coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अधिकाशंले योजनाबद्ध रुपमा आत्महत्या गर्छन्ः मनोविश्लेषक आचार्य

नेपालमा प्रत्येक वर्ष आत्महत्याका घटनाहरु बढ्दै गइरहेको पाइन्छ। आत्महत्याको अवस्था बढ्दै जानुको प्रमुख कारकका रुपमा सामाजिक, मानसिक र आर्थिक तत्वलाई लिइएको छ। नेपालको सन्दर्भमा डोरीले झुण्डिएर, विष सेवन गरेर, घरको छत तथा खोलामा हाम फालेर, हातहतियारहरुको प्रयोग गर्ने र अत्याधिक मात्रामा मदिरापानको सेवन गरेर समेत आत्महत्या गर्ने गरेको पाइन्छ।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्याङ्कअनुसार नेपालमा आ.व २०७३/७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका छन्। ति मध्ये २ हजार ६५३ जना पुरुष, २ हजार १७४ महिला, ११९ बालक र १८५ जना बालिका रहेका छन्। त्यस्तै आ.व २०७४/७५ मा २ हजार ८५४ पुरुष, २ हजार २४२ महिला, १११ बालक र १३९ बालिका गरि ५ हजार ३१७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। यस्तै आ.व २०७५/७६ मा ३ हजार ११३ पुरुष, २ हजार २०३ महिला, १८९ बालक र २७० बालिका गरि ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन्।  

नेपालमा आ.व २०७६/७७ देखि आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थाका कारण यो संख्या बढेको नेपाल प्रहरीले जनाएको छ। आ.व २०७६/७७ मा ६ हजार २५२ जनाले अत्महत्या गरेका छन्। जसमध्ये ३ हजार ४०७ जना पुरुष, २ हजार १८४ महिला, २५२ बालक र ४०९ बालिका रहेको पाइएको छ। त्यस्तै कोभिड महामारी कायमै रहेको आ.व २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन्, जसमध्ये ३९२८ पुरुष, २४४९ महिला, २९४ बालक, ४७० जना बालिकाहरुले आत्महत्या गरेको तथ्याङ्क छ।

सामान्य बुझाइमा आफैले आफ्नो श्वास रोकी गरिने हत्यालाई आत्महत्या भनिन्छ। मनोवैज्ञानिकका अनुसार आत्महत्या मानसिक समस्याको जटिल परिणाम हो। केही मानिसहरुले आफ्नो रिसको आवेगमा आई आत्महत्या गरेको पाइन्छ भने प्रायः मानिसहरु मानसिक तनाव तथा पीडाहरु थेग्न नसकी बाँच्नु भन्दा मर्नु सजिलो ठानेर आत्महत्या गर्ने गर्छन्।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा महिलाभन्दा पुरुषले आत्महत्या बढी गरेको पाइन्छ। इस्तै, बालकभन्दा बालिकाहरुको आत्महत्या गर्ने संख्या बढी छ। मनोविश्लेषक वासु आचार्यका अनुसार पुरुषहरुले महिलाहरुको तुलनामा बढी खतरनाक तरिका अपनाएर आत्महत्या गर्ने भएकाले पुरुषहरुको आत्यमहत्या गर्ने संख्या बढी भएको हो। त्यस्तै बालकभन्दा बालिकाहरु सामाजिक तथा पारिवारिक समस्याहरुबाट बढी ग्रसित हुने भएकाले उनीहरुले आत्महत्या गर्ने गरेको हुन सक्ने उनको तर्क छ।  

आत्महत्याको कारण

केही अध्ययनले अधिकांश आत्महत्याको प्रमुख कारणमा जटिल किसिमको मानसिक तनाव र अत्याधिक मद्यपानलाई औल्याएका छन्। महिला तथा बालबालिका सेवा निर्देशनालयले मानसिक समस्या, झगडा, आर्थिक, प्रेम वा अध्ययनमा असफलतालाई नै आत्महत्याका प्रमुख कारण भनेको छ। त्यस्तै मनोविश्लेषक आचार्यका अनुसार आत्महत्याको कोशिस गर्ने तथा आत्महत्या गर्ने ९५ प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित भएका हुन्छन्। ‘१५ देखि २० प्रतिशत जटिल किसिमको डिप्रेसन पीडितले आत्महत्याको प्रयास गर्छन्, मानिसले डिप्रेसनका साथै चिन्ता, व्यक्तित्व विकार तथा  मानसिक समस्याको कारणले पनि आत्महत्या गर्छन्,’ उनले भने।

मनोविश्लेशक आचार्यका अनुसार आत्महत्याको सोच बनाएका ९५ प्रतिशत व्यक्तिले योजनबद्ध रुपमा आत्महत्या गर्छन् भने ५ प्रतिशत व्यक्तिले मात्र आत्महत्या गर्ने धम्की दिईरहेका हुन्छन्। मानिसलाई डिप्रेसनमा पुर्याउने सामाजिक तथा मनोवैज्ञानिक कारणले पनि मानिसहरुले आत्महत्या गर्न सक्छन्। गम्भीर तथा पीडादायक शारीरिक रोग क्यान्सर तथा एड्स लाग्नु, परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भधारण, व्यापार–व्यवसयामा घाटा तथा क्षति, ऋण, सामाजिक अपमान तथा बहिष्कार आदि आत्महत्याका कारक हुन सक्छन्।

आत्महत्या गर्ने व्यक्तिले कस्तो संकेत दिन्छ?

आत्महत्या विश्वव्यापी घटना भएतापनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ। उनीहरुको भावनामा बिना कारण उतार चढाव आउने गर्छ। सोचेको जस्तो भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्साहित हुने, अस्वभाविक रुपमा दुःखी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ। कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन्।

आफूलाई योग्यहीन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिहन्छन्। त्यही अनुसार मर्नका लागि गोप्य रुपमा तयारी समेत गरेका हुन्छन्। मेरो कोही छैन, मलाई कसैले हेर्दैनन्, म केको लागि बाँच्ने भन्ने शब्दहरु व्यक्त गरिरहेको पाइने मनोविश्लेषक आचार्यको भनाइ छ। त्यस्तै गम्भीर तनाव र डिप्रेशनका बीच पनि कुनै व्यक्ति अचानक शान्त हुन थाल्यो भने त्यो व्यक्ति कुनै गलत निर्णयमा पुगिसकेको छ भन्ने स्पष्ट हुन्छ।

शारीरिक स्वास्थ्यको राम्रो बहस नहुने देशमा मानसिक स्वास्थ्यको कुरा कल्पनाभन्दा बाहिरको कुरा हो। 

त्यस्ता व्यक्तिहरु एक्लै बस्न रुचाउने, कुनै पनि सामाजिक गतिविधिबाट भाग्ने र कुनै पनि काममा ध्यान नराख्ने गर्छन्। आत्महत्या गर्ने सोच आएपछि कुनै उक्त व्यक्तिमा अचानक परिवर्तन आएको अनुभव गर्न सकिन्छ।  

मानिसमा आत्महत्या गर्ने विचार किन र कसरी आउँछ?

हिजोआज हुने गरेका आत्महत्याको घटना र प्रकृति हेर्दा अधिकांश मात्रामा घरेलु हिंसाका कारणले पनि हुने गरेका छन्। अनैतिक यौन सम्पर्कबाट गर्भ रहेको, पतिको कुटाई, सौताको आगमन, दाइजो आदि जस्ता व्यक्तिगत, सामाजिक र मानसिक दबाब नै उनीहरुको आत्महत्याको प्रमुख कारण हुन पुग्छन्। विगतको दशकमा नेपालीमा आएको रहनसहन र जीवनशैली परिवर्तनबाट सिर्जित नौला समस्या पनि आत्महत्याको प्रमुख कारण भएको अनुमान गर्न सकिन्छ। आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसले बाँच्नुको अर्थ नदेख्ने, धरतीको बोझ ठान्ने, मरेपछि मात्र समस्या समाधान हुन्छ भनेर सोच्ने, संसार बिरानो देख्ने, तिरस्कार तथा अपहेलना सहन नसक्ने मनस्थितिका भईसकेका हुन्छन्।

त्यस्तै कानुनी कारबाहीको झन्झटिलो प्रक्रियामा फस्नुपर्ने डरले धेरै आत्महत्याका घटना प्रहरीसम्म नपुग्ने गरेको मनोविश्लेषक आचार्यले बताए।

आत्महत्या नियन्त्रणमा परिवार र समाजको  भूमिका कस्तो हुनुपर्छ?

हाम्रो समाजमा मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडिन्छ र सकेसम्म घरभित्रै लुकाएर राख्ने गरिन्छ। कतिले गरिबीको कारणबाट सही उपचारसम्म पाउन सकेका हुँदैनन। त्यसैगरी मानसिक रोग पहिचान भएको खण्डमा परिवार वा समाजबाट अपहेलित हुने डरले पनि मानिस आत्महत्या र मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन्। आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफूलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेका हुनसक्छ, उनीहरुलाई  समस्याबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ। जसका कारण उनीहरु आफूलाई हलुका भएको महसुस गर्छन्, र आत्महत्याको विचार परित्याग गर्न सक्छन्।

आत्महत्याको निदान के हुन सक्छ?

आत्महत्या मुख्यतया डिप्रेशनकै कारण हुने भएकाले धेरै कुरा नसोच्ने, मनमा कुराहरु नखेलाउने, अनावश्यक तर्क या विचार नगर्ने, अरुको देखासिखीबाट टाढै रहने, तनाव नलिने, नकारात्मक व्यक्तिहरुबाट टाढै रहने, योग, व्यायाम तथा मेडिटेसन गर्नुपर्ने मनोविश्लेषक आचार्यको सुझाव रहेको छ। ‘अध्ययन गर्ने्, नयाँ–नयाँ कुराहरु खोज्ने बानीको विकास गर्ने, समाजका विभिन्न कार्यमा सहभागी हुने लगायतका क्रियाकलापले आत्महत्या गर्ने विचारमनबाट हट्छ ,’ उनको भनाइ थियो।

आत्महत्या एक अपराधनै हो। आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन। सामान्यतः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक तत्व हो। मूलभूतरूपमा हाम्रो समाजका बेथिति, महिला हिंसा, बेरोजगारी जस्ता समस्या हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिन्छ। मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।

प्रकाशित: १९ पुस २०७८ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App