एसएसबीका कारण सिमा क्षेत्रका महिलाहरुमा विकृति सुरु भएको स्थानीयको बुझाइ छ। उनीहरुले भनेअनुसार काम नगरे सिमा वारपारमा बन्देजसम्म लगाउने गरेको पाइएको छ। सिमाक्षेत्रका स्थानीय अनुसार एसएसबीका जवानहरु पुरुषभन्दा नेपाली युवतीसँग नजिक र घुलमिल गर्छन्। फत्तेपुर–१ का रामविलास हरिजनले भारतीय जमुना बजारबाट युवती र महिलाहरु पछ्याउँदै एसएसबी गाउँमा पस्ने गरेको बताए। 'सिमामा पुरुषभन्दा महिला, युवतीलाई कडाई र निगरानी बढाउँछन्,' उनले भने, 'उनीहरुले भनेअनुसार नमाने आँफैलाई समस्या आईपर्छ।' सीमा क्षेत्रमा भारतीय एसएसबीका कारण यौन व्यापार समेत फस्टाएको छ। उनीहरुले आर्थिक प्रलोभन र दवाब दिएर सिमा क्षेत्रका महिला र युवतीलाई यौन कार्यमा संग्लन गराउने गरेका छन्। महिला र युवतीहरुले उनीहरुले भनेअनुसार नमाने परिवारलाई समेत सिमामा कडाई र तनाब दिने गरेको होलियाका शुक्लाले बताए।
एसएसबीसँगको सम्पर्कका कारण उनीहरुले रकम दिने र भारतबाट निर्वाध सामान ल्याउने, किनमेल गर्ने अवसर पाउँछन्। नेपाली महिला र युवतीबाटै एसएसबीले नेपाली दुरसञ्चार कम्पनीका मोबाईल सिम पाउने र गाउँको सुराकी थाहा पाउने शुक्लाले बताए। भारतीय सिमानासँग जोडिएका हिरमिनिया, होलिया, फत्तेपुर, गंगापुर, मटैहिया, कालाफाँटा गाविसका सिमावर्ती बस्तीमा एसएसबीबाट महिला र युवती बढी असुरक्षित भएका हुन्।
हिरमिनिया– १ का निरन्जन सोडी सिमाक्षेत्रमा यौनधन्दा फस्टाएको बताउँछन्। 'एसएसबी पैसा खर्च गर्न तयार हुन्छन्, नेपाली युवतीहरु पैसा कमाउन उनीहरु खोज्दै जान्छन्,' उनले भने, 'यो यौन धन्दा जस्तै चलेको छ।' हिरमिनियाको मुन्सीपुरुवा, अहरापुर र कालाबन्जारामा एसएसबीको क्याम्प रहेको छ। एकपटक चिनजान र सम्पर्कपछि एसएसबीले आवश्यकता अनुसार फोनबाटै क्याम्प र भारतीय बजारमा नेपाली युवती र महिलाहरु बोलाउने, घुमाउने गरेका स्थानीय बताउँछन्।
सीमा क्षेत्रबाट किनमेलका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यताले एसएसबीको ज्यादतीविरुद्ध स्थानीय आवाज उठाउन डराउँछन् । भारतीय सिमासँग जोडिएको मटैहिया गाविस सचिव महोमद स्माईल खाँले जमुनाह बजारबाट एसएसबी नेपालभित्र आवगमन गर्ने गरेको बताए। आवतजावत गर्ने गरेका भएपनि यौनकार्यका लागि आएको बारे गुनासो नआएको बताए। एसएसबीविरुद्ध आवाज उठाए आँफै खतरामा पर्नेदेखि रोजीरोटी गुम्नेसम्मको डर स्थानीयमा छ।
स्थानीयका अनुसार केहीबर्ष यता एसएसबी रहेका सिमा क्षेत्रका भारतीय बजार र नेपालीबस्तीमा अवैध यौनधन्दा मौलाउँदै गएको छ। जिल्लाको नेपालगन्ज–रुपैडिहा बाहेक अन्य छोटी भन्सार र नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन्। छोटी भन्सार र नाका नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी रहेपनि गस्ती र कडाई हुने गरेको छैन।
प्रकाशित: १० मंसिर २०७१ ०६:१० बुधबार





