११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तु पोखरीमा चल्न थाल्यो डुंगा

अन्तु पोखरीमा डुंगामा सञ्चालन। तस्बिर: नागरिक

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुपोखरीमा करिब २ वर्षपछि पुनः डुंगा चल्न थालेको छ। यसअघि कोरोना महामारीका कारण पर्यटक आउ-जाउ बन्द हुँदा डुंगा सञ्चालन रोकिएको थियो।  

नगरपालिकाले मंगलबारदेखि डुंगा सञ्चालनमा ल्याएपछि अब अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर मज्जा लिन सक्नेछन्। अहिले नगरले ३ वटा डुंगा सञ्चालन सुरु गरेको सूर्याेदयका मेयर रणबहादुर राईले बताए। ‘अन्तु घुम्न आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालन गरिएको हो,’ उनले भने, ‘अन्तुमा अन्य पर्यटकीयस्थल पनि छन्, तिनीहरूसँगै अन्तुपोखरीमा डुंगा पनि थप गरिएको छ।’

मेयर राईले अहिले नगरले नै डुंगा सञ्चालन गर्ने र निजी क्षेत्रलाई व्यवस्थापन ठेक्का दिन सकिने पनि बताए। ‘अन्तुपोखरीमा डुंगा चलाएर त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिएको हो,’ उनले भने, ‘पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्नेक्रममा नगरले अन्तुपोखरीमा पनि लगानी गरेको छ।’ पोखरीमा डुंगा सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाए।  

पोखरीमा डुंगा चल्ने भएपछि स्थानीय व्यवसायी पनि खुसी छन्। स्थानीय होमस्टे व्यवसायी रुद्र घिमिरले डुंगा चल्ने भएपनि पर्यटकीय प्रोडक्ट थपिएको बताए। ‘पहिला डुंगा चल्दा पोखरी वरपर पर्यटकको जमघट राम्रो हुन्थ्यो,’ उनले भने, ‘डुंगा चल्न छाडेपछि घटेको पर्यटकको सङ्ख्या बढ बढ्ने आशा छ।’ उनले डुंगा चढ्नकै लागि अन्तुपोखरीमा दिनहुँ सयौं पर्यटक आउनेगरेको पनि बताए।  

पर्यटकले अहिले डुंगा सयर गर्दा प्रतिचक्र ५० रुपैयाँ तिर्नुपर्छ। पर्यटकका लागि १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ। केही वर्षअघि निजी क्षेत्रले डुंगा सञ्चालन गर्दा पर्यटकको सुरक्षामा जोखिम देखिएको भन्दै सूर्याेदय नगरले डुंगा सञ्चालनको मापदण्ड तोकेको थियो। तोकिएको मापदण्डअनुसार स्थानीयले नै जिम्मा लिएर डुंगा सञ्चालन पनि गरेका थिए। तर, कोरोना महामारीका कारण लामो समयदेखि यहाँ डुंगा चल्न बन्द थियो।  

सूर्याेदय नगरले अन्तुपोखरीको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब ४० लाख रुपैयाँ खर्च गरिसकेको छ। अन्तुपोखरीनजिकै रहेको सडक र भ्युटावरलगायतमा पनि सूर्याेदयले बजेट खर्चेको छ। अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घन्टौं बिताउन थालेको व्यवसायीले बताएका छन्।  

सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ। अन्तुडाँडामा बिहान सबेरै सूर्याेदय दृश्यावलोकन गरेपछि अन्तुपोखरीमा झरेर डुंगा चढ्नेको घुइँचो हुन्छ। मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ। त्यहाँबाट करिब १३ किलोमिटरमा रहेको अन्तुडाँडामा अवलोकन गर्न लायक वस्तु धेरै छन्। सडक कालोपत्रे भएको छ। जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ। अन्तुको झुल्केघामको सिजन भदौ अन्तिममा सुरु हुन्छ। मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ। अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ। यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन्। ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु।  

अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ। यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं लाग्छ। झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ। 

भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, २–४ रात बिताउँछन् र जान्छन्। तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ। नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन्। कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन्।

प्रकाशित: २१ मंसिर २०७८ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App