१९ मंसिर २०७९ सोमबार
समाज

कालापारदेखि सरकारी जागिरसम्म

देव सजन सुनार पेशाले सरकारी जागिरे हुन्। उनको वर्तमान जति सुन्दर छ,विगत त्यति ने कहालीलाग्दो छ। २१ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेका देवको जीवजनयात्रा कुनै सिनेमाको कथाभन्दा फरक छैन।

२०६३ सालमा उनले बाबा गुमाए। बाबा बितेसँगै उनीमाथि नौ वर्षकै उमेरमा जिम्मेवारी थपियो। आड र भरोसा सकियो।अभिभावकको काखमा खेल्ने उमेरमा उनले ढुंगा र बालुवासँग खेल्नुपर्‍यो।

आमा ३० वर्षको हुँदै बाबा बितेपछि एकल महिला भएकै कारण उनकी आमामाथि समाजका केही मान्छेले मुटु छेड्ने वचन लगाउथे। जुन वचन उनलाई सह्य हुँदैनथ्याे।

उनले विगत सम्झिदै भने, ‘बाबा बितेपछि हाम्रो घरमा दशैँ कहिल्यै आएन। कहिलेकाहीँ हजुरआमाको वृद्धा भत्ता आएको दिन हामी औधी खुसी हुन्थ्यौँ र एकछाक मिठो खान्थ्यौँ।’

समय बित्दै गयो। जेठो छोरो भएकाले उनीमाथि जिम्मेवारी थपियो। परिवार चलाउन उनी कामको सिलसिलामा चौध वर्षको उमेरमा उनी भारतको कालापहाड पुगे। त्यतिबेला उनी नौ कक्षामा पढ्थे।

त्यो दिन सम्झंदै सजन भन्छन्, ‘जेनतेन गाउँ नजिकैको विद्यालयमा नौ कक्षासम्म पढेँ। घरमा आम्दानीका विकल्प थिएन। त्यसकारण गाउँका ठूला मान्छेको साथमा लागेर भारतको कालापार पुगेँ। परिवार र ज्यान पाल्नकै लागि ज्यालादारीमा काम गरेँ। जीवन संघर्ष रहेछ। मैले त्यो बेला बाँच्नका लागि संघर्ष गरेँ।

कालापहाडमा ढुंगा फोरें। गिट्टी कुटेँ। पेट पाल्न परिआएको सबै काम गरेँ। तर हरेक दिन काम गरिरहँदा मलाई मेरो सपनाले पोलिरहन्थ्यो। जति दुख भए पनि मैले पढ्नुपर्छ भन्ने लागिरहन्थ्यो। म सिजनको बेला ज्यालादारी काम गर्थेँ। बाँकी महिनामा नेपाल आएर पढेँ। तीनचार महिना काम गरेर एक वर्ष खान पुर्‍याउँथे। बाँकी समय पढ्थे। मेरो लोकसेवा बाहेकको सबै रिजल्ट भारतमा नै भएको हो।’

झोलामा किताब लिएर स्कुल हिँड्ने बेलामा उनी हातमा घन लिएर जिन्दगी चलाउन थाले। कामको सिजन सकिएपछि नेपाल आएर स्कुल जान्थे। त्यसैगरी पढ्दापढ्दै उनले दोस्रो श्रेणीमा एसएलसी गरे।

एकातिर जिम्मेवारी त छँदै थियो। अर्कातिर उनले ठूलो सपना देखेका थिए। जसरी भए पनि म लोकसेवा आयोग पास गर्छु।

कक्षा एघारमा एडमिसन गरेर उनी एक महिनाजति कलेज गए। पढ्ने चाहना हुँदाहुँदै कामको सिजन सुरु भयो। त्यसपछि भारतको गुजरात गए। दशैँतिहार उतै बित्यो। कामको सिजन सकिएपछि नेपाल आएर परीक्षा दिए। उनले एघार पनि पास गरे। यस्तैगरी उनको प्लसटु पनि सकियो।

उनका आफन्त, छिमेकीहरूले उनलाई विवाह गरेर विदेश जान सल्लाह दिन्थे तर उनको यो सोच कहिल्यै आएन। जसरी पनि सरकारी जागिर खाएरै छाड्छु भन्ने संकल्प थियो उनको। नभन्दै उनी कहिल्यै विचलित पनि भएनन्।

उनले अगाडिको बाटोमा लोक सेवाबाहेक केही पनि देखेनन्। २०७५ साल जेष्ठ महिनाको ९ गते झोलामा  शैक्षिक प्रमाणपत्र र गोजीमा दुई हजार बोकी सरकारी जागिर खाने संकल्पका साथ उनी प्रदेश राजधानी सुर्खेत झरे। सुनौलो सपना देखेका उनले साथीहरूसित मिलेर खुरुखुरु पढिरहे।अभावभित्र पनि अवसर खोजेर सपना पूरा गर्न निरन्तर लागिरहे।

उनी लगभग एक वर्ष सुर्खेत बसेर तयारी गरे। २०७६ को जेष्ठ १५ गते लोकसेवाले स्थानीय तहका लागि भारी मात्रामा विज्ञापन गर्‍यो। त्यो विज्ञापनले उनलाई थप खुसी दिलायो। उनी आफ्ना साथी दिपक, दुर्गाराज,भिमहरूसित काठमाडौँ आए।

विगत सम्झदै उनले भने, ‘हाम्रा लागि काठमाडौं एकदमै बिरानो ठाउँ थियो। त्यसकारण हामी होस्टेल खोजेर बस्यौँ। होस्टेलको दाइ पनि पश्चिमकै हुनुहुँदो रहेछ। हामी चारै जना एउटै कोठामा बसेर तयारी गर्न थाल्यौँ।

काठमाडौँको होस्टलमा बस्दा कतिबेला घाम उदायो र अस्तायो केही थाहा हुँदैनथ्यो मलाई। मैले गरेको मेहनतले काठमाडौं आएको तीन महिनामै सरकारी जागिर भएँ। त्यसपछि पराई भएका मेरा सबै आफन्त र साथी नजिक भए। अहिले लाग्छ,एक्लै हिँड्न सक्ने भएपछि हात समाउने मान्छेको भीड लाग्दो रहेछ।

देव सजन सुनार अहिले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा वडा सचिव पदमा कार्यरत छन्। उनी भन्छन्, मेरो गन्तव्य यतिमै सीमित छैन। मैले देखेको सपना धेरै फराकिलो र उज्यालो छ।

मैले जिन्दगीमा अझै धेरै संघर्ष गर्नु छ। यति भन्दा उनका आँखामा बेग्लै चमक देखिएको थियो।

प्रकाशित: १३ कार्तिक २०७८ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App