जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन भएको छ । संयुक्त सचेत दलित संघर्ष समितिले जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन आइतबार गोरखाको सदरमुकामा प्रदर्शन गरेको हो ।
‘जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, आवाज उठाऊ युवाहरु, हामी नबोले को बोल्ने, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने’ जस्ता नारासहित प्रदर्शनमा सहभागीले प्लेडकार्ड बोकेका थिए ।
जातकै आधारमा हुने विभिन्न प्रकारका सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, लैङ्गिक, धार्मिक, सांस्कृतिक क्षेत्र एवं अन्य रुढीग्रस्त कुसंस्कार उच्च विकासको चरणमा अघि बढिरहेको वर्तमान अवस्थामा समेत देखिएकाले विरोध कार्यक्रम गरिएको अभियन्ता आनन्द नेपालीले बताए ।
‘उच्च जातका भनिएका समाजका केही व्यक्तिद्वारा सिंगो दलित समुदायमाथि सामाजिक, सांस्कृतिक र अन्य कुनै रुपमा छुवाछुत तथा दमन गर्ने जस्ता कार्य बढेको छ । जातीय विभेद हट्न सकेन, अब जागौं सहने होइन भनेर दबाबमूलक विरोध कार्यक्रम गरिएको हो’, उनले भने ।
काठमाडौंमा सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको तथा भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु सेवा कार्यालयबाट खटिएका कर्मचारीलाई तल्लो जातको भन्दै खोप लगाउने जस्तो संवेदनशील कार्यमा विभेद गरिएको लगायतका प्रतिनिधिमूलक घटनाले सिंगो राज्यको नीति तथा दलित समुदायप्रतिको राज्यको धारण के छ भन्ने सवालमा समेत चुनौती देखिएको संघर्ष समितिको भनाइ छ ।
विरोध कार्यक्रमको संयोजन युवा अभियान्ता सुमित्रा मङ्ग्राती र आसा उपरकोटीले गरेका थिए ।
प्रकाशित: १४ असार २०७८ ०६:२६ सोमबार





