२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध साना हतियारले सुनसरीमा सुरक्षा चुनौति

घटना नंं. १ : सुनसरी कोशी गाउँपालिका वडा नं. १ लौकहीबाट सोमबार स्वचालित पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परे। हतियारसहित भारत अररिया जिल्ला वासमतिया वडा नं. ६ का ३५ वर्षे विद्यानन्द राम र सोही ठाउँका ३१ वर्षे हसिम अन्सारी पक्राउ परेका हुन्।

पक्राउ पर्नेका साथबाट दुई नाल पेस्तोलको साथमा चारवटा म्यागजिन र तीन राउन्ड गोली समेत वरामद गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। बीआर(५०(के०१४९ नम्बरको मोटरसाइकलमा दुइ जना हतियार कारोबारी भारतीय नागरिक नेपाल आउँदै गरेको सूचनाका आधारमा निगरानी गर्दा दुवै जना लौकही वजारबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले बताए।  पक्राउ परेकालाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुुद्दा दर्ता भएको छ।

घटना नं. २ः जग्गाको सीमा विवादमा कोशी गाउँपालिका वडा नं. ५ मा साउन २ गते आफ्नै भाइले दाजुलाई कटुवा पेस्तोल देखाएर त्राहीमाम बनाए। कोशी गाउँपालिका वडा नं. ५ का  अन्दाजी ४५ वर्षे चन्द्रदेव यादवले ५० वर्षे विध्यानन्द यादवलाई पेस्तोल देखाएर त्राहीमाम बनाए।

लगतै,  विध्यानन्दले ईप्रका लौकही र सशस्त्र प्रहरी वल पोष्ट श्रीपुरमा फोन गरेर सूचना दिए। प्रहरीले दाजु विध्यानन्द र भाई चन्द्रदेवलाई पक्राउ गर्यो। प्रहरी टोलीले विध्यानन्दको घरदेखि झन्डै ३०० मिटर पुर्वमा रहेको आपको फेदमा कालो प्लाष्टिकले वेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल फेला पर्यो। पक्राउ परेका दुवै जनाबिरुद्ध प्रहरीले हात हतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गतको मुद्दा प्रहरीले चलायो। अहिले चन्द्रदेव हाजिरी जमानीमा छुटेका छन् भने विध्यानन्द पुर्पक्षका लागि कारागार चलान भएका छन्।

घटना नं. ३ : बराहक्षेत्र नगरपालिका वडा नं. २ मा जेठ २८ गते सोही ठाउँका युवा एसुब राना मगर, सागर मगर र निरज घिमिरेको घरमा जंगली जनावर हरि मारि काटेको खवर प्राप्त हुन साथ प्रहरीले घरमा खोजतलास गर्दा तीन थान बन्दुकसहित मासु फेला परेको थियो। तीनैजना बिरुद्द मुद्दा चलाएको थियो।

यी माथिका घटनाले साना हतियारको बिगबिगी भएको देखाउँछ। सुनसरीमा जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई हेर्दा पनि भारतबाट नेपालमा अवैध रुपमा साना हतियार भित्रिने गरेको देखाएको छ।

यसरी हातहतियार बिक्री वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दा छन्। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा दुईवटा हतियार काण्डमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको छ। यस्तै, चार्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा नौंवटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ। 

खुला सिमानाले गर्दा जिल्लामा साना हतियार मुख्य सुरक्षा चुनौती भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए। यहाँ सामान्य विवाद, लेनदेन, जग्गा–जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र मृत्यु समेत हुने गरेका घटनाले आपराधिक गतिविधि बढ्ने गरेको छ।

भारतमा सहज रूपमा र कम मूल्यमा यस्ता हतियार पाउने भएकाले आपराधिक गतिविधिमा संलग्नहरूले भित्र्याउने गरेको एसपी थापाले बताए। उनका अनुसार अवैध रुपमा भारतबाट भित्रिने हातहतियारको बिक्री वितरण र ओसारपसार रोकथाम गर्न भने प्रहरी सक्रियतापूर्वक लागेको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो साढे पाँच महिनाको अवधिमा विभिन्न मुद्दामा कैद सजाय तोकेर फरार रहेका ५८८ जनालाई पक्राउ गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुस १२ गतेसम्ममा सुनसरी प्रहरीले अदालतवाट फैसला भई सकेका विभिन्न मुद्दाहरुमा फरारका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ। अदालत बुझाएपछि उनीहरुलाई कारागार चलान गरिएको छ।

प्रकाशित: १३ पुस २०७८ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App