१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रोल्पामा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद

शनिबार बरामद गरिएका म्याग्जिन र गोली ।

रोल्पामा सुरक्षा निकायले ठूलो परिमाणमा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद गरेको छ। त्रिबेणी गाउँपालिका ३ रामपुरस्थित सामुदायिक वन नजिकै रहेको बास घारीमा प्लास्टिकमा पोको पारी बासको पातले छोपेर लुकाई राखेको अवस्थामा ठूलो परिमाणमा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद भएको हो।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो। त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको हो।

उक्त स्थानमा हतियार रहेको गोप्य सूचना रोल्पास्थित बटुक दल गणले प्राप्त गरेपछि सेना हुँदै जिल्लाको सुरक्षा निकायसम्म खबर आएको थियो। सेनाका अनुसार दक्षिण रोल्पाको दहबनस्थित रहेको बटुक दलको गुल्मसम्म गोप्य सूचना आएको थियो। ‘हामी कहाँ सूचना आएको थियो। त्यहि आधारमा हामीले हतियार बरामद गरेका हौ,’ बटुक दलका गणपती अरुण श्रेष्ठले भने, ‘यो विषयमा थप अनुसन्धान हुँदैछ।’  

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बरामद गरिएका हतियार धेरै पुरानो नभएर नयाँ जस्तो देखिएको बताएका छन्। ‘हतियार ओसार पसारका क्रममा लुकाएको हुन सक्छ। सबै नयाँ नै छन्।’ उनले भने, ‘यि द्वन्द्वकालीन अवस्थाका हतियार होइनन्। कसरी आयो भन्ने बारे अनुसन्धान गर्ने, एरिया सर्च गर्ने काम भई रहेको छ।’

रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ। गत साल असोजमा पनि नेपाली सेनाले रोल्पाको एउटा गाउँबाट ठूलो परिमाणमा हतियार बरामद गरेको भए पनि राजनीतिक प्रेसर भन्दै सार्वजनीक गरेको थिएन।

प्रकाशित: ८ जेष्ठ २०७८ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App