७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तीन दिन धरान डे मनाउने तयारी, र्‍याफ्टिङ र प्याराग्लाइडिङमा बिशेष छुट

आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर शुरु भएको जानकारहरु बताउँछन्। त्यही आधारमा तत्कालिन धरान नगरपालिकाले २०५७ सालमा शतबार्षिकी महोत्सव आयोजना गरेको थियो। त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानकको रुपमा लिएर धरान डे मनाउदै आएको छ।

यो वर्ष धरान स्थापना भएको १२१ औं वर्ष पुगेको छ। सोही अवसरमा यसपालि पनि ३ दिन धरान डे मनाउने उपमहानगरपालिकाले तयारी गरेको छ। बुधबार बसेको कार्यपालिका बैठकले पुष २०, २१ र २२ गते विविधि कार्यक्रमहरु आयोजना गरेर धरान डे मनाउने निर्णय गरेको मेयर तिलक राईले जानकारी दिए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर राईले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै हुनुहुन्छ, र उहाँबाट धरान डेको समुद्घाटन हुनेछ, त्यसबाहेक प्रधानमन्त्रीज्यूबाट अन्य योजनाहरुको पनि उद्घाटन र अवलोकनको कार्यक्रम पनि छ।’

धरान डे मनाउन मेयर संयोजक, उपमेयर सहसंयोजक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको मुल आयोजक समिति गठन गरिएको छ। समितिमा कार्यपालिका सदस्य, नगर सभा सदस्य, क्याम्पस प्रमुख, उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्थाका अगुवाहरु समेटिएको उनले बताए। साथै, १३ सदस्यीय सचिवालय पनि गठन गरिएको छ भने २५ वटा उपसमितिहरु गठन गरिएको पनि मेयर राईले जानकारी दिए।

धरान डे समुद्घाटन हुनुअघि प्रधानमन्त्री देउवाले सेउती खोला निराजन वस्ती पक्की पुल, धरान ६ स्थित फोहार मैला प्रशोधन केन्द्र र पब्लिक हाई स्कुलको प्राविधिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने धरान ८ स्थित स्मार्ट बसपार्कको अवलोकन गर्ने कार्यक्रम पनि तय गरिएको छ। दिउँसो १ बजे भने प्रधानमन्त्री देउवाले धरान डेको उद्घाटन गर्ने उपमहानगरपालिकाले जनाएको छ।

धरान डेको विविध कार्यक्रमहरु धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा हुनेछ। साँस्कृतिक कार्यक्रम, साँस्कृतिक परिकारका स्टलसहित धिरानलाई चिनाउने विभिन्न गतिविधिहरु तीन दिनसम्म आयोजना हुने पनि मेयर राईले बताए।

पहिलो दिन मितेरी साइनो गाँसिएको पोखराको साँस्कृतिक टोलीको प्रस्तुती हुनेछ भने धरानका कलाकारहरुको पनि प्रस्तुति हुने उपमहानगरपालिकाले जनाएको छ। दोस्रो दिन सबै वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाई गर्ने, संघसंस्था परिचालन गरी जिरोप्वाईन्ट देखि तिनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र मास साईकलिङ आयोजना गर्ने कार्यक्रम रहेको उपमहागनरपालिकाले जनाएको छ।

यस्तै, बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी हुनेछ भने दिउँसो धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुने पनि मेयर राईले बताए। यस्तै, तेस्रो दिन लोक जुवारी, रस्सी तान प्रतियोगितालगायत कार्यक्रमहरु आयोजना गर्दै धरान डे समापन गरिने उनले बताए।

प्रकाशित: १५ पुस २०७८ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App