८ वैशाख २०८१ शनिबार
समाज

डा. सच्चेकुमार पहारीको निधन : जसले दरबार त्यागेर आन्दोलन उठाए

काठमाडौं— एउटा उचाइमा पुगेर क्रमशः तल झर्दै थियो छयालीस सालको जनआन्दोलन। निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध तत्कालीन कांग्रेस–संयुक्त वाममोर्चा नेतृत्वको जनआन्दोलनमा सबै पेसा र व्यवसायका जनता सडकमा आइसकेका थिए। चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ भने आइसकेको थिएन।संघलाई आन्दोलनमा आउन आम चिकित्सक र जनस्तरबाट जति दबाब थियो, त्यत्तिकै दबाब दरबारबाट थियो– आन्दोलन तुहाउने पक्षमा उभिन ।

राजा वीरेन्द्रसँगै पोखरामा रहेका दरबारका डाक्टर एवं संघका तत्कालीन अध्यक्ष डा. सच्चेकुमार पहारी विलखबन्द थिए ।

एकातिर 'रोयल फिजिसियन' को जिम्मेवारी, अर्कोतिर चिकित्सक संघको नेतृत्व । एउटा बाटो नरोजी धरै थिएन । पहारीले जनताका पक्षमा उभिने निर्णय लिए राजाको साथ त्यागेर रातारात पोखराबाट काठमाडौं हान्निए ।

जब उनी 'रोयल फिजिसियन'को जिम्मेवारी दाउमा लगाएर आन्दोलनमा होमिए, सडक संघर्ष ह्वात्तै उत्कर्षतिर लम्क्यो । राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चार माध्यमले 'राजाका डाक्टर पनि प्रजातन्त्रिक आन्दोलनमा' शीर्षकमा समाचार बनाए । सारा चिकित्सक काम छाडेर सडकमा आएपछि आन्दोलनले एकाएक उचाइ लियो । केही दिनमै प्रजातन्त्र पुनःस्थापित भयो ।

त्यो 'एक जुगमा एकपटक आउने समय' का नेतृत्वकर्ता डा. सच्चेकुमार पहारी अब भौतिक संसारमा रहेनन् । शुक्रबार ८० वर्षको उमेरमा उनको काठमाडौंस्थित निवासमा निधन भयो ।

५५ वर्षभन्दा लामो समय चिकित्सा क्षेत्रमा सेवा गरेका उनी मस्तिष्क क्यान्सरबाट थलिएका थिए । पहारीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्तिर संस्कार गरिएको छ ।

आँखा देख्ने क्षमतामा कमी आएपछि स्वास्थ्य जाँच गर्दा पहारीमा मस्तिष्क क्यान्सर पत्ता लागेको थियो । उपचारका लागि अमेरिकासम्म पु¥याइए पनि निको भएन । लामो समयदेखि उनी घरमै बेहोस अवस्थामा थिए ।

नेपालमा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, चिकित्सकहरुको व्यावसायिक आन्दोलन र राजनीतिक परिवर्तनमा समेत उल्लेखनीय भूमिका खेलेका थिए पहारीले । राजाको फिजिसियनका रुपमा काम गर्दागर्दै आन्दोलनमा उत्रिएपछि उनले नेपालमा असुरक्षित महसुस गरेर केही महिना भारत बस्नुपरेको उनका अति निकटका चिकित्सक डा. एसके भट्टाचार्य बताउँछन् ।

'ऊ राम्रो चिकित्सक, लिडर र समाजसेवी भावनाको मान्छे,' डा. भट्टाचार्यले भने ।

भट्टाचार्य ०४६ साल सम्झन्छन् । त्यतिबेला अहिलेजस्तो अन्य पेसागत समाज सक्रिय थिएनन् । आन्दोलन तल झरिसकेको थियो । 'ऊ पोखराबाट राति १२÷१ बजेतिर घरमा फोन गरेर खबर बुझ्थ्यो र राजाका मान्छेले सुनाएका कुरा भन्थ्यो,' उनले भने, 'मैले वीरेन्द्र जेन्टल छन्, तिमीलाई मार नै त किन भन्छन् होला र, वरपरका मान्छेले बढाइचढाइ गरे होलान् भनेर सम्झाउँथेँ ।'

पहारी राजधानी आएपछि नै आफूलगायत आम चिकित्सक सडकमा ओर्लिएको बज्राचार्यले सुनाए ।

आन्दोलन जति चर्कंदै गयो, पहारीमाथि 'थ्रेट' बढ्दै गयो । 'उहाँलाई हिटलिस्टमा राखेको खबर आउँथ्यो, हामी अस्थायी माइन्युट बनाएर आन्दोलनका कार्यक्रम घोषणा गथ्र्यौं, हाते लिखित प्रेस विज्ञप्ति बिबिसी संवाददाताकहाँ पु¥याउँथ्यौं,' ३२ वर्षभन्दा लामो समयदेखि संघमा कार्यरत कर्मचारी गोपीकृष्ण श्रेष्ठ सम्झन्छन् ।

आन्दोलन उत्कर्षमा पुग्नै लागेको थियो, पहारीले काठमाडौं छाडे । आफूलाई असुरक्षित महसुस गरेका उनी सिधै पटना पुगे । 'खतरा बढेको महसुस गरेपछि उनी मर्निक वाककै क्रममा भागे,' बज्राचार्य सुनाउँछन्, 'साइकलमा मर्निङ वाक गर्दै थानकोट पुगेछ, त्यहाँबाट अर्को गाडी चढेर पटना पुगेछ ।' पहिले त्यहीँ पढेकाले पहारी आफ्ना गुरु एवं भारतीय चिकित्सक संघका तत्कालीन अध्यक्ष डा.एफिन सिन्हासँग बसेको र त्यहाँ रहँदा पनि आफूसँग बारम्बार सम्पर्क हुने गरेको उनले बताए ।

नेपाल फर्किएपछि पनि पहारीले आफूलाई सुरक्षित महसुस गरेनन् । दरबारले उनको पद औपचारिक रुपमा खोसेन तर २२ वर्षदेखिको काम फेरि लगाएन । 'नाम हटाएन तर भूमिका छिन्यो,' भट्टाचार्य भन्छन्, 'त्यसपछि आर्मीकै डाक्टरहरु दरबार जान थाले ।'

पहारी त्यसपछि घरका न घाटका झैं भए । न दरबारले हेर्ने, न राजाको मान्छे भनेर राजनीतिक दलले पत्याउने ।

आन्दोलनमा लागेको केही महिनामा पहारीले छोराको बिहे गरे । दरबारबाट निम्तो मान्न कोही आएनन् । 'राजनीतिक दलका मान्छेहरुले पनि आफूलाई दरबारनजिकको ठानेको दुखेसो गर्नुहुन्थ्यो,' श्रेष्ठले सम्झिए, 'तर उहाँ कहिल्यै विचलित हुनुभएन ।'

डा. पहारीलाई चिकित्सक संघका 'गाजल' को संज्ञा दिन्छन् श्रेष्ठ । 'गाजलले आँखा पोल्दैन, शोभा दिन्छ र सुन्दरता थप्छ,' उनले भने, 'त्यति मृदुभाषी र सरल मान्छे कमै भेटिन्छन् ।'

पहारीले पेसागत राजनीतिमा मात्रै संघलाई उचाइ दिएनन्, ३० वर्षअघि संघको भवन बनाउँन ३ लाख सहयोग गरे । आफ्ना स्वर्गीय दाइका नाममा भाउजूका तर्फबाट जुटाएको सहयोगले संघलाई भौतिक रुपमा पनि मजबुत बनायो ।

भारत, पटनाको 'प्रिन्स अफ वेल्स मेडिकल कलेज' बाट सन् १९५९ मा एमबिबिएस गरेका पहारीले मेडिकल अफिसरका रुपमा बाग्लुङलगायत केही जिल्लामा काम गरेका थिए । उनले सन् १९६० मा संयुक्त अधिराज्यबाट डिटिएमएन्डएच र सन् १९६४ मा 'मेम्बर अफ रोयल कलेज अफ फिजिसियन' एमआरसिपी डिग्री हासिल गरेका थिए । चार वर्ष बेलायत बसेर फर्किएपछि उनले झन्डै २५ वर्ष वीर अस्पतालमा सेवा गरे ।

'बिरामी भगवान हुन्, उनीहरुको सेवा भगवानको पूजाभन्दा ठूलो हो,' पहारी सहकर्मीसँग यसो भनिरहन्थे ।

वीरमा डा. पहारीलाई भेट्न पाए मात्र पनि रोग निको हुने विश्वास थियो बिरामीमा । उनले बिरामीसँगको सम्बन्ध नजिक राख्न जमलमा क्लिनिकसमेत चलाएका थिए । वीरका चिकित्सककै रुपमा उनी रोयल फिजिसियन भएका थिए । यसबीचमा उनी समाजकल्याण परिषदमा सदस्य सचिव पनि भएका थिए ।

वीरको जागिर छाडेपछि नर्भिक अस्पतालमा काम थाले पहारीले । उनी नर्भिकका संस्थापक अध्यक्ष हुन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज स्थापनामा पनि उनको महŒवपूर्ण भूमिका थियो । केही वर्षअघिसम्म पनि उनी त्यस कलेजका अध्यक्ष थिए । भट्टाचार्यले भने, 'ऊ नभएको भए जोरपाटीको कलेज नखुल्न पनि सक्थ्यो ।'

धेरैले डाक्टरका रुपमा मात्रै चिनेका डा. पहारी राम्रो कविता र गीत पनि लेख्थे । 'एउटा गीत तारादेवीले समेत गाउनुभएको छ,' उनले भने, 'कविता संग्रह पनि छ ।' आध्यात्मिक प्रवृत्तिका डा. पहारीले स्वामी खप्तडबाबा र श्यामचेतन बाबाका भक्त थिए । पाल्पा, पोखराथोकमा जन्मिएका पहारीका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित: ५ वैशाख २०७२ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App