राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने निस्किएपछि ललितपुरस्थित नख्खु कारागारबाट फरार भएकामध्ये ६५१ ज्ना कैदीबन्दी अझै सम्पर्कविहीन छन्। जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते लामिछाने निस्किएपछि नख्खु कारागारमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि त्यहाँबाट एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए।
कारागार प्रमुख सत्यराज जोशीका अनुसार फरार भएकामध्ये हालसम्म ५८७ जना फर्किसकेका छन्। करिब ५० जना देशभरका अन्य कारागारमा गएका छन्। ‘६५१ जना अझै फरार छन्। फरार भएका कैदीबन्दीलाई फर्किएर आउन हामीले पटक पटक सूचना जारी पनि गरिसकेका छौं,’ जोशीले भने।
यसअघि भदौ २६ गते नै कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको उनले बताए। पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार फेरि पनि सम्पर्कमा आउन भनेको कारागार प्रमुख जोशीले बताए।
विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ।
कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ।
प्रकाशित: १३ आश्विन २०८२ १९:२८ सोमबार


-600x400.jpg)


