१६ चैत्र २०८० शुक्रबार
समाज

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

कैलालीको भजनीस्थित काँडा गाउँमा देखिएको मगर गोही । तस्बिरः नगारिक

दृश्य–१  

भजनी नगरपालिका–३ काँडा गाउँमा शुक्रबार दिउँसो मगर गोही देखियो। आहारा खोज्दै मोहना नदीबाट गाउँ पसेको मगर गोहीलाई स्थानीयले उद्धार गरी पुनः मोहना र पथरैया नदीको दोभानमा लगेर छोडिदिए। आहाराको खोजीमा गाउँमै पुगेको यो पहिलो घटना हो।  

दृश्य–२  

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुग्यो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरह्यो। त्यस्तै सोही समयमा कैलालीकै लम्कीचुहा नगरपालिकाको वन क्षेत्रमा पनि बाघ घुमिरह्यो। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा बाघले केही दिन विताएको थियो। यस्तै सोही समयमा कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि बाघ देखिएको थियो।  

दृश्य–३  

विगत एक महिनादेखि कैलालीकै मसुरिया क्षेत्रमा डमरु हुर्काउन पोथीबाघ आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ दुई डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्ग हुँदै सहायक मार्ग मसुरिया आइपुगेको हो। 

दुई डमरुसहित पोथी बाघ विगत एक महिनादेखि मसुरिया–राजीपुर क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ। ‘विगत एक महिनादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मसुरिया क्षेत्रको सामुदायिक वनमा आइपुगेको छ,’ सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘यहाँ पनि उसले स्थान परिवर्तन गर्दै कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै बाघ डमरुसहित डुलिरहेको छ।’  

  

यी तीन वटा दृश्यले पनि के प्रष्ट पारेको छ भने पछिल्लो समयमा कैलालीको पर्यावरणीय क्षेत्र सप्रिँदै गएको छ। जलचरका साथै वन्यजन्तु देखिन थालेपछि विग्रिएको कैलालीको पर्यावरण सप्रिन थालेको संकेत देखिएको विज्ञहरु बताउँछन्। ‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’ 

जलचरका लागि आवश्यक आहारा र सुरक्षित वासस्थान भएकाले पछिल्लो समयमा जलचर डुल्दै कैलालीका नदी तथा खोलासम्म पुग्न थालेको उनी बताउँछन्। ‘कैलालीको जल प्रदूषित छैन,’ उनले भने,‘सफा पानी भएका कारण पनि जलचल कैलालीलाई सुरक्षित मान्दै पछिल्ला केही वर्षयता देखिन थालेका छन्।’  

जलचर मात्रै नभई स्थलचर पनि कैलालीमा देखिन थालेका छन्। पछिल्लो समयमा जलचरसँगै स्थलचर प्राणीहरु पनि कैलालीमा देखिनु भनेकै यहाँको पर्यावरणमा सुधार आएको संकेत मान्न सकिने विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट बताउँछन्। ‘कैलालीमा एकपछि अर्को गर्दै वन्यजन्तु देखिन थालेका छन्,’ उनले भने,‘वन्यजन्तु देखिनु पनि वनको हैसियत सुध्रदै गएको मान्न सकिन्छ।’ 

वन्यजन्तु देखिँदाखेरी यहाँ बाघले पनि आफ्नो वासस्थान बनाउन थालेको छ। बाघले पनि आफ्नो लागि पर्याप्त आहाराको संकेत देखेकाले यही वरपर देखिन थालेको बताउँदै सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘कैलालीको केही सामुदायिक वनमा बाघ देखिनु पनि पर्याप्त आहारा भएकै कारण वनको अवस्था सुधारा भएको मान्न सकिन्छ।’ पछिल्लो समयमा मसुरिया क्षेत्रमा दुई वटा डमरुसहित बाघ घुमिरहेको छ। वसन्ता जैविक मार्ग क्षेत्रमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि डमरुसहित बाघ त्यो क्षेत्रमा आएको हुनसक्ने बताउँदै उनले भने,‘मसुरिया क्षेत्रमा पर्यावरणको अवस्था सुध्रिनुका साथै पर्याप्त आहारा भएकाले पनि यो क्षेत्रलाई बाघले सुरक्षित बासस्थानका रुपमा लिएको हुन सक्छ।’  

बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनी बताउँछन्।

‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता क्षेत्रबाट मसुरिया क्षेत्रका सामुदायिक वनमा आएको हुनसक्छ,’ अध्यक्ष सापकोटाले भने,‘बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरुलाई भाले बाघबाट बचाउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा बाघ मसुरिया क्षेत्रमा आइपुगेको हुनसक्छ।’

अहिले डमरुसहित बाघ शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुरास सामुदायिक वन, हरियाली वसन्त सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाले बताए। पूर्व पश्चिम राजमार्गसँग जोडिएका यी सामुदायिक वनमा अहिले उपभोक्ताहरुलाई नजान पनि सूचित गरिएको उनी बताउँछन्। उनले भने,‘यो समयमा उपभोक्ताहरु जंगली साग खोज्न भन्दै जंगल जाने भएकाले त्यहाँ नजान हामीले सूचित गरेका छौँ।’

पछिल्लो समयमा कैलालीको वन क्षेत्रको हैसियत सुध्रिएका कारण पनि यहाँ एकपछि अर्को गर्दै जलचर तथा स्थलचर प्राणीहरु देखिन थालेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट बताउँछन्।

प्रकाशित: ३० श्रावण २०७८ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App