७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नन्कुन्नी र निर्मला प्रकरणः मुख्य अभियुक्त खुलेआम, पक्राउ गर्दैन प्रहरी

नेपालगन्जकी नन्कुन्नी धोबीको हत्या र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्तलाई राजनीतिक संरक्षण भइरहेको अधिकारकर्मीहरुले बताएका छन्। सोमबार ६ जना अभियुक्तलाई प्रहरीले सम्पर्कमा ल्याएर हिरासतमा राखे पनि मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मी भने खुलोआम हिँडिरहेका छन्।

सरकारद्वारा छानबिन समितिले बादशाहसहित अन्य अभियुक्त भनिएकालाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो। उक्त सुझावपछि सरकारले उनीहरुलाई पक्राउ गर्ने बाँके प्रहरीलाई निर्देशन दिएको थियो। तर बाँके प्रहरीले आदेश पाए पनि मुख्य अभियुक्त मानिएका बादशाहलाई पक्राउ गर्न सकेको छैन।

राजनीतिक शक्तिका कारण प्रहरीले उनलाई पक्राउ गर्न नसकेको उनीहरु बताउँछन्। पीडित परिवारले जाहेरी दिँदा पनि प्रहरीले फितलो अनुसन्धान गरेको थियो। पीडित परिवार र अधिकारकर्मीहरुले नेपालगन्ज–काठमाडौ पैदलयात्रा गरेपछि सरकारले उक्त मुद्दामा सत्यतथ्य अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले ६ जनालाई सम्पर्कमा ल्याइ हिरासतमा राखेको हो।

‘प्रहरीले शक्तिको प्रलोभनमा परेर पहुँचवाला व्यक्तिलाई पक्राउ गर्न सकेको छैन,’ महिला अधिकार मञ्चकी बाँके अध्यक्ष रुबी खानले भनिन्, ‘मुख्य अभियुक्त नै पक्राउ नगरेर कसरी अनुसन्धान हुन्छ।’ निर्मलाको नाममा रहेको करोडौ मूल्य बराबरको जग्गा हडप्न बादशाहलगायतले उनको अपहरण गरी कर्तव्य ज्यान गरेको उनको भनाइ छ। निर्मलाको श्रीमान्, दुई छोराको मृत्यु भएपछि अभियुक्तहरुले जग्गा हडप्न कूकर्म गरेको अधिकारकर्मीहरुको भनाइ छ। मुख्य अभियुक्त भनिएका बादशाह सार्वजनिक रुपमै खुलआम हिँड्ने गरेका छन्।

मुख्य अभियुक्त भनिएका व्यक्ति नै खुलेआम हिँड्दा पीडित परिवारको मनोबल कमजोर भएको पीडित परिवारहरु बताउँछन्। यता प्रहरीले भने बादशाह प्रहरीको सम्पर्कमै रहेको बताएको छ। आरोप लागेपछि बादशाह भदौमा आफैँ प्रहरीको सम्पर्कमा आएर बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेले जनाए। उक्त मुद्दामा अनुसन्धान र बयानहरु लिने काम भइरहेको उनको भनाइ छ।

‘शक्ति र पहुँचको भरमा बादशाहलाई पक्राउ नगरेको होइन,’ उनी भन्छन्, ‘हामीले बादशाहबाट बयान लिइसकेका छौं।’ यो मुद्दा प्रहरी सम्वेदनशील हिसाबले लागेको भन्दै उनले भने, ‘अनुसन्धान प्रहरीलाई सबैले सहयोग गर्नुपर्छ।’ निर्मलाको भारतमा मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्र प्रहरीले फेला पारेको उनको भनाइ छ। प्रहरीको अनुसन्धान अनुसार निर्मलाले भारतमा दोस्रो विवाह गरेको र उनको उतै मृत्यु भएको छ।

अहिले निर्मलाको नाममा रहेको करोडौंको जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी भएको छ। प्रहरीले तयार पारेका सबे डकुमेन्ट गलत भएको अधिकारकर्मीहरु बताउँछन्। पीडित परिवारले देखाउनलाई मात्र पक्राउ नगरि सत्यतथ्य अनुसन्धान गरी न्याय दिनु पर्ने बताएका छन्। निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो।

महिला अधिकार मञ्च बाँकेले निर्मला हत्या र नन्कुनी घटनाका मुख्य आरोपित बादशाह कुर्मी पक्राउ नपरेको भन्दै फेरि आन्दोलनको घोषणा गरेका छन्। २४ गतेभित्र कुर्मीलाई पक्राउ नगरिए मञ्चले २७ गतेदेखि फेरि आन्दोलनमा जाने महिला अधिकार मञ्चले जनाएको छ।

मञ्चका अनुसार यदी तोकिएको समयमा मुख्य आरोपित पक्राउ नपरेमा २७ गतेदेखि जिल्ला प्रशासन अघि धर्ना दिने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App