१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बालविवाह रोक्न रणनीति कार्ययोजना बनाउँदै कपिलवस्तु नगरपालिका

बालविवाह रोक्न कपिलवस्तु नगरपालिकाले रणनीतिक कार्ययोजना बनाउन अन्तिम तयारी गरेको छ। कानुनीरुपमा बालविवाह गर्न नपाउने नियम रहे पनि समाजमा अझै बालविवाह कायमै रहेपछि नगरपालिकाले बालविवाह रोक्न रणनीतिक कार्ययोजना बनाएको हो। कपिलवस्तु नगरपालिकाको आयोजना तथा युएनएफपिए र नेपाल परिवार नियोजन संघको सहयोगमा तौलिहवामा आयोजित बालविवाह अन्त्यका लागि नगरस्तरीय रणनीतिक कार्ययोजना अभिमुखीकरण कार्यक्रममा सो बनाउन सुरु गरिएको हो।

सो अवसरमा उपमेयर लक्ष्मी गुप्ताले कानुनीरुपमा बालविवाह गर्न निषेध गरिए पनि समाजमा अझै बालविवाह कायम रहेको बताए। उनले नगरपालिकाको एक्लो प्रयासले मात्र बालविवाह अन्त्य हनु नसक्ने भन्दै उनले गाउँगाउँमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए। ‘बालविवाह अन्त्यका लागि गाउँ समाजमा अभियान नै चलाउनु पर्छ,’ उनले भने, ‘नगरपालिकाले बालविवाह रोक्न कार्य योजना सहितको रणनीति बनाउनमा लागेका छौं।’

सो अवसरमा सहजकर्ता रत्नकाजी बज्राचार्यले कपिलवस्तु नगरपालिकामा १६ हजार ६०५ जना बालबालिका बालविवाहको जोखिममा रहेको बताए। सो अवसरमा युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा  अझै पनि ६१ दशमलव ५ प्रतिशत बालविवाह रहेको तथ्यांक प्रस्तुत गरेका थिए। त्यसमध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन्। अधिक बालविवाह हुने १० जिल्लामध्ये कपिलवस्तु पनि बढी बालविवाह हुने गरेको महतोले बताए। नेपालमा भने ४१ प्रतिशत बालविवाह अझै कायम छ। २०७४ सालमा  बालविवाह अन्त्यका लागि ५ वर्षे रणनीतिक योजनासमेत निर्माण गरिएको थियो। सो अवसरमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुका प्रबन्धक बिष्णु ज्ञवालीले प्रथा, परम्परा र कुप्रचलले नै अझै जिल्लामा बालविवाह नरोकिएको बताए। ‘कुप्रथा कायमै छ, शिक्षामा बालिकाहरुको पहँुच पुग्न सेकेको छैन, त्यसले बालविवाह न्यूनीकरणमा ठूलो चुनौती देखिएको छ’ उनले भने।

घरमा छोरीहरुलाई कम महत्व दिने र आर्थिक विपन्नता पनि बालविवाहको कारक रहेको उनले औंल्याए। बालिका सशक्तीकरण, गुणस्तरीय शिक्षा, बालिकाहरुको सहभागिता, परिवार तथा समूह परिचालन सेवा प्रवाह र कानुन तथा नीतिको सुदृढिकरणले मात्र बाल विवाह न्युनीकरण गर्न सकिने सामुहिक छलफलमा निश्कर्ष निकालिएको थियो। सो अवसरमा बालविवाह न्युनीकरणमा सबै सरोकारवालाले चासो दिनुपर्ने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले बताए।

बालविवाहलाई कानुनले निषेध गरे पनि अशिक्षा, अज्ञानता, गरीबी लगायतका कारणले समाजमा अझै बालविवाहले जरा गाडेको उनले बताए। ‘शिक्षाको पहुँच बढाउन जरुरी छ, यसका लागि सबैले हातेमालो गर्नपर्छ’, उनले भने।

प्रकाशित: १७ आश्विन २०७८ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App