२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गायक नरबहादुर बिसीले विवाहित छोरीलाई अंश दिए

पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार हुनुपर्छ भन्दै तीन दशकयता ब्यापक चर्चा हुने गरेको छ। पैतृक सम्पत्तिमा पुरुषको मात्र हक लाग्ने कानूनी र सामाजिक मान्यतालाई कानूनले तोडेपनि व्यवहारिक रुपमा लागू नभइरहेको अवस्थामा म्याग्दीका पुराना गायक तथा साहित्यकार नरबहादुर बिसीले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिएर सन्देश प्रवाह गरेका छन्।

गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए। साहित्यकार बिसीका ३ छोरा र एक छोरी छन्। ‘छोराछोरी अभिभभावकको लागि समान हुन्,‘छोराले अंश पाउने तर छोरीले किन नपाउने भनेर अंश दिइएको हो’, साहित्यकार बिसीले भने।

यसअघि सामाजिक विकृतविरुद्ध विभिन्न अभियानको सुरुवात समेत गरेका गायक बिसीले एउटै कोखबाट जन्मिएका छोराछोरीलाई समान हक रहने गरी बनेका कानुनको कार्यान्वयन घरघरबाटै हुनुपर्ने बताए।

उनले सम्पत्ती दिएको प्रचारभन्दा पनि नेपाली समाजलाई एउटा सन्देश भएको बताए। नेपाली समाजमा विवाह गरेपछि श्रीमानकै भरमा पर्नुपर्ने अवस्थालाई तोड्न यो आवश्यक रहेको उनको भनाई थियो। यता महिला अधिकारकर्मी जमुना आचार्यले नेपाली समाज समाजलाई पितृ सत्तात्मक समाज भनेर चिनिने गरेकाले पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन नरहेको अवस्थामा साहित्यकार बिसीको कार्यबाट उत्साहित भएको बताइन्।

‘आमाबुबाको छोरीले स्याहारसुसार गर्छन्, समाजको संरचना पुरुषप्रधान भएकाले महिलालाई सम्पत्तिमाथिको अधिकार कायम हुन सकिरहेको छैन’, अधिकारकर्मी आचार्यले भनिन्। २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बनाए पनि यो व्यवहारमा लागू हुन सकेको छैन।

प्रकाशित: २३ पुस २०७८ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App