१६ चैत्र २०८० शुक्रबार
समाज

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई। समस्या र डरलाग्दा खबरमात्र हेन देशको आर्थिक अवस्था पनि उस्तै डरलाग्दो छ। अन्य आम्दानी नभएको कारणले कोठामा बस्ने मान्छेहरूले तत्कालै भाडा तिर्नसक्ने अवस्था छैन। ‘यो समय त सबैले आफ्नो ज्यान जोगाउने समय हो। सबैजना मिलेर बस्नुपर्छ । यस्तो बेलामा जबरजस्ती भाडा माग्न आफ्नो नैतिकता र चेतनाले दिदैँन।’

तर, यति भन्दैमा कहाँ समस्या टर्छ र? प्रश्न गर्दै उनले बैंकहरूले समस्या नबुझ्ने बताइन्। ‘भाडाबाहेक बैंकको ऋण तिर्ने हामीसँग अर्को विकल्प पनि छैन, भावुक र सहयोगी हुने कि कठोर र यथार्थवादी हुने कहिलेकाहिँ म म आफैँ दोधारमा पुग्छु,’ रसाएका आँखा लुकाउँदै उनी भन्छिन्।

गत सालको लकडाउनको पीडा भोगिरहेका विद्यार्थीहरू यस पटकको लकडाउनले थप मर्माहत बनेका छन्। सधैँ विद्यालय जानुपर्दा दिक्क मान्ने विद्यार्थीहरूले यसपटक घरमा बस्न दिक्क मान्न थालिसकेका छन्। लकडाउनको समय अनलाइन कक्षा संचालन भएतापनि अनलाइन कक्षा प्रभावकारी नहुने विद्यार्थीहरूको गुनासो छ।  

काठमाडौँ महानगरपालिका वडा नं १४ हिमशिखर वोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्ने आर्जु खड्का दिक्क मान्दै भन्छिन्, ‘कक्षामा पढेजस्तो रमाइलो वातावरण यता छैन। साथीहरू पनि छैनन्। खेल्ने चउर पनि छैन। कहिले पढ्दापढ्दै लाइन जान्छ। लाइन आउने बेलासम्म धेरै कुरा छुटिसकेको हुन्छ। पढ्न निकै बोर लाग्छ।’

उनले स्कुलका सहपाठीहरूलाई भेट्न नपाउँदा नियास्रो लाग्ने गरेको बताइन्। ‘स्कुलमा पढेको खेलेको रमाएको निकै याद आउँछ।’ यसैले उनी त्यसको तिर्सना मेट्न च्याटको सहारा लिने गर्छिन् र च्याटमा मस्तले बोल्छिन्।  

आर्जु प्रतिनिधि पात्र मात्र हुन्, अनलाइन कक्षामा पढ्ने धेरै विद्यार्थीले भोगेका समस्या भोग्दै छन्।

अन्य व्यवसाय पनि कोभिडको दोस्रो लहरको प्रत्यक्ष असरमा परेका छन्। भर्खरैमात्र सीए पास गरेर बसेका रवि पोखरेल भन्छन्, ‘मैले यो वर्ष मात्र सीए पास गरेँ। भर्खरै पास भएको उत्साहसँग सँगै केही गर्ने मिठो सपना सजाएको थिएँ। अडिट फम खोल्दै थिएँ कोभिडको दोस्रो लहरले तहसनहस बनाइदियो।’

उनले धेरै साथीहरू कोरोनाको मारमा परेको बताउँदै जागिर खाएकाहरूको पनि हालत खराब भएको बताए। ‘समयमा तलब आउँदैन। आएपनि पूरा आउँदैन। फेरि काम अनलाइनबाट गर्न पनि सम्भव छैन।’

कोरोना भाइरसको दोस्रो लहरले यतिबेला विश्वमा निकै ठूलो असर गरिरहेको छ। त्यसको प्रत्यक्ष प्रभावको परिणाम नेपालले पनि भोगिरहेको छ। पूर्वदेखि पश्चिमसम्म कोरोनाको कारणले मानव समुदायमा ठूलो असर परेको छ। कयौँ मजदूरहरूले आफ्नो छाकसम्म टार्न सकिरहेका छैनन्। देशमा कोरोनाको यस्तो अवस्था आउँदा पनि देशको सरकार भने अझ मौन छ।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App