२० आश्विन २०७९ बिहीबार
समाज

केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका

रेट्रोफिटिङ भइरहेको केसरमहल । तस्बिरःअरुण/नागरिक

राजधानी काठमाडौंस्थित नारायणीहिटी दरबार सङ्ग्रहालयको बगलमै अर्को ऐतिहासिक सम्पदा छ– केसरमहल।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा हुन् केसरशमशेर। यसबाहेक उनी मन्त्री र प्रधानसेनापतिसमेत भएका थिए। उनी बुवा चन्द्रशमशेरसँग बेलायत जाँदा त्यहाँका दरबार, पुस्तकालय, कलात्मक संग्र्रहालय, बगैंचाहरूबाट प्रभावित भएका थिए। त्यहाँबाट फर्किएर उनले त्यस्तै दरबार, पुस्तकालय र बगैंचा बनाए। उनले बनाएकाले दरबारको नाम केसरमहल रहन पुग्यो। पुस्तकालयको नाम ‘केसर पुस्तकालय’ रहन गयो। महल परिसरमै निर्माण भएको बगैंचा ‘स्वप्न बगैंचा’ कहलियो।

केसरशमशेरको शेषपछि २०२६ साउन १ गते सो दरबार, पुस्तकालय र स्वप्न बगैंचा उनकी पत्नी कृष्णचन्द्रदेवी राणाले तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरिन्। त्यसयता त्यो सम्पत्ति केशर पुस्तकालयका नाममा छ। पुस्तकालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत छ। उक्त महल परिसरको क्षेत्रफल ३४ रोपनी १ पैसा दुई दाम छ। पाश्चात्य शैलीमा निर्माण भएको केसरमहल युरोपेली वास्तुकला र शैलीको बेजोड नमुना हो। जहाँ ऋतुअनुसारका सयनकक्ष, कलात्मकताले भरिपूर्ण भित्ता, झ्याल, कोठाहरू छन्।

दरबारमा ५६ कोठा, दुई सभाहल, फराकिलो चोक, ५० वटा शौचालय छन्। यसैभित्र नेपालको उत्कृष्ट केसर पुस्तकालय छ। पुस्तकालयमा युनेस्कोले सूचीकृत गरेका सुश्रुतसंहितालगायतका झन्डैं ६० हजार पुस्तक छन्। यस्तै सयौं जीवजन्तुका आखेटोेपहार पनि सङ्ग्रहित छन्। परिसरमा संसारकै उत्कृष्टमध्ये गनिने स्वप्न बगैंचा छ, जसमा दैनिक हजारभन्दा बढी पर्यटक पुग्ने गर्छन्।

त्यही सम्पदामाथि ‘स्वार्थ समूह’ को नजर लाग्न थालेको छ। उनीहरू यसलाई व्यापारिक प्रयोजनमा लगाएर लाभ उठाउने प्रपञ्चमा जुटेका छन्। जसमा राज्यसंयन्त्रले नै सहयोगीका रूपमा भूमिका खेलिरहेको आरोप लागेको छ। त्यससम्बन्धमा भएका गतिविधिले पनि आशंका गर्न प्रशस्त ठाउँ दिएका छन्।

यसरी बन्यो योजना

केसरमहल क्षेत्रको सम्पूर्ण सम्पत्ति केसर पुस्तकालयको नाममा छ। यद्यपि स्वप्न बगैंचा दुई दशकदेखि स्वप्न बगैंचा विकास समितिले चलाइरहेको छ। स्वप्न बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन तत्कालीन श्री ५ को सरकारले २०५६ सालमा विकास समितिमा लगेको थियो।

विकास ेन, २०१३ अनुसार स्वप्न बगैंचा विकास समिति (गठन) आदेश–२०५६ बमोजिम गठन भएको समितिले बगैंचा चलाइरहेको छ। जसको अध्यक्षमा शिक्षासचिव हुने व्यवस्था छ। सदस्यहरूमा मन्त्रालयका प्रशासन शाखा प्रमुख युवराज सुवेदी, पर्यटन बोर्डको प्रतिनिधिका रुपमा मनिराज लामिछाने, इको नेपालका प्रतिनिधि फिन्गो शेर्पा, जग्गादाताबाट केसरशमशेरका छोरा लोकभक्त राणा र होटल व्यवसायी संघका सिर्जना राणा छन्।

सो समितिसँग झन्डै आठ रोपनी चर्चेको स्वप्न बगैंचाको पर्यटन प्रवद्र्धन गर्ने र त्यसको आम्दानीबाट समितिका क्रियाकलाप चलाउने अधिकार छ। त्यसबापत आम्दानीको केही अंश केसर पुस्तकालयको विकासमा खर्च गर्ने पनि भनिएको छ। पुस्तकालय मन्त्रालयले नै चलाउँछ।

स्वप्न बगैंचा विकास समितिको २०७७ माघमा बैठक बस्यो। बैठकले केसरमहललाई संग्रहालय बनाउने र केसर पुस्तकालयलाई अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनाउने अजेन्डा प्रस्ताव गरेको विकास समितिका एक सदस्यले बताए।

सोही बैठकले अध्ययन गर्न भनी चार सदस्यीय कार्यदल बनायो। जसको संयोजकमा बोर्ड सदस्य लोकभक्त र सदस्यहरूमा मन्त्रालयबाट सदस्य रहेका सहसचिव सुवेदी, मन्त्रालयकै पूर्वउपसचिव एवं समितिका सल्लाहकार डा.ध्रुवराज रेग्मी र केसर पुस्तकालयका प्रमुख दशरथ मिश्रलाई जिम्मेवारी दिइयो। स्वप्न बगैंचा विकास समितिका निमित्त कार्यकारी निर्देशक सानु कर्माचार्यका अनुसार यो निर्णय गर्दा शिक्षा मन्त्रालयको सचिव गोपीनाथ मैनाली थिए।

समितिले केही समयभित्रै अध्ययन प्रतिवेदनको खाका तयार पार्‍यो। त्यो खाकामा नै केसरमहललाई उपयोग गर्नेगरी आएको दाबी मन्त्रालय स्रोतको छ। जसमा केसरमहलभित्र रहेका सबै संरचना, पुस्तकालय र स्वप्न बगैंचा विकास समितिमातहत ल्याउने उल्लेख छ।

तत्कालीन शिक्षा सचिव मैनालीले कार्यदल बनाउने बैठकमा पुस्तकालय समितिमातहत ल्याउने विषयमा छलफल नभएको बताए। ‘समितिमा केसरमहल संरक्षण र सङ्ग्रालय बनाउने प्रसंग उठेको थियो,’ उनले भने, ‘अनुभवी साथीहरूबाट त्यो कुरा आएपछि ठीक छ नि त, अध्ययन गरेर प्रतिवेदन ल्याऊँ भन्ने निर्णय भएको थियो। तर पुस्तकालय गाभ्ने कुरा थिएन।’ बरु पुस्तकालय र स्वप्न बगैंचाको सम्बन्धमा समस्या नआओस् भन्ने छलफल भएको उनले बताए। ‘त्यसपछि के भयो थाहा भएन। केही समयमै मेरो सरुवा भयो,’ उनले थपे।

मस्यौदा प्रतिवेदनमा पुरानो स्वप्न बगैंचा विकास समिति (गठन) आदेश,२०५६ खारेज गरेर नयाँ ‘केसर पुस्तकालय एवं स्वप्न बगैंचा, एकीकृृत विकास समिति (गठन) आदेश,२०७७’ लागू गर्ने गरी उल्लेख छ। कार्यदलको प्रतिवेदनमा विकास समितिमातहत सिङ्गो केसरमहल ल्याउने योजना छ। विकास समितिमार्फत नै केसर पुस्तकालय सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ।

‘त्यो प्रतिवेदनको खाका हेर्दा केसरमहललाई व्यापारीकण गर्न खोजेको प्रस्ट देखिन्छ,’ मन्त्रालयका एकजना अधिकारीले भने, ‘पुस्तकालयका नाममा नै सम्पत्ति रहेकाले त्यसैलाई समितिमा गाभ्ने र केसरमहल नै समितिमा आएपछि त्यसलाई व्यापारिक प्रयोजनमा लगाउने योजना प्रतिवेदनले बोलिरहेको छ ।’ उनका अनुसार प्रतिवेदनमा प्रस्तावित योजना नै व्यापारिक छन्।

लाभमुखी संस्थाः रेस्टुराँ र सांस्कृतिक केन्द्र

प्रस्तावित योजनामा सिङ्गो केसरमहललाई विकास समिति मातहतमा ल्याएर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। यसरी बन्ने समिति ‘लाभमुखी’ संस्थाका रुपमा रहने भनिएको छ। प्रतिवेदनमा केसरमहलभित्र चार प्रकारका संरचना खडा गर्नुपर्ने उल्लेख छ। जसमा स्वप्न बगैंचा, राणाकालीन संग्रहालय, ऐतिहासिक कला केन्द्र र केसर पुस्तकालय तय गरिएको छ। यी चार संरचनाको ठाउँ व्यवस्थापनका लागि महल र परिसर ‘ले–आउट’(प्रारूप) समेत प्रस्ताव गरिएको छ।

यसमध्ये ‘ऐतिहासिक कला केन्द्र’ भित्र व्यावसायिक प्रयोजन परिकल्पना गरिएको छ। भुइँतलाको बीचको चोक, दक्षिण र पश्चिमतिरका कोठाहरू कला केन्द्रका लागि प्रस्ताव गरिएका छन्। जहाँ रेस्टुराँ, चमेनागृह सञ्चालन गर्न सकिने उल्लेख छ।

त्यही ठाउँमा ऐतिहासिक/सांस्कृतिक कला केन्द्रका रूपमा अडिटोरियम (सभागार) बनाउने भनिएको छ। जहाँ ‘मूर्त वा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक केन्द्रित कार्यक्रम सञ्चालन गर्ने’ भनिएको छ। यहाँ ‘नवीन तथा परम्परागत विचार र भावनालाई प्रतिनिधित्व गर्ने संङ्गीत’ लगायतको प्रस्तुतीकरण गर्ने व्यवस्था मिलाउने कुरा उल्लेख छ।

यो व्यवस्था निजी क्षेत्र घुसाउँदै केसरमहललाई व्यापारीकरण गर्ने ‘छिद्र’ का रूपमा राखिएको स्रोतको दाबी छ। ‘रेस्टुराँको कुरा त प्रस्ट छ। त्यहाँ पहिल्यैदेखि चलाइएको रेस्टुराँमा के हुन्थ्यो, जगजाहेर छ,’ कार्यदलको प्रतिवेदन र त्यहाँको गतिविधि पहिल्यैदेखि नियालिरहेका एक अधिकारीले भने, ‘सांस्कृतिक केन्द्र भनेर त्यहाँ चल्ने रेस्टुरेन्टले चलाउने सङ्गीत क्लबको कुरा गरिएको हो।’ नवीन तथा परम्परागत विचार बोक्ने सङ्गीत भनेको डान्स क्लब नै भएको उनको दाबी छ। ‘नवीन भनेर के भन्न खोजिएको हो? आफै बुझ्नुस्,’ उनले थपे। स्वप्न बगैंचामा पाँच कोठालाई प्रयोग गरेर पहिल्यैदेखि क्याफे सञ्चालन गर्ने गरिएको थियो। क्याफे भनिए पनि त्यहाँ झन्डै पाँच वर्ष द्वारिकाज समूहले रेस्टुराँ चलाएको थियो।

नारायणहिटीनजिकै रहेको र ठमेलजस्तो व्यावसायिक ठाउँमा रहेकाले यसमा धेरै व्यापारिक घरानाको नजर रहेको जानकारहरू बताउँछन्। ‘व्यावसायिक रूपमा नेपालकै आकर्षक ठाउँमा छ। त्यसमा पनि आफैंमा कलात्मक र ऐतिहासिक धरोहर हो। फराकिलो ठाउँ पनि छ,’ शिक्षा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यस्ता सम्पत्तिमा त व्यापारिक घरानाहरू आँखा लाएर बस्छन् नै।’ यस्तै स्वार्थ समूहकै नजरबाट प्रभावित भएर व्यापारीकरणको योजना बनेको उनी दाबी गर्छन्।

पुस्तकालय समितिमा लैजाने कुरापछि विवाद

केसर पुस्तकालय समिति मातहतमा लैजाने कुरा आएपछि कार्यदलको सदस्य रहेका पुस्तकालयका तत्कालीन प्रमुख मिश्रले असहमति जनाए। उनले असहमति जनाउँदा मन्त्रालयको पुस्तकालय समन्वय शाखाको पनि राय लिएका थिए। ‘सुरुमा स्वप्न बगैंचा, पुस्तकालय सबैको विकास गर्ने भनेपछि मलाई कार्यदलमा राख्दा हुन्छ भनें। केही छलफलमा पनि गएँ,’ मिश्रले भने, ‘पछि पुस्तकालय पनि समिति मातहतमा लैजाने खाकासहितको प्रतिवेदन ल्याएर दस्तखत गर्न भनेपछि मैले असहमति जनाए। हस्ताक्षर नगरेर हिँडें ।’ मन्त्रालयको पुस्तकालय समन्वय शाखाले पनि पुस्तकालय समितिमातहत लैजादा ‘घातक’ हुने राय दिएको थियो।

त्यसपछि पनि निरन्तर दबाब आइरहेको मिश्र बताउँछन्। दस्तखतका लागि दबाब आइरहन थालेपछि मन्त्रालयबाट सरुवा मिलाएर राष्ट्रिय पुस्तकालयमा आएको उनले जनाए। ‘कचकच हुन थाल्यो,त्यसपछि यहाँ धेरै दिन बस्नु ठीक छैन भन्ने लाग्यो। सरुवा मिलाएर यता आएँ,’ उनले भने।

उनको असहमति र मन्त्रालयमा भिन्न मत भएपछि प्रतिवेदन अझैं मन्त्रालयमा पेस भएको छैन। २०७७ माघमा गठन भएको कार्यदललाई विकास समितिले तीन महिनामा प्रतिवेदन पेस गर्ने समय दिएको थियो। प्रतिवेदन तयार रहे पनि विभिन्न विवादले अगाडि बढेको छैन। त्यसलाई अगाडि बढाउन चाहने समूह अझै निष्क्रिय भने भइसकेको छैन। बेलाबेला यसबारे कुरा उठ्दै आएको छ।

केही दिनअघि मात्रै मन्त्रालयका पदाधिकारीसँग यस विषयमा ‘ब्रिफिङ’ भएको थियो। त्यसबारे सञ्चारमाध्यममा समाचार आएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले केसरमहललाई व्यापारीकरण हुन नदिने बताएका छन्।

व्यापारीकरण होइन, विकास

उता कार्यदलको सदस्य रहेका मन्त्रालयका पूर्वउपसचिव एवं विकास समितिका सल्लाहकार रेग्मी भने तयार भएको योजना नितान्त पुस्तकालय र स्वप्न बगैंचाको विकासका लागि रहेको बताँउछन्। ‘यसमा कुनै कसैको स्वार्थ छैन। केबल पुस्तकालयको विकास र बगैंचा तथा केसरमहलको पर्यटकीय प्रवद्र्धन गर्ने कुरा हो,’ उनले भने, ‘सानो क्याफ्टेरिया बनाउँदा केको व्यापारीकरण?’ राणाकालीन संग्र्रहालय, ऐतिहासिक सांस्कृतिक केन्द्र बनाएर नेपालकै विशेषता विश्वसामु चिनाउन खोजेको उनले दाबी गरे। ‘विडम्बना, नेपालको प्रवृत्ति नै यस्तै छ। केही विकासको काम गर्न खोजे अनेकन हल्ला हुन्छन्,’ उनले थपे।

अध्ययन कार्यदलको संयोजक रहेका केसरशमशेरका छोरा लोकभक्तले व्यापारीकणका पक्षमा आफू पनि नरहेको बताए। ‘व्यापारीकरणका पक्षमा त म पनि होइन। तर प्रस्ताव गरिएको कुरामा त्यस्तो केही छैन। नितान्त विकास र केसर पुस्तकालयलाई राम्रो बनाउने कुरा हो,’ उनले भने, ‘राणाकालीन संग्रहालय बनाउने भनेका छौं। क्याफ्टेरिया त जताका संग्रहालयमा पनि हुन्छन्। कार्यान्वयनको विषयमा उठेको आशंका भए अर्को कुरा।’

उनले पुस्तकालय पनि विकास समितिमा ल्याउँदा राम्रो गर्न सकिने बुझाइले यस्तो गरिएको बताए। ‘पुस्तकालय मन्त्रालयले राम्रोसँग चलाउन सकेको छैन। विकास समिति नाफामा छ। विकास समितिमा ल्याउँदा राम्रो हुन्छ भनेरै त्यसो गरिएको हो,’ उनले भने।

अध्ययन कार्यदलमा रहेका मन्त्रालयका सहसचिव सुवेदीले प्रतिवेदन अहिले थन्किएको अवस्थामा रहेको बताए। ‘केही छलफल भएको छ, केही बाँकी छ, त्यसै थन्किएको छ,’ उनले भने, ‘पूरा नै नभएको विषयमा के कुरा गर्नु ।’ व्यापारीकरण हुन लागेको विषयमा उनले कुरा गर्न चाहेनन्। ढिलाइको विषयमा उनले भने, ‘केही होला नि भित्र! कुरा मिलेन होला, यही त हो नि। भूकम्पले भत्काएपछि कामै सकिएको छैन। त्यो पनि हो।’

२०७२ सालको भूकम्पबाट केसरमहल क्षतिग्रस्त भएको थियो। त्यसलाई जीर्णोद्धारको काम चलिरहेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसको पुनर्बलीकरण (रेट्रोफिटिङ) गरिरहेको छ। मंसिरमा सम्पन्न गर्नुपर्ने लक्ष्य भए पनि अझै केही समय लाग्ने बताइएको छ।

प्रकाशित: १७ माघ २०७८ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App