१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा हिउँदे वर्षा

संघीय राजधानी काठमाडौंमा बुधबार पहिलो हिउँदे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले साँझ निकालेको मौसम बुलेटिनअनुसार काठमाडौंमा २ दशमलब २ मिलिमिटर वर्षा भएको छ।

विभागका अनुसार बुधबार सबैभन्दा बढी डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ। डडेलधुरापछि वीरेन्द्रनगरमा धेरै वर्षा भएको छ। वीरेन्द्रनगरमा १६.१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै जुम्लामा ८.५ मिलिमिटर र दाङको घोराहीमा ११.२ मिलिमिटर वर्षा भएको छ। नेपालको पूर्वी क्षेत्रमा बुधबार वर्षा भएको देखिन्न।

‘पश्चिमी क्षेत्रमा २ दिनअघि पहिलो हिउँदे वर्षा भए पनि काठमाडौंमा बुधबार पहिलो हिउँदे वर्षा भएको छ’, वरिष्ठ मौसमविद् सुदर्शन हुमागाईंले भने। उनका अनुसार गत साल काठमाडौंमा हिउँदे वर्षा भएको थिएन। काठमाडौंमा बुधबार अधिकत तापक्रम १५.८ र न्यूनतम तापक्रम ७ं५ डिग्री मापन गरिएको छ।

विभागका अनुसार अबको २४ घण्टा तराईका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा आंशिक बदली, हल्का हिमपात÷वर्षाको सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने हुनाले सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। मौसमविद्ले डिसेम्बर, जनवरी, फेब्रुवरी चिसो हुने र त्यसमा पनि जनवरी सबैभन्दा बढी चिसो हुने बताएका छन्।

उनीहरूका अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। गर्मीयाममा भने हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि पुग्छन्।

प्रकाशित: १५ माघ २०८२ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App