८ वैशाख २०८१ शनिबार
समाज

फोटो खिच्न खोज्दा जंगली हात्तीको आक्रमणबाट मृत्यु

मोरङको सुनबर्षी नगरपालिकामा शुक्रबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।  

सुनबर्षीको कुरेलीमा भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ७ बजेतिर कुरेलीमा हात्ती देखापरेपछि स्थानीयहरु भेला भई होहल्ला गर्दै धपाउन थालेपछि रिसाएर आक्रमक हुँदै गाउँतिर आई आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

त्यसक्रममा भाग्न खोजेको हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण भएको र घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिहान पौने ९ बजेतिर मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।  

फोटो खिच्ने धुनमा रहेका उनले हात्ती नजिकै आएको थाहा पाउन सकेनन् । छेउमै आइपुग्दा पनि वरपर हिलो भएका कारण छलिएर भाग्ने मौका नपाउँदा हात्तीको आक्रमणमा परेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी नाका हुँदै हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको थियो । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीको आक्रमणबाट बिहीबार चार जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।  

मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनबर्षीमा मानवीय क्षति गरेको डिएसपी राईले बताए । स्थानीय र प्रहरीले धपाएपछि हात्ती त्यहाँबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ असार २०७८ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App