२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

महाकाली तुईन प्रकरणः ड्रोन उडाएर खोज्दा पनि जयसिंह धामी फेला परेनन्

छानबिन समितिले अझै प्रतिबेदन बुझाएन

व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन। 

साउन १५ गते वैदेशिक रोजगारीको खोजीमा जान तुईन तरेर महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसवीका जवानले पारीपट्टी टुडीको रुखमा बाँधेको तुईनलाई फुकालिदिँदा जयसिंह धामी महाकाली नदीमा बगेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका थिए।

प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको प्राविधिकद्वय प्रहरी नायव निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोलीले ड्रोन उडाएर धामीको खोजी गरेको थियो। भारत पक्षले ड्रोन उडाउन सहमति नदीएकाले ड्रोन नेपाल तर्फको भूमिमा मात्र उडाएर खोजी गरिएको छ। दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ डिएम प्रशासनलाई जयसिंहको खोजीका गर्न ड्रोन उडाउने सहमतिका लागि पत्राचार गरेको थियो तर डिएम प्रशासनले जवाफ नदिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए। भारतले सहमति नदिएपछि नेपालतर्फको भूभागमा ड्रोन उडाएर खोजी गरिएको उनले बताए।

नदीमा बगेर बेपत्ता भएकै दिनदेखि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीले नदीको किनार छेउछाउमा खोजी गरेका थिए। नेपाल र भारत दुवैतर्फ रहेका ठूल्ठूला चट्टानको बीचमा महाकालीको खोंच भएका धेरै ठाउँ रहेकाले त्यहाँ कतै अड्किएर रहेको हुन सक्छ कि भनेर ड्रोनबाट खोजी गरिएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। घटनास्थल मालघाटबाट सदरमुकाम खलंगासम्म महाकाली नदीमा नेपाल तर्फबाट ड्रोन उडाएर खोजी गरिएको उनको भनाई छ। 

‘मालघाटबाट महाकाली नदीमा सदरमुकामसम्म ड्रोन उडाएर खोज्न ५ दिन लाग्यो’, उनले भने। करिव ३५ किलोमिटर महाकाली नदीमा ड्रोन उडाएर खोजी गरिएको उनले बताए। दुवै तर्फ सय/सय मिटर उचाईका चट्टानका बीच महाकाली नदीका धेरै खोंचहरु रहेको र त्यहाँ पनि खोजिएको उनले बताए। सदरमुकाम खलंगासम्म पनि धामी नभेट्टिएपछि सदरमुकामभन्दा तल तिर दत्तु,पंचेश्वर लगायत बैतडी, डडेल्धुरा तिरका भागमा पनि ड्रोन उडाएर खोज्ने तयारी भैरहेको उनले बताए।

भारत पक्षले तुईन फुकालेर जय सिंह बगाउने एसएसवीलाई कारबाही गरेर पीडितलाई न्याय दिनुको सट्टा जय सिंहको खोजी गर्न ड्रोन समेत उडाउन सहमति नदिएर असहयोग गरेको छ। भारतले सहमति नदिँदा जय सिहंको खोजी गर्न ड्रोनलाई महाकाली नदीको दुवै तर्फको भागमा उचाईमा उडाउन नसकिएको एक प्रहरी अधिकारीले बताए। 

जय सिंहको शव भएपनि फेला परेमा ठूलो प्रमाण हुने भएकाले उनको खोजीलाई बिशेष महत्व दिइएको छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले बताएका छन्। उनी फेला नपरेपछि आफन्तले कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्तेष्टी गरिसकेका छन् भने साउन २९ गते शुक्रबार उनका आफन्तले हिन्दूसंस्कार अनुसार उनको पन्ध्रौ पुण्यतिथी गरेका छन्। नेपाल सरकारले अहिलेसम्म एसएसवीले तुईन फुकालेको घटनाबारेमा सार्वजनिक रुपमा केही नबोलेको स्थानीयको गुनासो छ।  

छानबिन समितिले अझै प्रतिबेदन बुझाएन

एसएसवीले तुईन फुकालेर जय सिंह महाकाली नदीमा बगेको घटनाको छानबिन गर्न गठित छानबिन समितिले अझैसम्म प्रतिबेदन बुझाएको छैन। साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक शुरेसकुमार श्रेष्ठ, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेको ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। १० दिनको म्याद दिइएको समितिको ७ दिन म्याद थप गरिएको थियो। 

थप म्याद पनि मंगलबार सकिँदैछ। छानबिन समितिले सूचना, तथ्य संकलन गर्ने कार्य नसकिएकाले अझै म्याद थप गर्न गृह मन्त्रालयमा अनुरोध गरेको संयोजक गौतमले बताए। ड्रोनबाट जयसिंहको खोजतलास भैरहेको, अन्य सूचना, तथ्य संकलनको काम पनि अझै बाँकी रहेकोले छानबिन प्रतिबेदन तयार हुन नसकेको उनले बताए। ‘संवेदनशिल बिषय भएकाले हतार हतार गरेर भएन, सूचना, तथ्य संकलन गर्ने काम अझै भैरहेकाले छानबिन निष्कर्षमा पुगेर प्रतिबेदन तयार गर्न अझै समय लाग्छ’, उनले भने।

मलघाटमा तुईन फुकालेर जयसिंह नदीमा बेपत्ता भएदेखि एसएसवीले तुईन लगाउन नदिँदा मालघाटमा ओहोरदोहोर बन्द भएको छ। ओहोरदोहोर बन्द हुँदा सदरमुकाम पुगेर घर फर्कन ३ दिन लाग्ने भएकाले व्यास गाउँपालिका वडा नं २ माल गाउँमा खाद्यान संकट चुलिएको स्थानीयले बताएका छन्। 

प्रकाशित: ३२ श्रावण २०७८ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App