२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेमा बढ्दै साना हातहतियारको जोखिम

पछिल्लो समय बाँकेमा साना हातहतियारको जोखिम बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यहाँका खुला सीमा र अपराधिक क्रियाकलाप बढ्दै जाँदा पनि साना हातहतियारको जोखिम बढ्दै गएको हो।

साना हातहतियार चोरी डकैती, हत्या तथा अन्य अपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट सहजै समूह र व्यक्तिले साना हातहतियारहरु सहजै नेपाल प्रवेश गराउँछन्। जसले सुरक्षा चुनौतीलाई चुनौती दिएको छ। बाँके प्रहरीले गत बुधबार राति अटोमेटिक पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको थियो।

पुस २५ गते नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुरबाट २६ वर्षीय पंकज कुर्मी पनि एक थान कटुवा पेस्तोलसहित पक्राउ परे। माघ १७ गते खजुरामा घर चोरी गर्दासमेत पेस्तोल प्रयोग गरी चोरी भएको थियो। केही साताको अनुसन्धानपछि चोरीमा संग्लन दुई भारतीय नागरिक जानकीबाट पेस्तोलसहित पक्राउ परे।

खुला सिमानाका कारण र प्रहरीको कमजोर सुरक्षा व्यवस्थापनका कारण बाँकेमा साना हातहतियारहरु सुरक्षा चुनौती बन्दै गएका छन्। पछिल्ला तीन महिनाको अवधिमा मात्र चार थान पेस्तोलसहित मानिस पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार यो अवधिमा पेस्तोलसहित सातजना मानिस पक्राउ परेका छन्। तीमध्ये पक्राउ परेका दुईजना भारतीय नागरिक त डकैतीको लागि पेस्तोल लिएर राति जिल्लाका विभिन्न गाउँमा पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘लुटपाटमा संग्लनलाई हामीले पेस्तोलसहित पक्राउ गरेका थियौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेले भने, ‘चोरी डकैतीलगायतका क्रियाकलापमा साना हातहतियारको प्रयोग गरेको देखिन्छ।’

मंसिर २० गतेदेखि फागुन २० गतेसम्मको अवधिमा कोहलपुर क्षेत्रबाट दुई थान तथा खजुरा र कम्दी क्षेत्रबाट एक÷एक थान पेस्तोल बरामद भएका छन्। पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै साना हतियारको प्रयोग र ओसारपसार बढ्दा जिल्लामा सुरक्षा चुनौती थपिएको डिएसपी न्यौपाने बताउँछन्। ‘खुला सिमानाको फाइदा उठाउँदै साना हातहतियारको प्रयोग र ओसारपसार हुने गरेको छ,’ उनले भने, ‘यसले जिल्लामा सुरक्षा चुनौती थपिदिन्छ। हातहतियार प्रयोग र ओसारपसार रोक्न हामी लागेका छौं।’

रातको समयमा साना हतियार बोकेर भारतीय नागरिक नेपालका गाउँमा डकैती गर्न आउँछन्। गुण्डागर्दीमा संग्लन केही मानिसहरुले आफ्नो सुरक्षाका लागिसमेत अवैध साना हतियार बोक्ने गरेको सुरक्षा अधिकारीहरु बताउँछन्। ‘गुण्डागर्दीमा संग्लन बाँकेका केही मानिससँग पेस्तोल रहेको छ भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘आफ्नो सुरक्षाका लागि उनीहरु हतियार राख्छन्। कम्दीमा बरामद भएको अटोमेटिक पेस्तोललाई हेर्दा पनि पुष्टि हुन्छ।’ पछिल्लो समय बाँकेमा अपराधिक क्रियाकलापमा साना हतियारको प्रयोग भएको कम देखिए पनि साना हतियार भने धेरै रहेको अनुमान गरिएको छ।

साना हातहतियार सीमापारि भारतीय बजारमा सहजै खरिद गर्न सकिन्छ। त्यहाँबाट खरिद गरेपछि कमजोर सुरक्षा व्यवस्थापन र खुला सिमानाको फाइदा उठाउँदै हतियार नेपालमा ल्याइन्छ। नेपालगन्ज, कोहलपुर, खजुरालगायतका सहरमा केही मानिस गाडीमा पेस्तोल राखेर खुलेआम घुम्ने गरेको प्रहरी अधिकारीहरु नै बताउँछन्।

‘अहिले पनि केही मानिस सुरक्षाका लागि भनेर आफ्नो गाडीमा हतियार बोकेर हिँड्छन्,’ उनले भने, ‘चेकजाँच गर्दा केही फेला पर्दैन। साना हतियार भएकोले कहाँ लुकाउँछन्। थाहा पाउन गाह्रो हुन्छ।’ आउँदो स्थानीय तह निर्वाचनमा साना हतियार सुरक्षा चुनौतीको रुपमा देखा पर्नसक्ने बाँके प्रवक्ता न्यौपाने बताउँछन्।

सीमावर्ती क्षेत्रका जिल्लामा साना हातहतियारले सुरक्षा चुनौती हुने भन्दै उनले सोहीअनुसार सुरक्षा योजना बनाइने बताए। ‘सीमावर्ती जिल्ला भएकोले चुनावमा साना हतियारले सुरक्षा चुनौती बढाइदिन सक्छन्। अहिलेबाट नै हामीले साना हतियार कोकोसँग हुनसक्छ भनेर निगरानीमा राख्ने काम थालिसकेका छौं,’ उनले भने।

प्रकाशित: २२ फाल्गुन २०७८ १३:४४ आइतबार