मोरङको विराट चोकमा गएराति एक जना ट्रक चालकको देब्रे कान काटिएको छ। दुई जना अज्ञात व्यक्तिले मध्यरातमा ट्रक चालकको देब्रे कान काटिदिएर फरार भएका छन्। कान काटेर फरार भएकाको पहिचान हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।
घटना भएको १४ घण्टाभन्दा बढी समय भइसक्दा पनि प्रहरीले पहिचान गरेर घटनामा संलग्नलाई पक्राउ गर्न सकिरहेको छैन। अपरिचित दुई जना युवाले सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा बुधबार राति साढे ११ बजेतिर ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिदिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।
मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका मुखिया सिमेन्ट लोड गरिएको प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रक लिएर बुढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए। विराट चोकमा पुगेपछि ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खानलाई गए। खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला पहिचान नखुलेका दुई युवा आएर धारिलो हतियारले मुखियाको कान काटिदिएको मुकारुङले बताए।
कान काट्न कस्तो प्रकारको हतियार प्रयोग भएको भन्ने यकीन भएको छैन । ‘काटेको ठाउँमा गहिरो चोट लागेको छ,’ डिएसपी मुकारुङले भने, ‘धारिलो हतियारले काटेर कान नै छिनाइदिएको पाइयो। घटनाको कारण पत्ता लगेको छैन।’ कान काटिदिएपछि घाइते भएका ट्रक चालकको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार खाना खाएपछि आगो तापिरहेका बेला अचानक आएका युवाहरुले कान काटेर भागेको मुखियाले बताएका छन्। रातको समय भएकाले होहल्ला गर्दा १÷२ जनाले मात्रै थाहा पाउन सके, मुखियाले प्रहरीलाई भने। कान काटिदिएर फरार भएकाले घटनामा संलग्नको पहिचान हुन सकेन र उनीहरुको खोजी कार्य जारी राख्दै घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ माघ २०७८ ११:०५ बिहीबार