१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा नाति नाता पर्ने एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानबाट एक जनाको संलग्नता भएको हुन सक्ने आशंकामा पक्राउ गरेको छ। 

‘घटनाको अनुसन्धानमा भएको प्रगतिबारे आइतबार (भोलि)सम्ममा विस्तृत विवरण दिन्छौं,’ डिएसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा स्थानीय एक जना युवालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। घटनाका सबै प्रमाण जुटाउने क्रममा रहेको हुँदा अहिले पक्राउ परेका व्यक्तिको नाम भन्न सक्दैनौं।’    

हत्या आरोपमा बौदमानका जेठा दाजुका नाती २५ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान थालेको प्रहरी स्रोतले बताएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट लोकबहादुरकै संलग्नतामा सामूहिक हत्या भएको देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘उनकै संलग्नता रहेको फेला परेका केही प्रमाणले पुष्टि गरे पनि हत्या गर्नुको मुख्य कारण खुलिसकेको छैन। अन्य २/३ जनासमेत पक्राउ परेका छन्।’ पक्राउ परेका उनीहरु सहयोगी हुनसक्ने आशंका भएकाले नियन्त्रणमा लिएर अनुसन्धान थाले प्रहरी स्रोतले भन्यो।  

घटनास्थल र पक्राउ परेका नातीको घर करिब डेढ सय मिटर टाढा रहेको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरानसहित संखुवासभाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको छ। कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ। हत्यामा ती व्यक्तिले प्रयोग गरेको रडसमेत फेला परेको प्रहरीको भनाइ छ। त्यही रडले पछाडिबाट टाउकामा प्रहार गरेर सबैको हत्या गरेको प्रहरी स्रोतले भन्यो।  

८५ वर्षीय बौदमान कार्कीको परिवारका ६ जनाको हत्या गरेर फालेको अवस्थामा गत सोमबार बिहान शव भेटिएको थियो। घरमा रहेका ७ जनामध्ये ६ जनाको हत्या हुँदा बौदमान मात्रै जीवित भेटिएका हुन्। बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो।

झापामा ८० लाख रुपैयाँमा जग्गा पास गराउने तयारी गरिरहेका बेला बौदमानको परिवारै सखाप हुने गरिएको हत्या लुटपाटका लागि भएको आशंका स्थानीय र प्रहरीको पनि सुरुआती चरणमा गरेका थिए। तर, घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेपछि हत्या आर्थिक पाटोसँग नजोडिएको पाइएको थियो। लगभग ४ लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना घरभित्रै भेटिएकाले स्थानीय र प्रहरीको प्रारम्भिक अनुसन्धानबीच मेल नखाएको प्रहरी स्रोतले बतायो।  

दुर्गम एवं विकट ठाउँमा घटनास्थल भएकाले प्रहरी टोली पुग्न समय लाग्दा घटनाको अनुसन्धान नै २४ घण्टापछि सुरु भयो। सोमबार बिहान शवहरु भेटिए पनि मंगलबार बिहानबाट मात्रै अनुसन्धान थालिएको थियो। त्यहाँमाथि निरन्तरको वर्षाले अनुसन्धानमा अवरोध पुग्यो। प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो। हत्या गरिएकामध्ये पाँच जनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ। पछाडिबाट टाउकामा हानेर हत्या गरिएको घटना र शवको प्रकृति हेर्दा देखिएको छ। ६ जनाको हत्या हुँदा पनि धारिलो हतियार प्रयोग गरेको पाइँदैन।  

पार्वता कार्कीको शव घरभित्रै थियो। तर बेलाबेला बेहोस हुने समस्या रहेकी उनलाई घरबाहिर लडिरहेको देखेपछि स्थानीयले उठाएर भित्र ल्याएको पाइएको छ। गम्बुट लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको थियो। कमला र रञ्जनाको शव घर नजिकको खोलामा तथा दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७८ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App