१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई राजधानीको बूढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको महाशाखाले जनाएको थियो।  

रवीन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले उनलाई गत मंसिर २२ गते एक करोड २५ लाख रूपैयाँ बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो। यस्तै रवीन्द्रकै जाहेरीको अर्को मुद्दामा अदालतले उनलाई ७५ लाख रूपैयाँ बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका थिए। सोही कसुरमा राजन श्रेष्ठको जाहेरीको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने १७ लाख रूपैयाँ र त्यसको कानुन बमोजिम हुने ब्याजसमेतको बिगो तिर्नुपर्नेमा सो नगरी फरार रहेकाले विसं. २०७५ असोज १९ गतेको फैसलाले थापालाई एक वर्ष कैद सजाय तोकेको थियो।

प्रकाशित: ५ आश्विन २०७८ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App