१६ चैत्र २०८० शुक्रबार
समाज

पुरानै अवस्थामा फर्किँदै बाँके

कोरोना भाइरसको जोखिम

कोरोना भाइरसको जोखिम कम हुँदै गर्दा पुरानै अवस्थामा फर्किँदै गरेको नेपालगन्जस्थित सेतु विक चोक । तस्बिरः गणेश/नागरिक

कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ। कोरोना भाइरसको जोखिम कम हुँदा बेलाबेला लगाएको बन्दाबन्दी (लकडाउन) जिल्ला प्रशासन कार्यालय खुकुलो बनाएपछि बाँके पुरानो अवस्थामा फर्किन थालेको हो।

अहिले यहाँ कलकारखाना, उद्योग, व्यापार व्यवसाय, यातायातका साधनसँगै विद्यालयहरु पनि सञ्चालनमा छन्। लामो समयसम्म घरभित्रै रहेका सर्वसाधारण बाहिर निस्कन थालेका छन्। होटल तथा पसलहरु र चोकचोकमा सर्वसाधारणको भीडभाड देखिन्छ। कोरोना भाइरसको दोस्रो लहरमा बाँकेमा सतप्रतिशतसम्म कोरोना संक्रमण भेटिएको थियो। कोरोना भाइरसको उच्च जोखिममा परेको बाँकेमा एकै दिन पाँच हजार जनासम्म संक्रमित भेटिएका थिए। 

पहिलो र दोस्रो चरणका बेला सरकारले लगाएको लकडाउन र स्थानीय प्रशासनले निषेधाज्ञा लगाउँदा बन्द भएका सडक, पार्क सुनसान थिए। होटल व्यवसायसँगै अन्य क्षेत्र बन्द अवस्थामा थियो। अहिले जोखिम कम भएपछि अवस्था सामान्य बन्दै गएको छ। रोजगार गुमाएका पुनः रोजगारीमा फर्किएका छन्। यातायातमा चाप उस्तै बढेको छ भने बजारमा सर्वसाधारणको चहलपहल पनि पुरानै अवस्था झल्काउने खालको छ।

जिल्लामा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गए पनि जोखिमको सम्भावना कायमै रहेकाले स्मार्ट लकडाउन गराएर लकडाउन खुकुलो पारिएको जनाएको छ। रोकथाम तथा नियन्त्रणलाई प्रधावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) एवम् जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा लकडाउन खुकुलो बनाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

लकडाउन खुकुलो बनेपछि शैक्षिक संस्था खुलेका छन्। धार्मिक चाडपर्व मनाउँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मनाउने विज्ञप्तिमा भनिएको छ। ‘कोरोना भाइरसको जोखिम कम हुँदा यहाँको अवस्था पुरानै स्थितिमा फर्किनै लाग्यो,’ नेपालगन्जका गीता सवैयाले भनिन्, ‘पुरानै अवस्थामा फर्किँदा खुसी लागेको छ। तर अझै पनि स्वास्थ्य मापदण्ड अपनाउन अपरिहार्य छ।’ 

करिब दुई वर्षसम्म थिलथिलो भएको बाँके पुरानै अवस्थामा फर्किँदा यहाँको आर्थिक स्थिति चलायमान भएसँगै विकासका गतिविधिले तीव्रता पाउने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले बताए। ‘कोरोना भाइरस जोखिमको बेला स्वास्थ्य सचेतनामूलक कार्यक्रम गरेका थियौं। जोखिम अझ बढ्ने भएकाले विकास निर्माणले गति लिन सकेको थिएन,’ उनी भन्छन्, ‘अवस्था सामान्य बन्दै गएपछि वडाको विकासले पनि तीव्रता लिएको छ।’

कोरोना भाइरसको जोखिम कम भएपछि अहिले व्यापार व्यवसाय पनि बढ्दै गएको यहाँका व्यापारीहरुको भनाइ छ। यातयातका साधनमा पनि यात्रुहरुको संख्या बढ्दो भएको यातायात व्यवसायीहरुले बताएका छन्।

बाँकेमा अहिले कोरोना भाइरसको जोखिम घट्दो भएको जिल्ला कोभिड–१९ फोकल पर्सन तेज ओलीले जानकारी दिए। ‘बाँकेमा सतप्रतिशतसम्ममा कोरोना भाइरस पुष्टि भएको थियो,’ उनले भने, ‘अहिले त ८/१० प्रतिशतसम्ममा कोरोना भाइरस संक्रमण देखिएको छ।’ यो भनेको बाँकेका लागि खुसी भए पनि शून्यमा झार्न अझै पनि स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने उनको भनाइ छ।  

पहिलो चरणमा चार हजार नौ सय ५८ जनामा कोरोना भाइरस संक्रमण हुँदा ५८ जना बाँके र ९२ जना जिल्ला बाहिरका संक्रमितको मृत्यु भएको थियो। त्यस्तै दोस्रो चरणमा १३ हजार एक सय ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। बाँकेका मात्र दुई सय ७३ जनाको मृत्यु भएको थियो। जिल्लामा ७९ जना सक्रिय संक्रमित भएको कोभिड–१९ फोकल पर्सन ओलीले जानकारी दिए। उनका अनुसार अस्पताल र आइसोलेसनमा १८ जनाले उपचार गराइरहेका छन् भने अन्य होमआइसोलेसनमा बसेका छन्।  

बदलिँदो बानी

कोरोना भाइरसको जोखिमका बेला मानिसले एकअर्कामा सामाजिक दूरी कायम गरे। मास्कको प्रयोग पनि गरे र अत्यावश्यक परेमा मात्र घरबाट बाहिर निस्किए। साथीसंगी हात मिलाउनुको साटो टाँढैबाट नमस्कार गर्ने बानी लगभग बसिसकेको थियो। तर अहिले कोरोना भाइरेको जोखिम कम भएपछि सर्वसाधारणहरु पुनः पहिलाकै बानी व्यहोरामा फर्किएका छन्। 

पहिला जस्तै साथीसंगी हुँदा दूरी कायम नगर्ने, मास्क प्रयोग नगर्ने, अंकमाल गर्ने, हात मिलाउने, पाटीलगायतका बढी भीडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ जम्मा हुने पुरानै बानीमा फर्किन थालेका छन्। जोखिम कायमै रहेको यस्तो गर्दा जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ।

प्रकाशित: २ आश्विन २०७८ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App