७ वैशाख २०८१ शुक्रबार
समाज

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

डिएसपीको नेतृत्वमा छानबिन समिति गठन

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो। राना सोमबार बिहान हिरासतको शौचालयमा मृत फेला परेका हुन्। राना शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको कैलालीका प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताएका छन्।

बिहान ६ बजेतिर अर्को एक थुनवाले शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको फलामे डण्डामा झुण्डिएको अवस्थामा देखेको उनले बताए। ‘सिसि क्यामेरामा हेर्दा राना रातमा धेरैपटक शौचालय जाने, आउने गरेको देखिन्छ, बिहान ५.३२ मिनेटमा शौचालयमा उनी प्रवेश गरेपछि फर्केनन्, ६ बजेतिर अर्का थुनुवा शौचालय जाँदा उनले झुण्डिएको अवस्थामा देखे’, प्रहरी उपरीक्षक अधिकारीले भने। उनी आफ्नै सेतो गन्जी प्रयोग गरेर झुण्डिएको उनले बताए। हिरासतभित्र थुनुवा मृत फेला परेपछि प्रहरी उपरीक्षक अधिकारी टिकापुर पुगेका थिए।

जानकी गाउँपालिका १ तोरयापुरका किसान फुलुराम थारुको आईतबार बिहान भैसि चोरी भएको थियो। थारुले भैसि खोजी गर्दै जाँदा लम्की चुहा नगरपालिका ५ थापापुर स्थित झोलुंगे पुल नजिक भैसिसहित रानालाई देखेपछि प्रहरीलाई खवर गरेका थिए। थारुले उजुरी दिएकाले प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको प्रहरीले जनाएको छ।

डिएसपीको नेतृत्वमा छानबिन समिति गठन

प्रहरीको हिरासत भित्रै युवकको मृत्यु भएको घटनाको छानबिन गर्न छानबिन समिति गठन गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्। प्रहरी नायव उपरीक्षक सागर बोहराको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उनले बताए। प्रहरी हिरासत भित्र नै थुनुवाको मृत्यु कसरी भयो? के कमजोरी रह्यो? आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन के के कुरामा सुधार गर्नु पर्ने लगायतका विषयमा छानबिन समितिले छानबिन गर्ने जनाइएको छ।

प्रकाशित: २५ आश्विन २०७८ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App