coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखा दरबारमा राखिएको जमरा। तस्बिर: नागरिक

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ। ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’ दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने।  

गोरखामा रहेको अर्को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको छ। पहिल्यैदेखि मनकामनामा त्यहाँका पुजारीले आफैँ शुभ साईत निकालेर बिहान ८ः३० बजे जमरा राख्ने गर्छन। ‘विधी पुरा गरेर हामीले बिहान ८ः३० बजे जमरा राख्यौँ’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने। त्यसरी राखिएको जमरा प्रसादको रुपमा बिजयादशमीमा लगाईनेछ।

गोरखा दरबारमा पनि धार्मिक वीधिपूर्वध बिहान पाँच बजेर ४० मिनेटमा कालिकाको माथिल्लो कोठाबाट मुल पुजा कोठामा भगवतीलाई सारिएको थियो। कालिका भगवतीको मन्दिरमा दुई पाथी चार माना, गोरखनाथ गुफामा एक पाथी बाँकी उपल्लोकोट, तल्लोकोटमा जमरा राखिएको अड्डाका प्रमुख भुषालले बताए।  

‘हर्ष बढाईँ र बजागाजाका साथ जमरा राखिएको छ’ उनले भने ‘यसरी राखिएको जमरा फुलपाती भित्र्याउन हनुमान ढोका लैजाँदा होस् वा यहाँको पुजाआजा होस्, सबैमा प्रयोग हुन्छ।’ घटस्थापनाको दिनदेखि गोरखा दरबारमा पुजाआजा सुरु भएको छ। हरेक दिन बली दिईन्छ। ‘घटस्थापनाको दिन गोरखकाली र गोरखनाथमा बलि दिईन्छ’ अड्डा प्रमुख भुषालले भने।  

गोरखकाली मन्दिरमा बली सहितको पुजाआज गर्ने भक्तजन दशैँको अवसरमा धेरै हुने गर्छन। अष्टमीको दिन भक्तजनको झनै भिड लाग्छ। कोभिड १९ का कारण बिगत दुई वर्ष दशैँमा भक्तजनका लागि बली खुला गरिएको थिएन। ‘हामीले आन्तरिक बली नियमित दिईरहेका छौँ’ अड्डा प्रमुख भुषालले भने ‘यो वर्ष भक्तजनका लागि पनि खुल्ला छ।’

दरबार हेरचाह अड्डाले पञ्चमी सम्मको बली ब्यवस्थापन गरेको हुन्छ। फुलपाती सम्म बोकाको बली दिईन्छ भने अन्य समयमा विधी अनुसार बोका, सुँगुर र राँगोको बली पनि चढाईन्छ। ‘बलीको प्रकृती फेरिएको छैन, संख्या मात्रै केही कम भएको हो’ अड्डा प्रमुख भुषालले भने।  

मनकामना मन्दिरमा बोका, राँगा, हाँस, कुखुराको बली चढाईन्छ। दुई वर्षदेखि भक्तजनले बिजया दशमीको अवसरमा बली चढाउन नपाएको यस वर्ष भक्तजनको चाप बढ्न सक्ने मनकामना मन्दिरका पुजारी इन्सान थापा बताउँछन्। ‘मानिसहरुले आफ्नो भाकल नौरथाको समयमा धेरै गरेका हुन्छन्’ उनले भने ‘त्यसैलेपनि मनकामनामा घटस्थापनाको दिनदेखि चाप बढेको छ, दशैँभरी यस्तो हुन्छ।’ कोभिडका कारण लामो समयदेखि बन्द रहेको गोरखाको यी दुई धार्मिक स्थल कोभिड संक्रमण केही कम भएपछि एक महिना यता मात्रै संचालनमा आएको हो। 

प्रकाशित: २१ आश्विन २०७८ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App