन्तुष्टि रहेको छ।

दलगत र राजनीतिक स्वार्थका कारण मौलापुर नगरपालिकाको विरोध हुने गरेको जिल्लाका स्वतन्त्र बुद्धिजीवीहरू बताउँछन्। तर मौलापुरले साढे चार वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको उनीहरूको भनाइ छ। जिल्लामा सबैभन्दा राम्रो काम मौलापुर नगरपालिकाले नै गरेको जिल्लावासीले बताउने गरेका छन्। कटहरिया, गरुडा तथा गढीमाई नगरपालिकाले औसत काम गरेको स्थानीयको भनाइ छ।

सत्तामा रहेका पार्टी तथा आफन्तले धुवाँधार विरोध गर्ने तथा समर्थनमा रहनेले अन्ध गुणगान गर्ने परिपाटीबीच मध्य रौतहटका चार नगरपालिकाको गत साढे चार वर्षको प्रगति मध्यम रहेको जिल्लावासीको बुझाइ छ।

प्रकाशित: ४ चैत्र २०७८ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App