२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन्। उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले यस्तो आदेश कहिल्यै नदिएको र दिन नसक्ने बताएका हुन्।

उक्त घटनाबारे सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष ओलीले घटनापछि तत्कालै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको बताए। घटनामा ज्यान गुमाएका १९ जना नानीबाबुहरूप्रति अध्यक्ष ओलीले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले उक्त घटना आफ्ना लागि पनि गहिरो पीडाको विषय बनेको बताए।

सरकारले प्रारम्भमा घुसपैठको सम्भावना देखेर माइतीघरमा प्रदर्शन रोक्ने निर्णय गरे पनि शान्तिपूर्ण सभाका लागि युवाले अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको अध्यक्ष ओलीको भनाइ छ। माइतीघरमा बिहान सुरु भएको जेनजी युवाको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण रहेको र त्यहाँ न गोली चलेको न लाठीचार्ज भएको उनले स्पष्ट पारे।

करिब मध्याह्नतिर केही घुसपैठकारी समूहले प्रदर्शनकारी युवालाई घेरेर निषेधित क्षेत्रतर्फ लैजान थालेको अध्यक्ष ओलीको दाबी छ। आयोजकले पटकपटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा बालबालिका तथा विद्यालय पोशाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लगेको उनको भनाइ छ।

अध्यक्ष ओलीका अनुसार संसद् भवनअघि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’को नभई ‘राज्यविरुद्धको आक्रमण’को तहमा पुगेको हो। संसद् भवनभित्र सुरक्षा निकायमाथि प्रत्येक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग गर्नुपरेको उनले बताए।

अध्यक्ष ओलीले लेख्छन्, 'यदि सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए के हुन्थ्यो? संसद् भवन जलेको भए देशले कस्तो क्षति भोग्नुपर्थ्यो?' विस्फोटक सामग्रीसहित आएका समूहहरूको उद्देश्य अराजकता फैलाउने रहेको कुरा पछिल्ला घटनाले पुष्टि गरेको अध्यक्ष ओलीको भनाइ छ।

भदौ २४ गते भएको विध्वंशतर्फ सङ्केत गर्दै उनले आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरमा आगजनी भएको स्मरण गराएका छन्।

प्रधानमन्त्रीले विश्वका सबै देशमा प्रमुख संवैधानिक अङ्गहरूको सुरक्षा कानुनअनुसार हतियारसहित गरिने उल्लेख गर्दै सुरक्षाकर्मीले सरकारको होइन, कानुनको सपथ लिने बताए। त्यस दिन पनि गोली सरकारको आदेशमा नचलेको उनको स्पष्टीकरण छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्‍यायो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताएका छन्।

प्रकाशित: १५ माघ २०८२ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App