गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनमा मतपेटिका ढुवानी गर्ने कार्यमा नेपाली सेनाको संलग्नता नहुने स्पष्ट पारेका छन्।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सेनाले मतपेटिका ढुवानी गर्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।
मन्त्री अर्यालले एकीकृत निर्वाचन सुरक्षा रणनीतिअनुसार नेपाली सेनाको भूमिका विगतमा झैं तेस्रो घेरामा रहने जानकारी दिए।
‘बजारका हल्लाको पछि लाग्नु हुँदैन,’ उनले भने, ‘नेपाली सेनाको भूमिका एकीकृत निर्वाचन सुरक्षा रणनीतिले तोकेबमोजिम नै हुन्छ, मतपेटिका बोक्ने काम सेनाको होइन।’
निर्वाचनको वातावरणबारे बोल्दै गृहमन्त्री अर्यालले सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न पूर्ण तयारी अवस्थामा रहेको बताए।
उनले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्ने समय घर्किसकेको भन्दै निर्वाचन सुनिश्चित भइसकेको दाबी गरे।
कोशी प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिन विराटनगर आएका अर्यालले यहाँस्थित प्रदेश सुरक्षा प्रमुखहरूसँग बैठक गरेका थिए।
सो क्रममा उनले प्रदेशको समग्र सुरक्षा चुनौती र तयारीबारे ब्रिफिङ लिएका थिए।
प्रकाशित: १५ फाल्गुन २०८२ १४:५० शुक्रबार





