कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। ७४ वर्षीय लालबहादुर खत्री आज आफ्नै घर नजिकको खेतमा मृत अवस्थामा फेला परेका हुन्।
आइतबार विहान करिब साढे ७ बजे घरदेखि करिब २ सय मिटर दक्षिण खेतको छेउमा खत्रीको शव देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए।
खत्री शनिबार दिउँसो ३ बजेदेखि बेपत्ता रहेको र उनले मादक पदार्थ सेवन गर्ने गरेको पनि खुल्न आएको प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताए। परिवारका अनुसार मृतक खत्री श्रीमती, दुई छोरा (एक जना विदेशमा) र तीन बुहारीसहित बस्दै आएका थिए।
शवलाई पोस्टमार्टमका लागि पिपरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जिसीले बताए।
प्रकाशित: १८ श्रावण २०८२ ०९:५२ आइतबार





