२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश २ः आफन्तबाटै असुरक्षा

मंगलबार हत्या गरिएका धनुषा मिथिलाविहारी ५ ललियाकी अम्रिकादेवीका माइती पक्ष बिलौना गर्दै। तस्बिर: नागरिक

प्रदेश २ को धनुषा जिल्ला मिथिलाविहारी नगरपालिका–५ ललिया गाउँमा एक युवकले आफ्ना बुवा र श्रीमतीको हत्या गरेको छ। ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ३० वर्षीय भागेश्वर कुमार मण्डल पक्राउ परेका छन।

प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको एसपी प्रकाश रानाभाटले बताए। घटनाको जानकारी आउने वित्तिकै प्रहरीले आरोपी भागेश्वरलाई पक्राउ गरेको उनले बताए।

भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको हो। भागेश्वर करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए। ‘प्रारम्भिक जानकारीअनुसार घरमा विवाद हुँदै आएको भन्ने छ’ एसपी रानाभाटले नागरिकसँग भने,‘अनैतिक सम्बन्धको कुराहरु पनि आइरहेको छ, हामी सबै पाटो केलाउँदै छौं।

आरोपीका काका नाता पर्ने चन्द्रहंश मण्डलका अनुसार आँपको बगैचामा खोजतलासको क्रममा रगत र आलै माटो देखेपछि भागेश्वरलाई समातेर सत्य बताउन भन्दा घटना स्वीकारेका थिए। उनी हमेशा नशामा मातिएका हुन्थे चन्द्रहंशले भने,‘मंगलबार बिहान घटनास्थलमा समेत उनी नशामा मदहोस थिए।’ भागेश्वरले हाम्रो अगाडि बुवा र श्रीमतीको हत्या आफैले गरेको स्वीकारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको चन्द्रहंशले भने। सोमबार राती नै दुबै जनालाई मारेर खाल्डो खनी गाडेको भागेश्वरले प्रहरी समक्ष वयान दिएका छन्।

घटना अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार आरोपितले घटना स्वीकार्दै घरायसी विवादका कारण हत्या गरेको वयान दिएका छन। सोमबार राती १२ बजेतिर लठ्ठी र घाँटीमा डारीले बाँधेर मारी घर नजीकै रामकिशुन मण्डलको आँप बगैचामा गाडेको भागेश्वरले प्रहरी समक्ष वयान दिएको डीएसपी बस्नेतले बताए।  बुबालाई खेत खन्ने फरुवा र बाँसको लठ्ठीले हिर्काएर हत्या गरेको र पत्नीको घाँटी कसेर हत्या गरेको भागेश्वरले प्रहरीसमक्ष बयान दिएका छन्।

२०७३ सालमा भागेश्वर र अम्रिकादेवीबीच विबाह भएको थियो। उनीहरुको तीन वर्षीय छोरा र चार वर्षीया छोरी छिन्। घटनापछि गाउँमा त्रास र आक्रोशको माहोल छ। पछिल्लो समय प्रदेश २ मा आफन्तबाटै अपराधका घटना घटेको देखिन्छ। दुई महिनाअघि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा देबर र बुवा पक्राउ परेका थिए। सुजिताका शव सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा फेला परेको थियो। सुजिताको हत्या आरोपमा उनकै बुवा कामेश्वर पाण्डे र देवर रूपेश ठाकुरमाथि प्रहरीले मुद्दा चलाएको छ। परपुरुषसँग सम्बन्ध राखेकोले इज्जत छोप्न ससूराली पक्षले उनको हत्या गरेको र माइति पक्षले घटनालाई दुरुत्साहन गरेको प्रहरीको भनाई छ।  

प्रदेश २ का डीआजी उमेश रञ्जीतकारका अनुसार अपराधका घटना बढेको यथार्थ हो। घटना न्युनिकरण गर्न घटित घटनाको सफल अनुसन्धानै मुख्य विधि भएको उनले बताए। यस प्रदेशमा अपराधका घटनामा यो विधि बढोत्तरी कि भैरहेको छ भने यकीन गर्नै सकिएको छैन उनले भने,‘तथ्यांक विश्लेषण गरेर जर कारण पत्ता लगाउन सकिएको छैन।’

अपराधका घटनमा बृद्धि हुन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रदेश प्रमुखहरुलाई मधेस भवन बोलाएर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन। बैठकमा सुरक्षा निकायका प्रदेश प्रमुखहरुले प्रदेशको सुरक्षा अवस्थाबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।  

बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरु, प्रदेश प्रहरी प्रमुख डीआजी उमेश रञ्जितकार, सशस्त्र प्रहरी डीआइजी चन्द्रप्रकाश गौतम , धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , नेपाली सेनाकाका निमित बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल सहभागी थिए।

प्रकाशित: ९ भाद्र २०७८ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App