१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दाइजो न्यूनीकरण अभियानसँगै गरिबका छोराछोरीलाई विवाह

गाउँपालिकाले गरी दिएको भूपेन र सम्झनाको विवाह समारोह। तस्बिरः नागरिक

‘पेट बिग्रियो मुख परहेज नगर्नाले, समाज बिग्रियो दहेज दिनाले।’ यो भनाइ मधेसी समाजमा केटा पक्षले विवाह छिनोफानो गर्ने पहिलो सर्तको रुपमा केटी पक्षसँग दाइजोका मोलमोलाई गर्ने गलत संस्कारविरुद्ध सुनसरी बर्जुका सामाजिक अगुवा सरोज चौधरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।  

सरोजले सामाजिक सञ्जालमा पोष्ट गरेजस्तै सुनसरीका मधेसी समूहको बाहुल्यता भएको स्थानमा केटा पक्षले विवाह गर्दा केटी पक्षसँग दाइजोको विषयलाई सर्तमाथि सर्त राख्ने गरेका छन्। केटी पक्षले भने केटाको सर्त अनुसार कम गराउने प्रयास गर्छन्।

मधेसी समुदायमा झाँगिएको गलत संस्कार दाइजोविरुद्ध सुनसरी कोशी गाउँपालिकाले भने विषेश अभियान थालेको छ। उसले गरिबका छोराछोरीको विवाह गरी दिएर अभियान थालेको हो। अभियान स्वरुप कोशी गाउँपालिका वडा नं. २ की २१ वर्षीया सम्झनाकुमारी मण्डल र सप्तरी हनुमान कंकालिका २१ वर्षीय भूपेन मण्डलको विवाह भर्खरै गरी दिएको छ। सम्झना र भूपेनको विवाह एकदमै सस्तो खर्चमा गाउँपालिकाले गरी दिएको अध्यक्ष अयूव अन्सारीले बताए।

‘पहिलो कुरा हाम्रो अभियान दाइजोविरुद्ध हो। समाजमा कोही आर्थिक अवस्था कमजोर भएर विवाह गर्न नसक्नेको पनि गाउँपालिकाले सस्तो खर्चमा गरी दिन्छ,’ उनले भने, ‘गाउँपालिकाले थोरै खर्चमा विवाह गरी दिएपछि त दाइजो माग्नेलाई पनि लाज हुन्छ नि त!’

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै अभियान थालेपछि केही दिनअघि भूपेन र सम्झनाको विवाह गर्दा केटा पक्षबाट नगन्य जन्ती आए। बेहुली सम्झनाको पक्षबाट पनि आफन्त र केही शुभेच्छुक मात्र भेला भए।  

सम्झनाको ९ वर्षअघि बाबु बितेका थिए। चार वर्षअघि आमा बितेकी थिइन्। जसले गर्दा उनी काकाको घरमा बस्दै आएकी थिइन्। जसले गर्दा गाउँपालिकाले सम्झनाको विवाह गरी दिएको हो। ‘गाउँपालिकाले विषेश आग्रह गरेको र विवाह तय भएकाले गाउँपालिकासमक्ष भनेपछि त्यसको खर्चको पाजोपाजो मिलाउने गरिएको छ’, अध्यक्ष अन्सारीले भने।  

आर्थिक अवस्था कमजोर भएका परिवारलाई गाउँपालिकाले विवाह गरीदिएपछि अहिले यस क्षेत्रका गरिब, अतिविपन्न र न्यून आय भएका परिवारहरुले छोरीको विवाह गर्ने चिन्ता हटेको छ। ‘गरिबका छोराछोरीको एकदमै सस्तो खर्चमा विवाह गरी दिन थालेपछि गाउँ गाउँ थुप्रै निवेदन आउन थालेका छन’, अध्यक्ष अन्सारीले भने। उनका अनुसार गाउँपालिकाले टुहुरा, अति विपन्न, आर्थिक अवस्था कमजोर भएर विवाह गर्नबाट बञ्चि भएका छोरीहरुका लागि सामूहिक विवाह गर्ने बेलामा सूचना पनि जारी गर्ने गरेको छ।

यसरी सहज ढंगले गरिब परिवारका छोराछोरीको विवाह हुँदा दाइजोको कूरीति पक्कै पनि कमी हुने कोशी गाउँपालिका क्षेत्रकै पत्रकार अजित झाले बताए।

प्रकाशित: २६ फाल्गुन २०७८ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App