४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी साधनको नयाँ अनुमतिपत्र अब इलामबाटै

इलामस्थित यातायात व्यवस्था कार्यालयले पूर्वी पहाडमै पहिलोपटक सवारी साधनको नयाँ अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र प्रयोगात्मक (ट्रायल) गराउने अनुमति पाएको हो।  

यही कात्तिक २७ देखि इलाम कार्यालयअन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी यातायाता व्यवस्था विभागबाट अनुमति पाएको कार्यालयले जनाएको छ। विभागको वेबसाइटमा नयाँ लाइसेन्सका लागि भर्नुपर्ने फाराम राखिएको छ। कुनै पनि स्थानमा बसोबास गर्ने नेपालीले अनलाइन फाराममै परीक्षा केन्द्रका रूपमा इलामको कार्यालय छनोट गरेपछि उसले यहाँबाट परीक्षा दिन पाउने कार्यालय प्रमुख छविलाल खतिवडाले बताए।

इलामसहित १ नम्बर प्रदेशका पहाडी जिल्लामध्ये धनकुटा र ओखलढुङ्गामा यातायात कार्यालय रहेपनि यी कार्यालयलाई नयाँ लाइसेन्सका लागि परीक्षा र ट्रायलको अनुमति थिएन। तर, यी कार्यालयमध्ये इलामले तीन कामका लागि अनुमति पाएको हो। ‘यो कार्यालयको सेवा इलामबासीका लागिमात्र होइन। पायक पर्ने सबै जिल्लाका सेवाग्राहीले यहाँबाट सेवा लिन सक्छन्,’ प्रमुख खतिवडाले भने, ‘पाँचथर, ताप्लेजुुङ र तेह्रथुमका सेवाग्राहीलाई समेत भौगोलिक हिसाबले अब इलामबाट सवारी साधनको नयाँ लाइसेन्स लिन नजिक भएको छ।’

यसअघि नयाँ लाइसेन्स लिन इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाबाट धाएर झापाको बिर्तामोड पुग्नुपर्ने बाध्यता थियो। २०७१ साल मंसिरमा इलाममै कार्यालय खुलेपछि भने पहाडी जिल्लाका सेवाग्राहीले सवारीको नवीकरण र नामसारीलगायतको सेवा पाएका थिए। ‘अब भने इलाममै लाइसेन्सको परीक्षा र ट्रायल दिन पाउँदा यहाँका बासिन्दालाई धेरै सहज भएको छ,’ स्थानीय युवा व्यवसायी महेश सापकोटाले भने, ‘१ देखि २ दिनसम्म धाएर झापाको यातायात कार्यालयमा लामो लाइन बसेर सेवा लिने बाध्यता र झन्झट थियो, अब हटेको छ।’

तर, इलाम कार्यालयका लागि विभागले दैनिक निश्चित कोटामा मात्र आवेदन फाराम लिने अनुमति दिएको छ। मोटरसाइकल, स्कुटर र मोपेडका दैनिक सय, स्कुटरका ४०, कार, जिप, डेलिभरी भ्यानका ३०, टेम्पो, अटो र रिक्साका २०, एस्काभेटरका २०, ब्याकहु लोडरका १५ र ट्रयाक्टरका १५ आवेदन लिन कार्यालयलाई अनुमति छ। यीमध्ये पनि कार्यालयले पहिलो चरणमा क्याटागोरी ‘ए’का मोटरसाइकल, स्कुटर र मोपेड, क्याटागोरी ‘बी’का  कार, जिप, डेलिभरी भ्यान र क्याटागोरी ‘के’मा पर्ने स्कुटरको मात्र लाइसेन्सका लागि परीक्षा लिने कार्यालयले जनाएको छ।

अनलाइनमा आवेदन दिएपछि ‘बायोमेट्रिक्स’का लागि आवेदकले कार्यालयमा सम्पर्क गर्नुपर्ने र त्यसपछि साताको ३ दिन परीक्षा सञ्चालन गरिने खतिवडाले बताए। ‘आवेदक बायोमेट्रिक्समा आएपछि उसलाई परीक्षाको मिति जानकारी दिइने छ,’ उनले भने, ‘लिखितको नतिजा आएपछि ट्रायल सञ्चालन गरिन्छ।’ उनले अनलाइन फारामको सफ्टवेयरमा केही समस्या आइरहेको र मर्मत भएपछि फाराम सुरु हुने पनि बताए।

स्कुटर र  मोटरसाइकलको लाइसेन्स लिन १६ वर्ष, हल्का सवारीका लागि १८ वर्ष र हेभी सवारीका लागि २१ वर्षको उमेर तोकिएको छ। कार्यालयमा आवेदकको रक्त परीक्षण ५० र स्वास्थ्य परीक्षण शुल्क सय रुपैयाँ निर्धारण गरिएको छ। कार्यालयमा स्वास्थ्य परीक्षणका लागि कर्मचारीको दरबन्दी नभएकाले प्रयोगशालाको छुट्टै शुल्क लाग्ने भएको हो।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार लाइसेन्सका लागि लिइने लिखित परीक्षा र ट्रायलको अङ्कमा प्रयोगात्मक पुरानो विधिबाट सय अंक निर्धारित छ। विभागको वेबसाइटमा लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न राखिएको र तीनैमध्येबाटै छानेर परीक्षामा प्रश्न सोधिनेसमेत कार्यालयले जनाएको छ। लिखित परीक्षा ३० मिनेटको हुनेछ।

सवारी चालकको लाइसेन्स परीक्षा इलाममै हुँदा पूर्वी पहाडी जिल्लाका हजारौं सेवाग्राहीले भौगोलिक हिसाबले सहज रूपमा सेवा पाउने भएपनि आवश्यक जनशक्ति चाहिँ मुख्य चुनौती रहेको कार्यालयले जनाएको छ। ‘हाल कार्यरत जनशक्ति अति न्यून संख्यामा छौं,’ प्रमुख खतिवडाले भने, ‘यस प्रकारको परीक्षा सञ्चालन गर्ने दक्षता हासिल भइ नसक्नु पनि चुनौती नै छ।’

प्रकाशित: २८ कार्तिक २०७८ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App