२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्न बजेट स्वीकृत भएको छ।

वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै यस सडकखण्डका लागि एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए। अहिले सदरमुकाम खलंगाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ।

एक सय १७ किलोमिटर सडक खण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उनले बताए।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्न यातायात चल्ने भेरी नदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ। सो पुल निर्माणका लागि २४ करोड स्वीकृत भएको बस्नेतले बताए।

त्यस्तै जाजरकोट–डोल्पा सडक खण्डकै बीचबीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी रहेको छ। बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधन सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुल निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धु्रव झाले बताए।

जाजरकोट खण्डका अधिकांश पुल निर्माण भइसकेकाले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ। त्यस्तै रुकुम पश्चिममा ‘एक घर एक धारो’ निर्माणका लागि एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए।

उनका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि ३० करोड, फुसको छाना हटाउन आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड स्वीकृत भएको छ। छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड बजेट स्वीकृत भई बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०७८ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App