१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

भारतबाट ६५० मेगावाट विद्युत आयातको तयारी: उर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न लागिएको जानकारी दिएका छन्।

मन्त्री खड्काले गत वर्षको बाढीले जलविद्युत आयोजनामा पुर्‍याएको क्षति र यसले उत्पादनमा पारेको प्रभावका कारण भारतबाट विद्युत आयात गर्न लागिएको स्पष्ट पारे। उनका अनुसार पुस महिनादेखि विद्युत आयात सुरु हुनेछ।

गत वर्षको बाढीले जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएकोले उत्पादनमा कमी आएको छ। मन्त्री खड्काले यस्तो अवस्थाका बीच लोडसेडिङ हुन नदिन भारतबाट विद्युत खरिद गर्ने निर्णय भएको जानकारी दिए।

यस वर्ष नेपालभित्रकै आयोजनाबाट करिब ३५० मेगावाट थप विद्युत उत्पादन हुने अनुमान गरिएको छ। हिउँदमा कुल उत्पादन ४० प्रतिशत मात्रै हुने भएकाले पिक आवरमा समस्या समाधानका लागि विशेष कार्यतालिका बनाइएको मन्त्री खड्काले बताए।

भारतले बेलुकीको समय चार घण्टा विद्युत आपूर्ति गर्न सक्ने बताए पनि थप छलफल गरेर आपूर्ति समय दुई घण्टामा छोट्याउने प्रयास भइरहेको छ। यसै सिलसिलामा भारतका ऊर्जा मन्त्री नेपाल भ्रमणमा आउने तयारी रहेको र त्यस अवसरमा विद्युत आपूर्ति सम्बन्धी विस्तृत छलफल गरिने मन्त्री खड्काले जानकारी दिए।

बेलुकीको समयमा केही ठाउँमा लोडसेडिङ हुनसक्ने अनुमान भए पनि सकेसम्म यस्तो अवस्था आउन नदिन प्रयास भइरहेको मन्त्री खड्काले बताए। गत वर्षको तुलनामा यस वर्षको विद्युत आपूर्ति व्यवस्थामा ठूलो अन्तर नपर्ने उनको भनाइ थियो।

नेपालले यसअघि भारतबाट ९०० मेगावाटसम्म विद्युत आयात गर्दै आएकोमा यो वर्ष ६५० मेगावाट मात्रै आयात गर्न लागिएको छ। नेपालभित्रै उत्पादन थपिँदै गएकाले भारतबाट कम विद्युत आयात गर्न लागिएको मन्त्री खड्काले स्पष्ट पारे।

प्रकाशित: १ पुस २०८१ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App