७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउँदै गाउँपालिका अध्यक्ष जंगबहादुर शाही।

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

‘कोरोना संक्रमणबाट गाउँपालिकाका कुनै नागरिकको मृत्यु भएका परिवारलाई ५० हजार नगद किरिया खर्च उपलब्ध गराउने निर्णय भएको छ,’ गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘हालसम्म मृत्यु भएका दुई जनाको परिवारलाई ५०–५० हजार रुपैयाँ किरिया खर्चबापत हस्तान्तरण गरेका छौं।’

कोरोना संक्रमणबाट गाउँपालिकाका हालसम्म कार्यपालिका सदस्य इन्द्रबहादुर सुनार र जस्मा शाहीको मृत्यु भएको छ। ‘मृतक दुबैको घरमा पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘योसँगै कोरोना संक्रमितहरुको निःशुल्क उपचार पनि गाउँपालिकाले गर्दै आइरहेको छ।’

अध्यक्ष शाहीका अनुसार गाउँपालिकामा हाल ५६ जना कोरोना संक्रमितहरु छन्। उनीहरुलाई निःशुल्क औषधि र थप उपचारका लागि बाहिर लिनुपर्ने अवस्था आए एम्बुलेन्सको व्यवस्था पनि गाउँपालिकाले नै गर्ने गरेको छ। ‘महामारीको समयमा नजिकको स्थानीय सरकार जनतासँगै छ भन्ने सन्देश दिनका लागि पनि यो कार्यक्रम प्रभावकारी भएको छ,’ उनले भने, ‘कोरोनाको उपचारका कुनै पनि नागरिकहरुले व्यक्तिगत खर्च गर्नुपर्दैन्।’

होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई नजिकको स्वास्थ्य संस्थामार्फत आवश्यक औषधि र स्वास्थ्यका सामग्रीहरु उपलब्ध गराउने गरिएको उनले बताए। ‘अस्पताल पुर्‍याउनुपर्ने विरामीलाई दैलेख अस्पताल र सुर्खेतको प्रदेश अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं,’ अध्यक्ष शाहीले भने, ‘कोरोना चेकजाँचलाई पनि गाउँस्तरसम्म पुर्‍याएका छौं।’

प्रकाशित: १३ जेष्ठ २०७८ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App