१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरी प्रशासनद्वारा धार्मिकस्थलमा भक्तजनलाई पूजा गर्न रोक

धरानको बुढासुब्बा मन्दिर। तस्बिरः रोहित राई

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सुनसरी प्रशासनले मठमन्दिरलगायत धार्मिकस्थलहरुमा सर्वसाधारण भक्तजनहरुलाई पूजा तथा दर्शन गर्न रोक लगाएको छ।

सुनसरी जिल्ला प्रशासनले माघ ४ गते नै नित्य पूजाबाहेकका भिडभाड हुने गतिविधिहरुमा रोक लगाउने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन। संक्रमण दर न्यूनीकरण नभएपछि जिल्ला प्रशासनले धार्मिकस्थलहरुमा भिडभाड हुन नदिन शुक्रबार पुनः प्रहरीलाई निर्देशन दिएको छ। प्रशासनको निर्देशन आएपछि प्रहरीले शुक्रबारदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरलगायत महत्वपूर्ण मठमन्दिरहरुमा भक्तजनहरुलाई प्रवेश तथा पूजाआर्चना गर्न रोक लगाएको छ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले दैनिक नित्य पूजा मात्र गर्न दिनू भन्ने निर्देशन आएकोले सोही अनुसार कार्य अघि बढाइएको बताए। मन्दिरहरुमा भिडभाड हुन नदिन भक्तजनहरुलाई पनि सम्झाइएको र मन्दिर व्यवस्थापन समितिहरुलाई नित्य पूजा मात्र गर्न जानकारी दिइएको उनले बताए। ‘जिल्ला प्रशासनबाट निर्देशन आएकोले मन्दिरहरुमा नित्य पूजा मात्र गर्न भनेर जानकारी गराएका छौं,’ उनले भने, ‘धार्मिकस्थलहरुमा भिडभाड हुन नदिने कडाई गरिएको हो।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले माघ ४ गते नै जिल्लाभरका मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलहरुमा भिडभाड हुन नदिने निर्णय गरिएको बताए। उनका अनुसार धार्मिकस्थलहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थनाबाहेक सबै क्रियाकलापहरु बन्द गरिएको हो। ‘यो निर्णय माघ ४ गते नै भएर आदेश जारी भइसकेको थियो। अहिले पूर्ण कार्यान्वयन गराउन भनेको हो,’ प्रजिअ यादवले भने।

प्रहरी प्रशासनले आवश्यक समन्वय नगरि मठमन्दिर बन्द गराएको भन्दै वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने असन्तुष्टी प्रकट गरेका छन्। उनले सार्वजनिक यातायात, बजार, सब्जीमण्डीतिर मानिसहरुको घुँइचो भइरहे पनि मठमन्दिरमा मात्र भक्तजनहरुलाई रोकेर संक्रमण न्यूनीकरण नहुने पनि बताए। ‘यहाँको वास्तविक अवस्था नबुझी बन्द गर्नु ठिक भएन। कोरोना मन्दिरबाट मात्र सर्ने हो र? बजारमा, सार्वजनिक यातायातमा, सब्जीमण्डीमा कति भिडभाड छ? त्यता प्रशासनले खै अनुगमन र कडाई गरेको?’, अध्यक्ष भट्टराईले भने, ‘वडा कार्यालयसँग समन्वय भएको छैन। आजदेखि बन्द हुँदैछ भनेर अग्रिम सूचना पनि छैन, माइकिङ पनि छैन। एक्कासी आएर बन्द भन्यो, गेट लगायो, यसरी हुन्छ?’, वडाध्यक्ष भट्टराईले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको कडाईका साथ अनुगमन गर्नुपर्ने बताए।

प्रकाशित: १४ माघ २०७८ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App