२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

जेनजी प्रदर्शनका क्रममा नवलपुरमा ५८ करोडको क्षति

फाइल तस्बिर

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब रु ५८ करोडको क्षति भएको छ।

प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु ५८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो। 

जिल्लास्थित सरकारी कार्यालयका एउटा चारपाङ्ग्रे सवारीसाधन र चारवटा मोटरसाइकल, तीनवटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका नौवटा मोटरसाइकल, पाँचवटा चारपाङ्ग्रे सवारीसाधन र सातवटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

उनका अनुसार स्थानीय तहका नौवटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ। यस्तै, दुईवटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा तीनवटामा आंशिक रूपमा क्षति पुगेको छ। निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ।  

जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, पाँचवटा आंशिक तथा चारपाङ्ग्रे सवारीसाधनतर्फ चार-चारवटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ। प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा पाँचवटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

जिल्लामा दुईवटा प्रहरी इकाइ, तीनवटा प्रहरी बिट र गण्डकी प्रदेशअन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ। यस्तै, तीनवटा पालिका कार्यालय र छवटा वडा कार्यालयमा आगजनी भएको उनले बताए। 

आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ। यसैगरी आइएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ। आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०८२ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App