८ वैशाख २०८१ शनिबार
समाज

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

नेपालगन्जको सडक सफा गर्दै सफाइकर्मी। तस्बिर: नागरिक

कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै जाँदा नेपालगन्जका सडक सफाइ कर्मचारी रामदीप चौधरीलाई एउटै चिन्ता थियो, ‘यस्तो जोखिममा कसरी काम गर्ने।’ असुरक्षित भए पनि उनले दैनिक काम त गर्नु नै थियो। कामबाट पन्छिएर उनी परिवार र आफ्नो पेट पनि भोको राख्न सक्दैनथे। ‘जागिर नभए परिवार रहँदैन्थ्यो,’ उनले भने।

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।  

‘कामको प्रकृति हेरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैलाई सरकारले नै सुरक्षा सामग्री वितरण गरेको छ,’ उनले भने, ‘हामीलाई मास्क र एउटा स्यानिटाइजर मात्रै दिइएको थियो।’ सरकारले दिएको उक्त सामग्री केही दिनमै सकिएपछि उनीहरू घरायसी सामग्रीको भरमा काम गरिरहे।  

सरसफाइकर्मी जोखिममा रहेको र उनीहरूलाई सुरक्षित राख्नका लागि नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा जिआइजेडको आर्थिक सहयोग तथा एमडिएम फ्रान्स (विश्वका चिकित्सकहरू) को प्रविधिक सहयोगमा सञ्चालित एमडिएम फ्रान्सले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेपछि निकै सहज भयो। स्वास्थ्य सुरक्षाका सामग्री पाएपछि सफाइ कर्मचारी खुसी भएका छन्। जोखिमबीच काम गरिरहेका आफूहरूलाई सामग्रीले सुरक्षित बनाएको अर्का सफाइकर्मीको भनाइ छ।

निषेधाज्ञामा पनि सरसफाइ अपरिहार्य रहे पनि काम गर्ने कर्मचारीले पूर्णरूपमा लगाउनु पर्ने सुरक्षा सामग्रीको प्रयोग नगरेको वा अति न्यून भएको देखिएपछि आफूहरूले उपमहानगरपालिकासँगको समन्वयमा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको एमडिएम फ्रान्स नेपालगन्जका कार्यक्रम प्रबन्धक वसन्त थापाले बताए।  

हाल कोरोना भाइरसद्वारा कुनै एक व्यक्ति संक्रमित भयो भने उसलाई मात्र होइन, उसको परिवार, उसका सहकर्मी, काम गर्ने कार्यालय, समाज, देश र सम्पूर्ण विश्व नै जोखिमा पर्न सक्ने रहेछ भन्ने सिकाएको छ। तसर्थ प्रत्येक व्यक्ति सजग र सुरक्षित हुन उत्तिकै आवश्यक रहेको कार्यक्रम प्रबन्धक थापाको भनाइ छ।

उपमहानगरपालिकाभित्र काम गर्ने ३ सय ७० जना सरसफाइकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए। उक्त सुरक्षा सामग्रीमा तीन सेट पुनः प्रयोग गर्न मिल्ने पिपिई (ज्याकेट र ट्राउजर), दुई सेट प्वाल नपर्ने बुट, टोपी, ३ सय ५० थान मास्क, पाँच थान प्वाल नपर्ने पन्जा, सेनिटाइजर, तौलिया, नुहाउने साबुन, कपडा धुने साबुन, क्लोरिन, महिलाका लागि सेनिटरी प्याड र पुरुषका लागि कन्डम रहेको कार्यक्रम प्रबन्धक थापाको भनाइ छ।  

सुरक्षा सामग्री प्रदान गर्नुपूर्व गत वर्ष सम्पूर्ण सरसफाइकर्मीलाई तालिमको रूपमा उक्त सामग्रीको प्रयोगबार जानकारीसमेत दिइएको थियो। साथै हालको कोरोना महामारी वा यस्ता रोगबाट बच्ने तरिका र सरसफाइको काममा हुने जोखिमलाई न्यूनीकरणका लागि गर्न सकिने उपायको पनि जानकारी दिइएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App