६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सकियो तिहार, सुरू भयो जाँत

सुदूरपश्चिममा तिहारको रमझम सकिए लगत्तै देवी देवताका जाँत (जात्रा/मेला पर्व) सुरु भएका छन्। तिहार लगत्तै सुदूरपश्चिममा कूल देवताका तिथिअनुसार पूजाआजाका साथै मठ मन्दिरमा जाँत सुरू हुने गर्छ।

तिहारको दोस्रो दिनदेखि सुरु हुने जाँतमा अहिले पुख्र्यौली घर जानेहरुको  घुइँचो लाग्न थालेको छ। पहाडबाट तराईमा बसाइँ सरेकाहरू अहिले जाँतका लागि पुख्र्यौली थलो फर्कन थालेका छन्।

जाँतका लागि पुर्ख्यौली घर डोटी जाने तयारी गरिरहेको बताउँदै धनगढीका शंकर जोशीले भने, ‘हरेक वर्ष कूलपूजा गर्न पहाड जाने गर्दछु।’ तराईमा बसोबास गरिरहेका पहाडी समुदायका प्रायः मानिस जाँतमा पुर्ख्यौली घर जाने गर्दछन्।

कार्तिक शुक्ल तृतीयादेखि देवी देवताका तिथि पर्ने भएकाले पहाडमा तिहार लगत्तै जाँत सुरु हुने गरेको पण्डित तीर्थराज ओझा बताउँछन्। ‘आ–आफ्नो देवताको तिथि अनुसार जाँत हुने गर्दछ,’ उनले भने, ‘त्यही तिथि अनुसार पर्ने जाँतमा तराई बसोबास गर्नेहरु पहाड पुग्ने गर्छन्।’

डोटीमा शैलेश्वरी, लानाकेदारेश्वरको बडिकेदार, मान्नाकापडीको दिउसेडी जाँत, भागेश्वर बरालगाउँ जाँत र अलाडी जाँत डुम्राकोट सेराकी जाँत, बासुदेवीको देउकाडाकी जाँत, तिखातरको लोलीकी जाँत, मुडभरा धुर्कोटकी जाँत फुर्सिल जाँत लाग्ने गर्दछन्। त्यस्तै यतिबेला नै अछामको डौठेगडा, बर्तादेवी, डडेल्धुराको उग्रतारा र धुरा, दार्चुला र बैतडीमा समेत ठूलो मेला लाग्ने गर्दछ। रोजगारीका लागि भारत पुगेकाहरू समेत कूलपूजा गर्न  कार्तिक पूर्णिमाका दिन अछाममा लाग्ने डौठेगडा जात्राका लागि फर्किन थालेका छन्। दशैं तिहारमा घर नफर्केकाहरु डौठेगडामा हुने जाँतका लागि फर्कने गर्छन्।

दक्षिण डोटीको प्रसिद्ध तीर्थस्थलका रुपमा रहेको बडिकेदारका लागि पनि तराईका साथै भारतको उत्तरप्रदेशबाट समेत तमामौ तीर्थालु भक्तजनहरु जात्रा भर्न आउने गर्छन्। यस क्षेत्रमा गौरा र जाँतलाई विशेष पर्वका रुपमा लिने गरेकाले पनि दशैं र तिहारमा नफर्किएका परदेशीहरु समेत जाँतमा घर फर्कने गरेको संस्कृतिविद् डा. बद्री शर्मा बिनाडी बताउँछन्। ‘दसैं तिहारमा बिदा नपाएका परदेशीहरु कूल देवताको पूजाका लागि जाँतमा फर्कन थालेका छन्,’ उनले भने, ‘सुदूरपश्चिममा गौरापछि जाँतलाई कूल पूजाका लागि बढी आस्थाका रुपमा मान्दछन्।’

कुल पूजाका लागि मात्र नभई अन्य वरदान माग्नेहरु पनि यहाँका प्रशिद्ध देवस्थलमा पुग्ने गर्छन्। डोटीकै बडिकेदार जाँतमा पनि सन्तान प्राप्त नभएका तमाम दम्पतीहरु समेत पुत्र लाभको कामना गर्दै पुग्ने गर्दछन्। यसका साथै कूल पूजाका लागि मात्रै नभई तराईका थारू समुदाय र भारतको उत्तरप्रदेशका तीर्थालुसमेत यहाँ पुग्ने गर्छन्।

डोटीकै प्रसिद्ध एवम् दैवीय शक्ति पीठका रुपमा बडिकेदारलाई मानिने भएकाले यहाँ तमामौ तीर्थालुहरु आउने गरेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द बताउँछन्।

प्रकाशित: २१ कार्तिक २०७८ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App